साप्ताहिक संवाददाता
आईपीएल–२०१८ का सबैभन्दा महँगा खेलाडीको सूची बनाउँदा त्यो दुई प्रकारको हुनेछ । पहिलो लिलामीबाट आएका र अर्को टिम आफैंले राखेका खेलाडी । लिलामीको तुलनामा टिममा राखिएका खेलाडीको मूल्य बढी नै देखिन्छ ।
विराट कोहली
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आईपीएल–२०१८ का सबैभन्दा महँगा खेलाडी सावित हुनुमा कुनै ठूलो आश्चर्य मानिँदैन । कोहली लामो समयदेखि रोयल च्यालेन्जर्स बैंगलोरसँग आबद्ध छन् । नेतृत्वकै लागि बैंगलोरले उनलाई १७ करोड भारतीय रुपैयाँ तिरेर टिममा कयम राखेको छ । कोहलीले भारतीय क्रिकेट बोर्डले उनका नाममा तोकेको भन्दा दुई करोड बढी पाएका छन् बैंगलोरबाट ।
महेन्द्रसिंह धोनी
भारतीय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी सम्भवत: आफ्नो खेल जीवनको अन्त्यतिर छन्, तर ट्वान्टी–२० क्रिकेटमा उनी अझै उत्तिकै सक्रिय छन् । धोनी चेन्नाई सुपर किङ्सका कप्तान हुन् । चेन्नाईले प्राप्त गरेको अधिकांश सफलतामा उनको प्रमुख योगदान छ । त्यसैले चेन्नाईले उनलाई १५ करोड भारतीय रुपैयाँ तिरेर टिममा कायम राख्यो । धोनी चेन्नाईका समर्थकमाझ निकै लोकप्रिय छन् ।
रोहित शर्मा
विराट कोहली र महेन्द्रसिंह धोनीपछि भारतीय क्रिकेटका सबैभन्दा ठूला नाम हुन्— रोहित शर्मा । मुम्बई इन्डियन्सका कप्तान शर्माकै नेतृत्वमा यो टिमले गत सिजनको उपाधि जितेको थियो । त्यसैले मुम्बईले उनलाई १५ करोड भारतीय रुपैयाँ तिरेर टिममै राख्ने निर्णय गरेको हो । ट्वान्टी–२० क्रिकेटमा ठूला–ठूला इनिङ्स खेल्न माहिर रोहित मुम्बई टिमका प्रमुख आधार हुन् ।
बेन स्टोक्स
यसपटकको लिलामीमा सबैभन्दा महँगा खेलाडी सावित भए, इंग्लिस अलराउन्डर बेन स्टोक्स । उनी ब्याट र बल दुवैमा उत्तिकै निपुर्ण छन्, अनि एक्लै टिमलाई जिततर्फ डोर्याउन सक्षम छन् । राजस्थान रोयल्सले लिलामीमा उनलाई सर्वाधिक १२ करोड ५० लाख रुपैयाँमा किनेको थियो । बेनले गत वर्ष कीर्तिमानी १४ करोड ५० लाख भारतीय रुपैयाँ प्राप्त गरेका थिए ।
जयदेव उनादकट
भारतीय खेलाडीमध्ये लिलामीमा सबैभन्दा बढी मूल्य पाउने भाग्यमानी खेलाडी हुन्— जयदेव उनादकट । राजस्थान रोयल्सले उनलाई ११ करोड ५० भारतीय रुपैयाँमा किनेको थियो । यसअघि उनी पुणे सुपरजायन्ट्ससँग आवद्ध थिए । अन्डर–१९ स्तरबाट भारतीय टिममा समावेश भएका जयदेव बायाँ हाते बलरका रूपमा सुपरिचित छन् । उनी बललाई स्विङ दिन माहिर मानिन्छन् ।
केएल राहुल र मनिष पाण्डे
भारतीय टिममा प्रवेशका लागि संघर्षरत दुई खेलाडी हुन्— केएल राहुल र मनिष पाण्डे । उनीहरूले टिममा नियमित रूपमा स्थान पाइरहेका छैनन्, तर आईपीएलमा भने उनीहरूले राम्रै मूल्य पाए । दुवै खेलाडीमाथि ११ करोड भारतीय रुपैयाँको बोली लागेको थियो । राहुललाई किङ्स इलेभेन पञ्जाबले तथा मनीषलाई सनराइज हैदरावादले किनेका हुन् ।