साप्ताहिक संवाददाता
छोटो समयमै थोरै चलचित्रमा अभिनय गरेर स्थापित भएकी कलाकार हुन्— साम्राज्ञी राज्य लक्ष्मी शाह । ड्रिम्स तथा ए मेरो हजुर–२ जस्ता सफल चलचित्रकी यी अभिनेत्रीको व्यक्तित्व मात्र आकर्षक छैन, अभिनय पनि उत्तिकै परफेक्ट छ । अग्लो कदकी साम्राज्ञी नृत्यमा समेत पारंगत छिन् । इन्टु मिन्टु लन्डनमा तथा कायराको छायांकनबाट भर्खरै फुर्सद पाएकी साम्राज्ञी यतिबेला प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिमीसँग’ को प्रमोसनमा व्यस्त छिन् । साम्राज्ञीका बारेमा उनीसँग नजिक केही सहकर्मीको टिप्पणी :
तेन्जिङ शेर्पा
अभिनेता/इभेन्ट मेनेजर
हलिउडका चलचित्रलाई समेत सुहाउने व्यक्तित्व हुन्— साम्राज्ञी । अभिनय पनि औसतभन्दा अलि माथि नै छ । संवाद बोल्दा नेपाली भाषालाई पनि अंग्रेजी टोन दिने प्रयास गरेको चाहिँ सुहाउँदो देखिएन ।
किशोर घिमिरे, गीतकार
मैले साम्राज्ञीका कुनै पनि चलचित्र हेरेको छैन । यद्यपि सार्वजनिक समारोहहरूमा मैले उनलाई नजिकबाट नियालेको छु । उनी आफ्नो व्यक्तित्वबाट नै निकै क्षमतावान् कलाकार हुन् जस्ती देखिन्छिन् । साम्राज्ञी आगामी वर्षहरूमा अझ धेरै माथि आउन सक्ने सम्भावना बोकेकी अभिनेत्री हुन् भन्दा फरक पर्दैन ।
अनमोल केसी, अभिनेता
साम्राज्ञी हार्ड वर्किङ गर्ल हुन् । उनी काममा शतप्रतिशत दिन सक्छिन् । साम्राज्ञी जसरी अहिले लाइमलाइटमा छिन्, उनले हत्तपत्त पछाडि फर्केर हेर्नुपर्छ जस्तो लाग्दैन । व्यक्तित्व तथा काम गर्न सक्ने क्षमताकै कारण उनले पछिल्लो पुस्ताका अभिनेत्रीहरूमाझ आफूलाई अग्रपंक्तिमा उभ्याउन सक्छिन् ।
नाजिर हुसेन, अभिनेता
एउटा असल कलाकारमा हुनुपर्ने सबै गुण साम्राज्ञीमा छन् । यद्यपि उनलाई मैले पर्दामा देख्दा जस्तो व्यक्तित्व भएको अनुमान गरेको थिएँ, वास्तविक जीवनमा अलि फरक पाएँ । वास्तविक जीवनमा उनी चाहिनेभन्दा अलि बढि चकचके छिन् । कसै–कसैले उनलाई घमन्डी पनि भन्दा रहेछन्, मैले त्यसको ठिक विपरीत उनलाई अति नै प्र्mयाङ्क पाएँ ।
शिशिर राणा, निर्देशक
साम्राज्ञी अभिनय गर्नकै लागि जन्मिएकी हुन् । छोटो समयमै उनले आफ्नो अभिनयमा निकै सुधार ल्याइसकेकी छिन् । साम्राज्ञी छायांकन सेटमा मात्र होइन, सार्वजनिक जीवनमा समेत उत्तिकै सहयोगी तथा सह्दयी छिन् ।
कमल श्रेष्ठ, फोटोग्राफर
साम्राज्ञी पछिल्लो पुस्ताका नायिकाहरुमा सबैभन्दा प्रभावशाली छिन् । उनको अभिनय पनि राम्रो छ । भविष्यमा उनको अभिनय यात्राले उचाइ लिने निश्चित छ ।