साप्ताहिक संवाददाता
नाच्न नजान्ने आँगन टेढो भन्ने उखानलाई नेपाली चलचित्रका अभिनेताहरूमा लागू गर्ने हो भने दयाहाङ राईले सयमा सय अंक प्राप्त गर्न सक्छन् । किनभने उनलाई नाच्न आउँदैन । दया स्वयं पनि यो कुरा सहजै स्वीकार गर्छन् । ‘कुनै गीतमा नाच्नुपर्ने भयो भने मलाई तीन दिन अघिदेखि ज्वरो आउँछ, दयाहाङले आफू नृत्यमा कमजोर रहेको बताउँदै भनिरहने कुरा हो यो ।
ज्यान अलि मोटो भएका कारण पनि उनी नृत्यमा त्यति खुल्न सक्दैनन् । यद्यपि दयाहाङले आफ्नो नृत्यमा केही सुधार ल्याएका छन् । चलचित्र कान्छीको ‘चरी चट्ट परी’ गीतमा उनले राम्रै नृत्य गरेका थिए । भर्खरै सार्वजनिक भएको चलचित्र भैरेको सनम माया लाको गीतमा त उनी अझ खुलेका छन् । उक्त गीतमा दयाले अभिनेत्री सुरक्षा पन्तसंग कम्मर मर्काएका छन् ।
उक्त गीत सार्वजनिक गर्ने समारोहमा समेत दयाले नृत्य आफ्नो कमजोरी भएको बताए । ‘दुई दिनमा सकिने गीतको छायांकन मेरै कारणले चार दिन चल्यो, उनको भनाइ थियो– ‘गीतमा नाच्ने भनेपछि त्यसै–त्यसै गाह्रो भएर आउँछ ।’
यद्यपि अभिनेत्री सुरक्षा पन्तले भने दयाहाङको नृत्य कौशलको प्रसंसा गर्दै छायांकनका क्रममा कतिपय स्टेप दयाले नै सिकाएको बताएकी छिन् । भनेपछि नाच्न नजान्ने दयाहाङले नृत्यमा राम्रै मेहनत गरिरहेका छन् ।