साप्ताहिक संवाददाता
अभिनेता सविन श्रेष्ठ तथा अभिनेत्री अनु शाह लामो समयदेखि प्रेममा रहेको कुरा यसअघि नै सार्वजनिक भैसकेको छ । बीचमा ब्रेकअप भए पनि पुन: एक–अर्कासँग नजिकिएको यो जोडीले अघिल्लो साता विवाह नै गरेको चर्चा चल्यो । सविन तथा अनुले कोर्ट म्यारिज गरेको विषयले चलचित्रवृत्त तरंगित समेत भयो । यद्यपि आफ्नो प्रेम सम्बन्धलाई विवाहको रूप दिनु अस्वभाविक पनि थिएन ।
यता आफ्नो विवाहको चर्चा चल्न थालेपछि सविनले भने उक्त कुराको खण्डन गरे । उनको भनाइ छ– ‘विवाहको हल्ला कसरी चल्यो थाहा छैन, के हामी दुई जना सँगै अदालत जाँदैमा विवाह हुन्छ र ?’ सविनका अनुसार एक जना व्यक्तिले धम्की दिँदै गालीगलौज गरेपछि उनी अनुसँगै अदालत पुगेका हुन् ।
श्रेष्ठ भन्छन्– ‘हामी अदालत गएको सही हो, तर विवाह गरेको कुरा गलत हो ।’ सविन आफू अनुसँग नजिक भएको कुरा भने अस्वीकार गर्दैनन् । उनले अनुलाई दुलही बनाउने समयको टुंगो लाग्न बाँकी रहेको समेत बताएका छन् ।