साविक चल्ने गाडीभन्दा भाडादर पनि सस्तो अनि अपाङ्गता भएका व्यक्ति र ७० वर्षभन्दा माथिका वृद्धवृद्धाहरूलाई नि:शुल्क सेवा प्रदान गरिरहेको मयूर यातायात चैत १ गतेदेखि सेवा विस्तार गर्दै बनेपा आइपुग्यो । उक्त यातायातका गाडीमा परिचय–पत्रका आधारमा ट्राफिक प्रहरीलाई पनि भाडा लाग्दैन । यसमा आमा र शिशु बस्न मिल्ने केही सिट छन् । प्रशस्तै सिसाका झ्याल भएकाले गाडीभित्र राम्रो उज्यालो आउँछ । दुई सिटबीचको ग्याप पनि फराकिलो छ । अग्ला मानिसलाई टाउको ठोकिएला भन्ने डर पनि छैन, होचा मानिसका लागि समाउने क्लचहरू छन् । यसका अतिरिक्त यात्रुहरूलाई बिनाशुल्क वाइफाइको सुविधा उपलब्ध गराइएको छ । यी गाडीहरू लामा भएकाले धेरै यात्री अटाउँछन् र चक्रपथका विभिन्न प्वाइन्टमा जानुपर्ने यात्रुहरू सिधै एउटै गाडीबाट गन्तव्यसम्म पुग्न सक्छन् ।
अब भएभरका पेसेन्जर मयूरले तान्ने देखेपछि थोत्रा गाडी गुडाएर दशकौँदेखि आफ्नो एकल बिजनेस गरिरहेका बस व्यवसायी समितिहरू झसंग हुने भैहाले । आजसम्म सडकको लालपुर्जा आफ्नै नाममा भएजसरी अन्य बसलाई यो रुटमा निषेध नै गरिएको थियो । अर्को अचम्मको कुरा, यो रुटमा भाडाको गाडी चलाउन उनीहरूसँग दसांै लाखभन्दा बढी तिरेर रुट किन्नुपर्ने ।
यति हुँदाहुँदै पनि गुणस्तरीय सेवा उपलब्ध गराए त ठिकै छ । जाम नभएको खण्डमा एक घण्टा पनि नलाग्ने बनेपादेखि काठमाडौंसम्मको दूरी तय गर्न डेढ घण्टाभन्दा बढी लगाइदिन्छन् । क्षमताभन्दा बढी यात्रु हाल्नु त दीर्घरोग नै भैसकेको छ । उनीहरूले पनि भक्तपुरको रुटका मान्छे मनग्य नै हाल्छन् नि, कसैले आजसम्म विरोध गरेको छैन त ।
उनीहरूले गाउँ–गाउँसम्म सेवा दिएका छौँ भनेर जिकिर गर्नु बेकार हो । एकाधबाहेक ग्यारेजमा थन्क्याए हुने पुराना गाडी तह लगाउन गाउँगाउँ पुर्याइएको छ । बर्सेनि हुने दुर्घटना यसका प्रमाण हुन् । गाउँमा चल्ने गाडीहरू समयअनुसार चल्दैनन्, गुन्द्रुक खाँदेझैँ यात्रु खाँदिन्छन् । विकल्प नहुँदा बिचरा जनता त्यही गाडी भए पनि खुसीसाथ चढ्छन् । अझ ती गाडी विवाहको लगनताका बिनासूचना मनपरीसँग क्यु छोडेर रिजर्भ गैदिन्छन् । फलत: यस्तो सिजनमा यात्रुहरू बारम्बार बिचल्लीमा पर्छन् ।
उहाँहरूलाई सुझाव: प्रतिस्पर्धा गुणस्तरसँग गर्नुहोस्, मयूरजस्ता हजारवटा नयाँ कम्पनी आए पनि तपाईंहरू सर्वश्रेष्ठ नै रहनुहुनेछ । नाथे एउटा कम्पनी आउँदा यतिसारो भयभीत हुनुपर्ने कुनै कारण देखिँदैन । जारी बन्दको सूचनामा ठाडै लेखिएको छ : मयूर यातायातको अनुमतिपत्र खारेज नगरे भक्तपुर, बनेपा तथा पनौती आसपासका ग्रामीण इलाकामा चल्ने गाडीहरू अनिश्चितकालीन बन्द । यो सर्वथा गैरउत्तरदायी कदम हो । उनीहरू साँच्चै नै सेवाप्रदायक संस्था हुन् भने हाँसी–हाँसी आजैदेखि स्वस्थ प्रतिस्पर्धामा आउनुपर्छ ।
सरकारले सिन्डिकेट खारेज गरिसकेको छ र यो रुटमा पनि एकतन्त्र हटाउन कटिबद्ध देखिन्छ । रुट पर्मिट उहाँहरूसँग लिने होइन, सरकारसँग लिने हो । सडक कसैको पेवा होइन, नेपाली नागरिक जो–कोहीले चाहेको खण्डमा नेपाल सरकारको प्रक्रिया पुरा गरेपछि भाडाको गाडी चलाउन पाउँछ ।
अर्को कुरा जनताको जीवनमा प्रतक्ष प्रभाव पार्ने यस्ता कुरा किन राजनीतिक मुद्दा बन्दैनन् ? भोट माग्ने बेला गाउँका चौतारोमा वाइफाइ नि:शुल्क छोड्ने योजना सुनाएर गएका नेताहरू हो, कसैले गाडीमा वाइफाइ नि:शुल्क छोडेको छ ? जनताले आरामसँग सिटमा बसेर वाईफाई चलाउने वातावरण सिर्जना गरिदिने जिम्मेवारी तपाईंको हो कि होइन ? जायज कुरामा बोल्न र समर्थन गर्न किन राजनीतिक दलका भ्रातृ संगठनहरू पुच्छर लुकाउँछन् ? यस्तो बेला निरीह जनता सधैं एक्लो हुने गरेका छन् ।
हामीले के गर्न सक्छौं ? सिन्डिकेट तोड्न जनताको भूमिका अहं हुन्छ । कानुनमा अत्यावश्यक सेवा अवरुद्ध गरे हदैसम्मको कारबाही गर्ने प्रावधान छ । यदि सेवा सञ्चालन नगरे सम्बन्धित पक्षलाई कारबाही गर्न जोड गर्ने । यदि बन्द गरे सधैंका लागि उक्त यातायात बहिष्कार गर्ने । यो सजिलो कुरा होइन, तर सबैको प्रयासमा असम्भव भने छैन । हिजोआज गाउँ–गाउँमा व्यक्ति–व्यक्तिका गाडी छन् । ट्रक, मिनिटाटा, ट्रयाक्स, ट्याक्टर र बोलेरो छन् । भाडादर कायम गरेर नयाँ विकल्प नआउन्जेल ती साधन प्रयोग गर्न सकिन्छ ।
हामीलाई विद्यमान यातायात समितिहरूसँग कुनै रिस छैन । हामी उनीहरूसँग ऋणी छौं, किनभने पहिलो पटक गाडी चढ्ने अवसर उहाँहरूले नै दिनुभयो । हाम्रो गुनासो यत्ति हो कि समयअनुसारसेवामा जति सुधार गरिनुपर्ने हो, त्यसमा कमजोरी देखियो । हामी सिन्डिकेटका विरोधी हौं, तपाईंहरूको होइन । आउनुहोस् नयाँ गाडी र सुविधा लिएर आउनुहोस्, अझै पनि तपाईंलाई हाम्रो साथ रहनेछ । अरूभन्दा फरक एसीजडित गाडी ल्याउनुहोस्, विद्युतीय बस भित्र्याउनुहोस्, क्यासलेस भाडा लागू गर्नुहोस्— तपार्इंहरूलाई शुभकामना ।
https://www.facebook.com/