म २० वर्षीया अविवाहित जागिरे महिला हुँ । म कहिलेकाहीं यौनसम्पर्क गर्छु । यसरी यौनसम्पर्क हुँदा कन्डम प्रयोग गर्न लगाउने गरेकी छु, तैपनि पछिल्लो दुई महिना देखि मेरो महिनावारीमा समस्या आएको छ । महिनावारी भएको १० दिनमै फेरि बाक्लो रगत जाने तथा धेरै सेतो पानी जाने समस्या थपिएको छ । के यो गम्भीर समस्या हो ?
उ.
यौनसम्पर्क गर्दा कन्डम प्रयोग गर्नु राम्रो कुरा हो । यसले गर्भ रहनबाट मात्र होइन, यौनरोगहरूबाट समेत जोगाउँछ । तपाईंको प्रश्नबाट आकस्मिक गर्भनिरोधक चक्की (आईकन) प्रयोग गरे–नगरेको कुरा स्पष्ट हुँदैन ।
गर्भनिरोधक चक्की राम्रोसँग प्रयोग नगरेको वा आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरेका कारण पनि महिनावारीमा समस्या सिर्जना हुन सक्छ । १०–१० दिनमा रगत जाने भन्दा पनि कति रगत जान्छ त्यो महत्वपूर्ण मानिन्छ । थोपा–थोपा रगत जाँदैमा आत्तिनु पर्दैन, तर धेरै रगत जान्छ भने त्यसको कारण पत्ता लगाएर उपचार गराउनुपर्छ ।
त्यस्तै धेरै सेतो पानी जानुको कारण यौन संक्रमण हुन सक्छ, तर अलि–अलि सेतो पानी जानु सामान्य हो । तपाईंको समस्या सजिलै निको पार्न सकिने भएकाले चिन्ता लिनु पर्दैन । एकपटक स्त्रीरोग चिकित्सकसँग परामर्श लिनुहुन आग्रह गर्छु ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ,
मोरङ सहकारी अस्पताल