साप्ताहिक संवाददाता
साहिल खानलाई पहिलो पटक भेट्दा जो–कोहिलाई लाग्न सक्छ, उनी चलचित्रका अभिनेता हुन् । बलिउड अभिनेता सलमान खानका भाइसंग नाम ठ्याक्कै मिलेकाले मात्र होइन, आकर्षक व्यक्तित्वका कारण पनि उनलाई धेरैले अभिनेता नै मान्छन् । रमाइलो कुरा के छ भने उनी चलचित्रकै एउटा विधामा सक्रिय छन् ।
पोस्ट प्रोडक्सनमा रहेको चलचित्र ‘लभ डायरिज’ मा सहायक निर्देशका रूपमा काम गरिसकेका साहिल नेपाली चलचित्रका अनुभवी सम्पादक (भिजुअल एडिटर) हुन् । काठमाडौंस्थित एरेना मल्टिमिडियाबाट एक दशकअघि नै एडिटिङ तथा ग्राफिक्स कोर्स सकेका साहिलले हालसम्म चार दर्जनभन्दा बढी चलचित्रमा सम्पादकका रूपमा काम गरिसकेका छन् ।
चलचित्र प्रदर्शन हुनुअघि त्यसको ट्रेलर सार्वजनिक गर्ने चलन छ । साहिल नेपाली चलचित्र क्षेत्रमै उत्कृष्ट ट्रेलर बनाउने एडिटरका रूपमा समेत सुपरिचित छन् । हालसम्म उनले दुई सयभन्दा बढि चलचित्रका ट्रेलर बनाइसकेका छन् ।
अहिले लम्फू, लभ डायरीज, भिलेन, होलिडे आदि चलचित्रमा व्यस्त यी एडिटरले उत्कृष्ट सम्पादन गरेकै कारण आधा दर्जनभन्दा बढी चलचित्र एवार्ड जितेका छन् ।