साप्ताहिक संवाददाता
पहिलो मिस नेपाल
मिस नेपालको आयोजक संस्था द हिडेन ट्रेजरका अध्यक्ष गोपालसुन्दर लाल कक्षपतिका अनुसार मिस नेपालको पहिलो संस्करण सन् १९९४ को सेप्टेम्बर महिनामा काठमाडौंका प्रज्ञा भवनमा सम्पन्न भएको थियो । उक्त प्रतियोगिताको कोरियोग्राफी रचना शर्मा गुरुङले गरेकी थिइन्, जसमा २२ जना युवतीले प्रतिस्पर्धा गरेका थिए । १९८६ मा कक्षपति काठमाडौं जेसिजका अध्यक्ष थिए । जेसिजले नेतृत्व विकासका लागि प्रशिक्षण दिने क्रममा युवाहरू मात्र सहभागी भए, युवतीहरू आउँदै आएनन् । सन् १९९४ मा काठमाडौं जेसिजको रजत महोत्सव सेलिब्रेसन गर्ने कार्यक्रमको अवधारणा बनाउने जिम्मा कक्षपतिलाई नै दिइयो । उक्त कार्यक्रममा ‘मिस नेपाल’ प्रतियोगितालाई समावेश गर्नुपर्छ भन्ने योजना कक्षपतिले सन् १९९३ देखि नै बनाउन थालेका थिए ।
जेसिजले मिस नेपाल प्रतियोगिता आयोजना गर्ने औपचारिक निर्णय गरेपछि कक्षपति तथा उनका सहकर्मी रूपेश प्रधान १९९३ मा भारतको मुम्बई पुगेर फेमिना मिस इन्डिया प्रतियोगितालाई नजिकबाट नियाले । मिस इन्डियालाई नजिकबाट नियालेपछि कक्षपति तथा प्रधानलाई धेरै कुराको ज्ञान प्राप्त भयो । काठमाडौं फर्किएपछि १९९४ मा मिस नेपाल आयोजना गर्ने घोषणा भयो । त्यसपछि प्रतियोगिताको तयारी प्रारम्भ गरियो । रचना शर्मा गुरुङलाई कोरियोग्राफर नियुक्त गरेपछि प्रतिस्पर्धीहरूको खोजी हुन थाल्यो । २२ जना प्रतिस्पर्धी भेला पारेपछि पहिलो संस्करणको मिस नेपाल प्रतियोगिता सन् १९९४ मा सफलतापूर्वक सम्पन्न गरियो । सन् २००२ देखि भने कक्षपतिकै नेतृत्वमा स्थापना भएको द हिडेन ट्रेजरले यो प्रतियोगिता आयोजना गर्न थालेको हो ।
रुबी राणा : रुबी राणा नेपालकै पहिलो मिस नेपाल हुन् । वीरगन्जको प्रतिनिधित्व गर्दै मिस नेपालको उपाधि जितेकी रुबी अहिले मेकअप आर्टिष्ट तथा फेसन डिजाइनरका रूपमा सक्रिय छिन् भने फाट्ट–फुट्ट रूपमा चलचित्रमा समेत अभिनय गरिरहेकी छिन् ।
सुमी श्रेष्ठ : १८ वर्षकै उमेरमा दोस्रो मिस नेपालको उपाधि जितेकी सुमी श्रेष्ठले चलचित्र ‘सुपरस्टार’ मा अभिनेता भुवन केसीसँग अभिनयसमेत गरिन् । अहिले उनी एयरहोस्टेजका रूपमा कार्यरत छिन् ।
पूनम घिमिरे : २३ वर्षको उमेरमा मिस नेपालको उपाधि जित्न सफल पूनम घिमिरे तेस्री मिस नेपाल हुन् । पेसाले नर्स पूनमलाई विदेश (अमेरिका) पलायन हुने पहिलो मिस नेपालका रूपमा पनि चिन्न सकिन्छ ।
नीलिमा गुरुङ : १९ वर्षको उमेरमा मिस नेपालको उपाधि जितेकी नीलिमा वैवाहिक जीवनमा प्रवेश गरेपछि पोखरामा आफ्नै व्यवसायमा सक्रिय छिन् ।
झरना बज्राचार्य : १९९७ मै मिस वल्र्ड नेपालको उपाधि वितेकी झरना बज्राचार्यले दर्जनौं म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरिन् । प्रेम तथा विवाह कारण बेला–बेलामा विवादमा आउने झरना अहिले एक सन्तानकी आमाका रूपमा मलेसियामा गृहिणी जीवन बिताइरहेकी छिन् ।
ज्योति प्रधान : सन् १९९८ की मिस नेपाल ज्योति प्रधान पहिलो त्यस्ती मिस नेपाल हुन्, जसले आफ्नो उपाधि सुरक्षित राख्न सकिनन् । मिस नेपालको उपाधि जितेकै वर्ष अमेरिका पलायन भएपछि आयोजकहरूले उनको उपाधि नै फिर्ता लिए ।
श्वेता सिंह : श्वेता सिंहले १९ वर्षको उमेरमा मिस नेपालको उपाधि जित्दा धाँधलीको आरोपसमेत लाग्यो । पर्सनालिटी डेभलपमेन्टको क्षेत्रमा कार्यरत श्वेताले विगतका मिस नेपाल प्रतियोगितामा प्रशिक्षकका रूपमा समेत काम गरिन् ।
उषा खड्गी : उषा २० वर्षको उमेरमा मिस नेपाल २००० को उपाधि जितेपछि विजेता भएयता निरन्तर सक्रिय छिन् । फेसन डिजाइनरका रूपमा समेत कार्यरत उषाको कुपन्डोलमा आफ्नै बुटिक छ ।
माल्भिका सुब्बा : सन् २००२ की मिस नेपाल माल्भिका सुब्बा अहिले टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा सक्रिय छिन् । माल्भिकाले यो अवधिमा म्युजिक भिडियो, चलचित्र, विज्ञापन, फेसन शोसहित विभिन्न विधामा काम गरिसकेकी छिन् ।
सन् २०१८ का प्रतिस्पर्धीहरूको मूल्यांकन कसरी गर्नुहुन्छ ? यसपटकका प्रतिस्पर्धीहरू शारीरिक रूपले आकर्षक त छन् नै, फोटोजेनिक तथा बौद्धिक रूपले पनि उत्तिकै सक्षम छन् । विगतको तुलनामा अहिले आत्मविश्वासले भरिएका प्रतिस्पर्धीहरूको संख्या बढी छ । विगतका प्रतिस्पर्धीको तुलनामा के भिन्न पाउनुभयो ? पहिले–पहिले मिस नेपालमा भाग लिन युवतीहरूलाई आग्रह गर्नुपथ्र्यो भने अहिले भाग लिनेहरू धेरै भएर राम्रा–राम्राबाट धेरै राम्रा छनौट गर्न पाइएको छ । प्रतिस्पर्धीमा फोटोको ज्ञान कत्तिको छ ? अहिलेका प्रतिस्पर्धीहरूमा तस्बिरका लागि कसरी पोज दिने, कसरी खिचेको फोटोमा आफू राम्री देखिन्छु भन्ने कुराको राम्रो ज्ञान छ । प्रतिस्पर्धीहरूमा राम्री देखिने होड कत्तिको पाउनुभयो ? त्यो त हरेक महिलाको स्वभाव नै हो । एक–अर्कामा को राम्रो, कसको फोटो राम्रो आयो भन्ने कुरामा प्रतिस्पर्धा हुनु सामान्य हो । यद्यपि मिस नेपालका प्रतिस्पर्धीहरूमा जस्तो मित्रवत् व्यवहार मैले अन्य प्रतिस्पर्धामा देखेको छैन । यसपटक रोचक प्रतिस्पर्धा हुनेछ । राजभाइ सुवालमिस नेपालका आधिकारिक फोटोग्राफर |
प्रीति सिटौला : २२ वर्षको उमेरमा सन् २००३ मा मिस नेपालको उपाधि जित्न सफल प्रिति सिटौला अध्ययनका लागि अमेरिका गए पनि हाल उनी परिवारसहित काठमाडौंमा आफ्नै व्यवसायमा रमाइरहेकी छिन् ।
पायल शाक्य : १८ वर्षको उमेरमा सन् २००४ मा मिस नेपालको उपाधि जित्न सफल पायल शाक्य पनि विदेश पलायन हुने पूर्व मिस नेपालमध्ये एक हुन् ।
सुगरिका केसी : १९ वर्षको उमेरमा सन् २००५ मा मिस नेपालको उपाधि जित्ने सुगरिका केसी आज पनि उत्तिकै सक्रिय छिन् । अहिले उनी रेडियो जक्कीका साथै व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षणका रूपमा समेत सक्रिय छिन् ।
शीताश्मा चन्द : २३ वर्षको उमेरमा सन् २००७ मा मिस नेपालको उपाधि जित्न सफल सुन्दरी हुन्— शीताश्मा चन्द । हाल उनी अस्ट्ेरलियाली श्रीमान् बेन प्रिन्ससंग एक छोरासहित दुबईमा छिन् ।
जेनिशा मोक्तान : २० वर्षको उमेरमा सन् २००९ मा मिस नेपालको उपाधि जितेकी जेनिशा मोक्तान युवा व्यवसायी दिकेश मल्होत्रासँग विवाह गरेर हालै एक सन्तानकी आमा भएकी छिन् ।
सदीक्षा श्रेष्ठ : १९ वर्षको उमेरमा सन् २०१० मा मिस नेपालको उपाधि जितेकी सदिक्षा श्रेष्ठ हालसम्म अविवाहित छिन् । मिडिया पर्सनालिटीको छवि बनाएकी सदीक्षा विभिन्न कार्यक्रममा उद्घोषिकाको रूपमा देखिन्छिन् भने उनलाई विज्ञापनहरूमा समेत देख्न पाइन्छ ।
मलिना जोशी : २३ वर्षको उमेरमा सन् २०११ मा मिस नेपालको उपाधि जित्न सफल मलिना जोशी अहिले म्युजिक भिडियो तथा चलचित्र अभिनेत्रीका रूपमा सक्रिय छिन् ।
सृष्टि श्रेष्ठ : २३ वर्षको उमेरमा सन् २०१२ मा मिस नेपालको उपाधि जितेकी सृष्टि श्रेष्ठ चलचित्रमा सक्रिय छिन् ।
इशानी श्रेष्ठ : २१ वर्षको उमेरमा सन् २०१३ मा मिस नेपालको उपाधि जित्न सफल इशानी श्रेष्ठ पेशाले दन्त रोग विशेषज्ञ हुन् । उनी अहिले अमेरिकामा कार्यरत छिन् ।
सुबिन लिम्बू : २३ वर्षको उमेरमा सन् २०१४ मा मिस नेपालको उपाधि जितेकी सुबिन लिम्बू ग्लोबल गोर्खा नेपाल परिषद्को नेपाल च्याप्टर प्रमुखका रूपमा कार्यरत छिन् ।
इभाना मानन्धर : २३ वर्षको उमेरमा सन् २०१५ मा मिस नेपालको उपाधि जित्न सफल इभाना मानन्धर ग्ल्यामर क्षेत्रमा आउन सकिनन् ।
अस्मि श्रेष्ठ : २२ वर्षको उमेरमा सन् २०१६ मा मिस नेपालको उपाधि जितेकी अस्मि श्रेष्ठले अझै पनि ग्ल्यामरको क्षेत्रमा आउने कि नआउने निर्णय गरिसकेकी छैनन् । यद्यपि उनी सार्वजनिक समारोहहरूमा देखिने क्रममा भने रोकिएको छैन ।
निकिता चाण्डक : यही चैत २८ गतेसम्मकी मिस नेपाल निकिता चाण्डक २९ गतेदेखि भने मिस नेपाल वल्र्ड–२०१७ का रूपमा चिनिनेछिन् । निकिताले नयाँ वर्ष २०७५ को प्रवेशसँगै आफू चलचित्रमा सक्रिय हुने संकेत गरिसकेकी छिन् ।
प्रतिस्पर्धीको पहिलो उद्देश्य उपाधि जित्ने
विगत र अहिलेका प्रतिस्पर्धामा कस्तो अन्तर महसुस गर्नुहुन्छ ?
जसरी समाजका हरेक क्षेत्रमा परिवर्तन आइरहेको छ, त्यसैगरी मिस नेपालका प्रतिस्पर्धीहरू पनि त्यसरी नै एड्भान्स भैरहेका छन् ।
अहिलेका प्रतिस्पर्धीहरूमा सिक्ने भावना कत्तिको पाउनुहुन्छ ?
सिक्ने कुराको आफ्नै क्षेत्र र ठाउँ हुन्छ । म २३ वर्षदेखि मिस नेपालको कोरियोग्राफी गरिरहेकी छु, तैपनि अझै सिकि नै रहेकी छु । मिस नेपालका प्रतिस्पर्धीमा पनि यो कुरा लागू हुन्छ, किनभने उनीहरू प्रशिक्षणको पहिलो दिनदेखि नै प्रतिस्पर्धामा हुन्छन् । यद्यपि विगतदेखि अहिलेसम्म उनीहरूले हरेक दिन केही न केही नयाँ कुरा सिक्न पाए हुन्थ्यो भन्ने सोच राख्दै आएको पाउँछु ।
प्रतिस्पर्धीहरूमा प्रतिस्पर्धाको भावना कत्तिको हुन्छ ?
मिस नेपालमा भाग लिने प्रत्येक प्रतिस्पर्धीको पहिलो उद्देश्य उपाधि जित्ने नै हुन्छ । यद्यपि जति–जति प्रशिक्षणको गति बढ्दै जान्छ, उनीहरू प्रतिस्पर्धाभन्दा पनि कडा परिश्रमलाई फोकस गर्न थाल्छन् । प्रशिक्षणका क्रममा उनीहरूले प्रतिस्पर्धाको भावना पनि खासै देखाउँदैनन् ।
अहिलेका प्रतिस्पर्धीहरू कत्तिको अनुशासित छन् ?
अनुशासन भन्ने कुरा मिस नेपालको प्रतिस्पर्धामा आएर सिकिने कुरा होइन । यो त जन्मदेखि नै सिकिँदै आउने कुरा हो । यो हिसाबले भन्नुपर्दा प्राय: सबै नै अनुशासित छन् । मिस नेपालको डेढ महिनाभन्दा लामो प्रशिक्षणले जति नै अनुशासनहीन प्रतिस्पर्धीलाई पनि अनुशासनको दायरामा ल्याइदिन्छ ।
रचना शर्मा गुरुङ, कोरियोग्राफर