‘समृद्ध नेपाल र सुखी नेपाली हुनका लागि नेपालको कर्मचारीतन्त्रलाई स्वच्छ बनाउनुपर्छ, युवा जनशक्तिलाई रोजगारमा आबद्ध गराउनुपर्छ तथा हामी गर्न सक्छौं भन्ने भावना जागृत गराउनुपर्छ ।’
बुधबार राति १०:३० बजे घोषणा गरिएको मिस नेपाल वल्र्ड–२०१८ को उपाधि विजेता बन्न हेटौंडामा जन्मिएकी श्रृंखला खतिवडालाई यही जवाफ पर्याप्त भयो । मुख्य निर्णायक राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत गोविन्द गजुरेलले निर्णायक चरणमा सोधेको ‘समृद्ध नेपाल तथा सुखी नेपाली हुनका लागि के–के काम गर्नुपर्ला ?’ भन्ने प्रश्नको जवाफमा दिएर २२ वर्षीया श्रृंखलाले त्यस्तो उत्तर दिएर मिस वल्र्ड–२०१८ मा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर पाएकी हुन् । मिस नेपाल वल्र्ड–२०१७ निकिता चाण्डकले श्रृंखलालाई चम्किलो मुकुट पहिराइदिएकी थिइन् ।
५ फिट ६ इन्च अग्ली श्रृंखलाले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्टमा स्नातक गरेकी छिन् । उनले मिस नेपाल वल्र्डको उपाधिसहित १ लाख रुपैयाँसहित विभिन्न उपहारहरू पाइन् । मिस नेपालको उपाधि जित्नुअघि खतिवडाले मिस ब्युटिफुल हेयर तथा मिस फेस अफ फेसिनो एवार्ड पनि जितिन् । यसका लागि उनले यामाहा कम्पनीको फेसिनो स्कुटर उपहार पाइन् ।
लेखनमा रुचि राख्ने श्रृंखला पाँच वर्षदेखि लेखनमा समेत सक्रिय छिन् । आफ्नै लेखनको एउटा उत्कृष्ट पुस्तक प्रकाशित गर्नु उनको जीवनकै ठूलो सपना हो । एउटा आर्किटेक्टको विद्यार्थीका रूपमा उनी आफ्नो कलेजकी टपर समेत हुन्, जहाँ उनले प्रत्येक सेमेस्टरमा सबैभन्दा बढी अंक ल्याएर उत्तीर्ण भएकी थिइन् । २०७२ सालको भूकम्पपछि मेलम्ची क्षेत्रमा स्वयंसेवकका रूपमा समेत काम गरेकी थिइन् । श्रृंखलाले सन् २०१६ मा सम्पन्न एसियन पेन्ट्स डिजाइन कम्पिटिसनमा आर्किटेक्ट स्टुडेन्ट एवार्डसमेत जितेकी थिइन् । अध्ययन गर्न तथा यात्रा (ट्ेरकिङ) गर्न रुचाउने श्रृंखला भविष्यमा अन्तर्राष्ट्रिय रूपमै ख्यातिप्राप्त आर्किटेक्ट बन्न चाहन्छिन् ।
श्रृंखला एमालेको तर्फबाट प्रतिनिधिसभाका सांसद विरोध खतिवडाकी सुपुत्री हुन् । उनकी आमा मुनु सिग्देल एमाले मकवानपुर जिल्ला कमिटीकी अध्यक्ष हुन् । मुनु एमालेको एक्ली जिल्ला अध्यक्ष तथा एमालेकै तर्फबाट प्रदेशसभा सदस्य समेत हुन् । यद्यपि श्रृंखलाले भने राजनीतिप्रति खासै रुचि देखाएकी छैनन् । द हिडन ट्ेरजरको यो २३ औं संस्करणको प्रतियोगितामा मनिता देवकोटाले मिस नेपाल युनिभर्सको उपाधि जित्न सफल भएकी छिन् । गोरखाकी २२ वर्षीया देवकोटा ५ फिट ७ इन्च अग्ली छिन् । उनले बिएस्सी उत्तीर्ण गरेकी छिन् । स्वास्थ विज्ञानमा विशेष रुचि राख्ने मनितालाई महिला स्वास्थको क्षेत्रमा काम गर्ने चाहना छ । महिला सशक्तीकरण तथा बालिकाहरूलाई शिक्षा दिनुपर्छ भन्ने सोच राख्ने मनिता जनस्वास्थ क्षेत्रमा नै कार्यरत छिन् ।
सिज द फस्ट तथा डेज फर गल्र्स जस्ता गैरसरकारी संस्थाहरूमा आबद्ध मनिता यी संस्थामार्फत बालिकहरूको शिक्षा तथा प्रजनन स्वास्थ शिक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्छिन् । मिस ग्ल्यामरको शीर्षक उपाधि समेत जितेकी देवकोटाले मिस नेपाल युनिभर्सको उपाधिका लागि १ लाख रुपैयाँ जितिन् । यससँगै उनले मिस युनिभर्स–२०१८ मा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
प्रतियोगिताकी सबैभन्दा अग्ली प्रतिस्पर्धी प्रिया सिग्देलले मिस नेपाल अर्थ–२०१८ को उपाधि जित्न सफल भइन् । १ लाख रुपैयाँ राशिको उक्त उपाधिसँगै पाँच फिट ९ इन्च प्रियाले ब्युटी विद द पर्पसको शीर्षक उपाधि पनि जितिन् । काठमाडौंकी स्थानीय बासिन्दा २३ वर्षीया प्रियाले डेभलपमेन्ट स्टडिजमा स्नातक गरेकी छिन् । सामाजिक अभियन्ताका रूपमा सक्रिय प्रिया गैर नाफामूलक संस्था हात्तीहात्तीकी सञ्चालिका समेत हुन् । उनी महिनावारी–स्वच्छतासम्बन्धी विषयकी अभियन्तासमेत हुन् । उनले स्विट्जरल्यान्डमा सम्पन्न ग्लोबल चेञ्ज मेकर फोरम तथा बंगलादेशमा सम्पन्न युथ एक्सचेञ्ज कार्यक्रममा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । नृत्य र यात्रामा रुचि राख्ने प्रिया भविष्यमा सफल सामाजिक अभियन्ता बन्ने लक्ष्य लिएकी छिन् । प्रतियोगितामा रोनाली अमात्यले मिस नेपाल इन्टनरनेसनल–२०१८ को उपाधि जित्न सफल भएकी छिन् । उपाधिसँगै अमात्यले पनि १ लाख रुपैयाँ जितिन् । काठमाडौंकी २२ वर्षीया अमात्य ५ फिट ७ इन्च अग्ली छिन् । रोनालीले बीबीएम उत्तीर्ण गरेकी छिन् । रोनाली मोडल पनि हुन् । उनले विभिन्न विज्ञापन तथा र्याम्पमा क्याटवाकको अनुभव हासिल गरिसकेकी छिन् । युवाहरूलाई सशक्त बनाउने अभियानको नेतृत्व गर्ने लक्ष्य लिएकी रोनाली प्रेरणादायी पुस्तकहरू पढ्न, अनुसन्धान गर्न तथा स्वस्थ खानेकुरा बनाउन मन पराउँछिन् । आफूलाई सधैं फिट्नेस राख्न तम्तयार हुने रोनाली आफूमा भएको आत्मविश्वास नै आफूलाई मिस नेपालको उपाधि जिताउने एउटा माध्यम भएको बताउँछिन् । प्रतियोगितामा अमात्यले मिस ट्यालेन्टको उपाधि पनि जितिन् । ट्यालेन्ट शोमा अमात्यले शास्त्रीय नृत्य प्रस्तुत गरेकी थिइन् ।
त्यसअघि साँझ साढे सात बजेदेखि प्रारम्भ भएको प्रतियोगिताको पहिलो चरणमा सबै सहभागीहरूले आफ्नो परिचय दिएका थिए । पहिलो चरणको समाप्तिसँगै विभिन्न शीर्षक एवार्डहरूको घोषणा गरिएको थियो । त्यसपछिको चरणमा सहभागी २५ मध्ये सेमिफाइनल चरणका लागि उत्कृष्ट १५ प्रतिस्पर्धीको घोषणा गरियो । उत्कृष्ट १५ मा पुग्न सफल सुन्दरीमा शर्वाणी पाण्डे, मनिता देवकोटा, लक्ष्मी पौडेल, आस्मा साख, शायरा लामा, सृष्टि कार्की, आस्मा ढुंगाना, शुभेच्क्षा श्रेष्ठ, श्रृंखला खतिवडा, प्रिया सिग्देल, महिमा सिंह, मेघा श्रेष्ठ, रोनाली अमात्य, ज्योत्सना क्षेत्री तथा सन्ध्या अधिकारी रहे । उत्कृष्ट १५ मा पुग्न सफल प्रतियोगीहरूले गोलाप्रथाद्वारा छनोट गरिएको एक–एकवटा प्रश्नको जवाफ दिएका थिए । उनीहरूले दिएको जवाफको आधारमा निर्णायक चरणका लागि उत्कृष्ट सात प्रतिस्पर्धी छनोट गरिए । अन्तिम चरणमा पुग्न सफल हुनेहरूमध्ये महिमा सिंह, शायरा लामा तथा आस्मा ढुंगानाले उत्कृष्ट चारभित्र स्थान बनाउन सकेनन् ।
प्रतियोगिताका निर्णायकहरूमा गोविन्द गजुरेलसहित पूर्वसञ्चारकर्मी तथा राजनीतिज्ञ रवीन्द्र मिश्र, खेलाडी दीपक विष्ट, चलचित्रकर्मी निकिता पौडेल तथा पूर्वमिस नेपाल इभाना मानन्धर थिए । प्रतियोगितामा सहभागीहरू बिना घले, मनीष राई तथा सुष्मा सिंहले डिजाइन गरेका आकर्षक पहिरनहरूमा प्रस्तुत भएका थिए ।
उपाधि विजेताहरू
मिस नेपाल वल्र्ड : श्रृंखला खतिवडा
मिस नेपाल युनिभर्स : मनिता देवकोटा
मिस नेपाल अर्थ : प्रिया सिग्देल
मिस नेपाल इन्टरनेसनल : रोनाली अमात्य
मिस ट्यालेन्ट : रोनाली अमात्य
ब्युटी विद द पर्पस : प्रिया सिग्देल
पपुलर च्वाइस : सन्ध्या अधिकारी
मिस ग्ल्यामर : मनिता देवकोटा
फेस अफ फेसिनो : श्रृंखला खतिवडा
मिस कन्फिडेन्स : आस्मा साख
बेस्ट हेयर : श्रृंखला खतिवडा
मिस फ्रेण्डसीप : शायरा लामा
मिस फोटोजेनिक : महिमा सिंह
मिस पञ्चुयालिटी : लक्ष्मी पौडेल
मिस इन्टेलिजेन्ट : आस्मा ढुंगाना
मिस एथ्लेट : मेघा श्रेष्ठ