साप्ताहिक संवाददाता
निर्वाचन
०७४ मा संघ, प्रदेश तथा स्थानीय गरी तीनै तहका निर्वाचन सम्पन्न भए । यससँगै राष्ट्रियसभाको निर्वाचन पनि सम्पन्न भयो । यी सबै तहका निर्वाचनले ३५ हजार ९ सय २४ जना जनप्रतिनिधिको हातमा मुलुकको सत्ता हस्तान्तरण भयो ।
बंगला एयर दुर्घटना
२८ फागुनमा बंगलादेशबाट नेपाल आएको युएस–बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ५१ जनाको ज्यान गयो । यो घटनाले एकपटक फेरि नेपाली आकाशको सुरक्षा प्रणालीप्रति सन्देह सिर्जना गर्यो ।
बाढी
साउनको अन्तिम साता तराई क्षेत्रमा आएको बाढीले ठूलो जनधन क्षति गर्यो । जसमा परी झन्डै १ सय ६० भन्दा बढीको ज्यान गयो भने ६० अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको योजना आयोगको प्रतिवेदनमा उल्लेख छ । बाढीबाट देशका ३५ जिल्लाका १७ लाख जनसंख्या प्रभावित भए भने ४१ हजार ६ सय २६ घर पूर्ण क्षति तथा १ लाख ५० हजार ५ सय १० घर आंशिक क्षति भए ।
भ्रष्टाचार प्रकरण
११ अर्ब रुपैयाँको कर छुट काण्डमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा तथा ६७ करोड रुपैयाँको जग्गा खरिदमा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का आरोपित भए । भ्रष्टाचार काण्डमै विशेष अदातलले नेपाल पर्यटन बोर्डका तत्कालीन सिईओ सुवास निरौलालाई ७ वर्ष कैद तथा ८० लाख ५१ हजार रुपैयाँको बिगो एवं ५४ लाख ५९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनायो ।
सडक दुर्घटना
देशका विभिन्न ठाउँमा साना–ठूला सवारी दुर्घटनामा परेर दर्जनौं नागरिकले ज्यान गुमाए । धादिङ, दैलेख आदि जिल्लामा ठूला सवारी दुर्घटना भए । नेपाल प्रहरीका अनुसार ०७४ को फागुन मसान्तसम्म ७ हजार १ सय सवारी दुर्घटना भए भने उक्त दुर्घटनामा परी १ हजार ६ सय ७९ जनाले ज्यान गुमाएका थिए ।
वान डे स्टाटस
नेपालले यही वर्ष जिम्बाबेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनौट खेल्यो । उक्त छनौट खेलमार्फत आगामी विश्वकप क्रिकेटमा स्थान बनाउन नसकेपनि नेपालले आठौं स्थानमा रहँदै द्विपक्षीय तथा बहुपक्षीय एक दिवसीय क्रिकेट खेल्न सक्ने योग्यता प्राप्त गर्यो । नेपालले २२ वर्ष लामो क्रिकेट इतिहासमा पहिलो पटक यति ठूलो सफलता पाएको हो ।
सर्वोच्च विवाद
कांग्रेस–माओवादी मिलेर संसद्मा सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याए, जसले मुलुकको न्यायिक तथा राजनीतिक क्षेत्रमा ठूलो तरंग सिर्जना गर्यो । विभिन्न व्यवसायिक कम्पनीहरूले तिर्नुपर्ने ६१ अर्ब रुपैयाँ बराबरको राजस्वमा उन्मुक्ति दिएको आलोचना खेप्दै आएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली अन्तत: नक्कली शैक्षिक प्रमाणपत्र तथा जन्ममिति विवादका कारण पदमुक्त गरिए ।