वर्ष ०७४ चुनावी वर्षका रूपमा रह्यो । वैशाखदेखि सुरु भएको चुनावी सरगर्मी चैत मध्यसम्मै कायम रह्यो । यो वर्ष मुलुकले राजनीतिक रूपमा ठूला र महत्वपूर्ण कोसेढुंगा पार गर्यो । दशक लामो सशस्त्र द्वन्द्व र त्यसपछिको झन्डै अर्को एक दशक लामो शान्ति प्रक्रिया र संक्रमणकालपछि ०७२ मा बनेको नयाँ संविधान अनुरुप संघ, प्रदेश र स्थानीय गरी तीन तहका निर्वाचनहरू सम्पन्न भए ।
२० वर्षपछि तीन चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जनताको अभूतपूर्व सहभागिता रह्यो । जुन उत्साह संघीय संसद, प्रदेश सरकारको चुनावसम्म पनि देखियो । ०७४ को वैशाख ३१ मा आशंकाका बादलहरूलाई चिर्दै पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भयो । दोस्रो चरणमा १४ असारमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा सम्पन्न भएको थियो भने तेस्रो चरणमा प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहको निर्वाचन निर्वाचन भयो । त्यसपछि, यसै वर्ष संघ र प्रदेशका दुई ठूला निर्वाचन पनि सम्पन्न भए ।
८ मंसिरमा पहिलो चरणमा हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्ला तथा २१ मंसिरमा पहाडी र तराईका ४५ जिल्लामा चुनाव सम्पन्न भयो । प्राप्त ताजा जनादेशका आधारमा तीनै तहका सरकारहरूसमेत निर्माण भए । यसबाहेक मुलुकको सामाजिक, आर्थिक एवं सांस्कृतिक जीवनका पाटाहरूमा पनि विभिन्न सकारात्मक तथा नकारात्मक घटनाहरू घटिरहे ।
थोरै भए पनि समाजमा त्यस्ता नायकहरूको उदय भयो, जसले सिंगो समाजलाई उज्ज्वल भविष्यको सपना देख्न प्रेरित गरे । समाजमा उपलब्धि, सत्कार्य र सकारात्मक प्रयासका कारण केहीले वर्षभरि नै मुलुक तथा आम नागरिकको जीवनलाई प्रभावित तरल्याइरहे । केही पात्र सकारात्मक कर्मका कारण त केही असफलता र नकारात्मक कर्मका कारण ‘न्युजमेकर्स’ बनिरहे । साप्ताहिकले वर्ष ०७४ मा समाजमा सकारात्मक प्रयासका कारण चर्चामा रहेकाहरूलाई ‘वर्षका १२’ का रूपमा प्रस्तुत गरेको छ ।
सन्दीप लामिछाने
क्रिकेटर सन्दीप लामिछाने ०७४ मा सर्वाधिक चर्चामा रहने खेलाडी हुन् । चितवनका १७ वर्षीय युवा गुगली बलर सन्दीप संसारकै ठूलो, लोकप्रिय तथा महंगो ट्वान्टी–२० क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल)मा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी भएका छन् । उनी वेस्ट इन्डिजको क्यारेबियन लिग (सीपीएल)मा समेत अनुबन्धित भए । नामिबियामा गत फ्रेबुअरीमा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा कैयौं खारिएका खेलाडीलाई छायाँमा पार्दै लिडिङ विकेट टेकरका रूपमा प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका सन्दीप आफ्ना यिनै ठूला उपलब्धिहरूका कारण वर्षभरि नै समाचारमा रहे ।
केपी शर्मा ओली
वर्ष ०७४ का सर्वाधिक ठूला न्युमेकर्स कोही थिए भने ती प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नै हुन् । ओली ०७२ मा नेपालमा नयाँ संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीविरुद्ध दह्रो रूपमा उभिँदै राष्ट्रवादी नेताको छविमा उदाए । ओलीको त्यही छवि र प्रभावशाली संगठनकै बलमा एमाले संघ, प्रदेश तथा केन्द्र तीनवटै निर्वाचनमा पहिलो पार्टी भयो । स्थानीय तहको निर्वाचनमा एक्लै राजनीतिक मैदानमा उत्रिएको एमालेले कांग्रेस–माओवादी गठबन्धन सरकारलाई देशैभरि टक्कर दियो । स्थानीय तहको निर्वाचनपछि आफ्नो स्थिति आँकलन गरेका ओलीले माओवादी केन्द्रलाई कांग्रेसबाट अलग्याउने रणनीतिक चाल चाले । परिणामस्वरूप: दसैंको छेको पारेर एमाले–माओवादी दुई ठूला कम्युनिस्ट पार्टीबीच वाम गठबन्धन घोषणा मात्र भएन, पार्टी एकीकरण गर्ने प्रक्रिया समेत अघि बढ्यो । वाम गठबन्धनको बनाएर संघ र प्रदेशको निर्वाचन प्रतिस्पर्धामा उत्रिएका एमाले–माओवादीले आरामदायक बहुमतसहित संघीय र सात वटामध्ये ६ वटा प्रदेशमा सरकार गठन गरे । ओली त्यही बाम गठबन्धनको सरकारका प्रधानमन्त्री बनेर सिंहदरबारमा प्रवेश गरे । अझ रोचक त के भने ओलीले आफू र आफ्नो दलसँग असन्तुष्ट मधेशी दलहरू राजपा र फोरमको समेत समर्थन हासिल गर्न सके जसले उनलाई तीन चौथाइको समर्थनमा प्रधानमन्त्री बन्ने अवसर जुरायो ।
सीताराम कट्टेल ‘धुर्मुस’–
कुन्जना घिमिरे ‘सुन्तली’
पेसाले हास्यकलाकार हुन्— सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ । यद्यपि पछिल्ला वर्षमा समाजसेवाका क्षेत्रमा मानकका देखिएको यो जोडी वर्षभरि नै समाचार छाइरह्यो । सिन्धुपाल्चोकको गिरान्चौर र काभ्रेको पाँचखालमा नमुना बस्ती निर्माण गरेर चर्चामा आएको यो जोडीले ०७४ मा महोत्तरीको बर्दिवास—२ मा गरिबीको चपेटामा रहेको मुसहर समुदायका लागि एकीकृत बस्ती निर्माण गरेर हस्तान्तरण गर्यो भने गत साउनमा आएको बाढीले बगाएको रौतहटको सन्तपुरमा अर्को बस्ती निर्माण गर्यो । ‘नमुना नेपाल’ नामक एकीकृत वस्ती निर्माणको ड्रिम प्रोजेक्टमा काम गरिरहेको यो जोडीमाथि नेपाली क्रिकेट टिमले एकदिवसीय मान्यता पाएसँगै अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउनुपर्ने सामाजिक दबाब बढ्यो । त्यसपछि धुर्मुस–सुन्तलीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण गर्ने घोषणा गरेका छन् । जलमग्न क्षेत्रमा पुगेर बाढी पीडितको उद्धारमा धुर्मुसले देखाएको सक्रियताले समेत सामाजिक सञ्जालमा प्रसस्त चर्चा बटुलेको थियो ।
सुशीला कार्की
हक्की स्वभावकी न्यायमूर्ति हुन्— पूर्व प्रधान न्यायाधीश सुशीला कार्की । सर्वोच्चमा अदालतमा प्रधान न्यायाधीश रहँदा उनले भ्रष्टाचारविरुद्धका मुद्दाहरूमा सुनुवाइ गर्ने अग्रसरता लिइन् । नेपाल प्रहरीको बहुचर्चित आइजीपी प्रकरणमा सर्वोच्च र सरकार अलग–अलग ध्रुवमा उभिए । सर्वोच्चमा थिति बसाल्न र न्यायसम्पादनलाई स्वतन्त्र राख्न उनले खेलेको भूमिकाको सबैले प्रशंशा गरे । कार्कीले अवकाश प्राप्त गर्ने दिन बाँकी रहँदा नेपाली कांग्रेस र माओवादी सांसदहरूले संसदमा महाअभियोग दर्ता गराए, पछि सर्वोच्चले अन्तिम आदेश दिएपछि उनको अवकाश नियमित प्रक्रिया अनुसार भयो । त्यसपछि उनी सर्वोच्च र त्यहाँको न्यायसम्पादन प्रक्रियासँग जोडिएर निरन्तर चर्चामा रहँदै आएकी छिन् ।
डा. गोविन्द केसी
नागरिक अभियन्ता डा. गोविन्द केसी चिकित्सा शिक्षा र अदालतसँग जोडिएर निरन्तर चर्चामा रहे । उनले गत साउनमा आफ्नो ११ औं अनशन २३ औं दिनमा तोडे । असोजमा १२ औं पटक अनशन बसे, नेपालीहरूको महान् पर्व दसैं आएकाले उनले तीन दिनमै उक्त अनशन टुंग्याएका थिए । त्यसलगतै १९ असोजमा उनी १३ औं पटक अनशन बसेपछि सरकारसँग अध्यादेशमार्फत चिकित्सा शिक्षा विद्येयक ल्याउनेसहित १० बुँदेसहमति भयो, फलस्वरूप उनले १४ औं दिनमा उक्त अनशन टुंग्याएका थिए ।
त्यसपछि उनी तत्कालीन प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै १४ औं पटक अनशन बसे । उनले जारी गरेको विज्ञप्ति र दिएको अभिब्यक्तिले सर्वोच्चको मानहानी भएको भन्दै २४ पुसमा उनलाई अनशनस्थलबाटै पक्राउ गरियो । त्यसपछि आफूविरुद्ध सर्वोच्चमा परेको मानहानी मुद्धासँगै केसी निरन्तर समाचार बनिरहे ।
लालबाबु पण्डित
सामान्य प्रशासनमन्त्री हुँदा डिभी र पीआरधारी कर्मचारीलाई कानुनी दायरामा ल्याएर चर्चामा आएका थिए— लालबाबु पण्डित । त्यसयता निरन्तर न्युजमेकर्सको छविमा देखिन्छन्, उनी । संघीय चुनावमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई मोरङ—६ मा पराजित गरेपछि उनी थप चर्चामा आए । केपी ओली नेतृत्वको सरकारमा पहिलो रोजाइमै मन्त्री भएका पण्डितले केही दिन
वातावरण मन्त्रालयको जिम्मेवारी पाएपछि एक वर्षमै काठमाडौं मास्कमुक्त सिटी बनाउन घोषणा गरेर वातावरण तताए । अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हािलरहेका पण्डित काम गर्न सरकारले तोकेको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्ने अडानमा छन् भने कर्मचारीहरूको स्वेच्छिक अवकाश खारेज गरेर पनि चर्चामा आएका छन् ।
रञ्जु दर्शना
काठमाडौं महानगरपालिकाबाट मेयरमा चुनाव लड्ने सबैभन्दा कान्छी उम्मेदवार भएपछि रञ्जु दर्शना चर्चामा आइन् । २१ वर्षकै उमेरमा महानगरको मेयरका लागि विवेकशील पार्टीका तर्फबाट उम्मेदवारी दिएकी रञ्जुले ‘सुन्दर र सभ्य सहर’लाई आफ्नो चुनावी नारा बनाइन् । उनले कसैले आँकलन नगरेको २३ हजारभन्दा बढी मत पाएपछि उनको चर्चा थप चुलियो । सरल स्वभावकी रञ्जु २०५२ सालमा काठमाडौंमा जन्मिएकी हुन् । राजनीतिप्रति युवाहरूको मोह भंग भैरहेको बेला रञ्जुको सकारात्मक सोच र साहसको सर्वस्त्र प्रशंसा हुने गरेको छ । रञ्जु त्यसयता निरन्तरजसो चर्चामा छिन् ।
डा. सन्दुक रुइत
सस्तो मूल्यमा गुणस्तरीय इन्ट्रा अकूलर लेन्स ‘आइओएल’ ७० भन्दा बढी देशमा उपलब्ध गराएर तथा मोतीबिन्दुले ज्योति गुमाएका मानिसको ज्योति फर्काउने कार्यका लागि विश्वभर प्रसिद्धि कमाएका छन्— डा. सन्दुक रुइतले । उनको नेतृत्वमा स्थापित तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वकै नमुना आँखा अस्पताल मानिन्छ । विश्वबजारमा सस्तो र गुणस्तरीय आइओएल लेन्स उत्पादनका लागि ख्यातिप्राप्त तिलगंगा आँखा अस्पतालका संस्थापक डा. रुइतले विशिष्ट तथा असाधारण उपलब्धि हासिल गर्ने व्यक्तिहरूलाई भारत सरकारले प्रदान गर्ने पद्यश्री सम्मान प्राप्त गरे जसले उनलाई थप चर्चामा ल्यायो ।
पुष्पकमल दाहाल
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेला–बेलामा अस्थिर राजनीतिका खेलाडीजस्ता पनि देखिन्छन् । नेपाली कांग्रेसको समर्थनमा ०७३ साउनमा प्रधानमन्त्री बनेका दाहालले ०७४ वैशाखमा २० वर्षयता हुन नसकेको स्थानीय तहको पहिलो चरणको निर्वाचन गराए । जेठमा उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको सहमति बमोजिम सत्ता हस्तान्तरण गरे । कांग्रेससँग गठबन्धन सरकारमै रहेका बेला १७ जेठमा प्रचण्ड एमालेसँग पार्टी एकता गर्ने निर्णयमा पुगे । जसका कारण चुनावी परिणाम पनि बाम गठबन्धनकै पक्षमा आयो । एमालेसँगको पार्टी एकता र सत्ताको किङमेकरका रूपमा दाहाल वर्षभरि नै समाचारमा छाइरहे ।
अयोधीप्रसाद यादव
वर्ष २०७४ मा सम्पन्न तीन तहको निर्वाचनमा मुख्य कमान्डर नै हुन्— निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव । उनकै नेतृत्वमा निर्वाचन आयोगले विविध जटिलता चिर्दै संघ, प्रदेश तथा स्थानीय तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गर्यो । कम समय, मौसमी जटिलता, राजनीतिक दलहरूको द्वन्द्वकाबीच तिनै तहका निर्वाचन सम्पन्न गर्नु आफैंमा ऐतिहासिक अभिभारा थियो । ८ माघसम्ममा तिनै तहका निर्वाचन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी उनकै नेतृत्वमा रहेको आयोगले सफलतापूर्वक सम्पन्न गर्यो भने अहिले राष्ट्रियसभाको निर्वाचनदेखि राष्ट्रपतिदेखि सबै संवैधानिक एवं कार्यकारी पदका निर्वाचनहरू पनि सम्पन्न भैसकेका छन् । तर, निर्वाचनका क्रममा आर्थिक अनियमितताको गरेको आरोपमा पनि उनीमाथि लागेको छ ।
रेणु दाहाल
रेणु दाहाल मुलुकका ६ वटा महानगरमध्येको एक भरतपुर महानगरपालिकाकी मेयर हुन् । पहिलो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार भएदेखि नै रेणु निरन्तरको चर्चामा आइन् । कारण उनी माओवादी अध्यक्ष पुष्पकमल दाहालकी माइली छोरी हुन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनताका दाहाल कांग्रेसको समर्थनमा प्रधानमन्त्री थिए । उनले कांग्रेससँग एमाले विरुद्ध केही ठाउँमा गठबन्धन पनि गरे । कांग्रेसको प्रभावशाली उपस्थिति भएको चितवनको भरतपुर महानगरमा दाहालले आफ्नी पुत्री रेणुलाई उम्मेदवार बनाए । रेणुका विरुद्ध एमाले उम्मेदवार देवी ज्ञवाली चुनावी मैदानमा थिए तर, मतगणना अन्तिम अवस्थामा नपुग्दै पराजित हुने देखेपछि माओवादी कार्यकर्ताले मध्यरातमा १९ नम्बर वडाको मतपत्र च्याते । जसका कारण केही दिन मतगणना स्थगित मात्र गरिएन्, मतपत्र च्यातिएको वडामा पुन: मतदान गरियो र त्यसकै बलमा रेणु महानगरको मेयरमा विजयी भइन् ।
रवीन्द्र मिश्र
बीबीसी नेपाली सेवाका पूर्व प्रमुख रवीन्द्र मिश्र राजनीतिक मैदान उत्रिएर चर्चामा आए । परोपकारी पत्रकारिताको वकालत गर्ने मिश्रले बीबीसीबाट राजीनामा दिएर चुनावको मुखैमा आफ्नै संयोजकत्वमा साझा पार्टी गठन गरे । भारतमा वैकल्पिक शक्तिका रूपमा उदाएका केजरीवालकै शैली पछ्याउँदै उनको नेतृत्वको साझा पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लियो, तर अपेक्षाकृत नतिजा हासिल गर्न सकेन् । त्यसपछि उनले विवेकशील पार्टीसँग एकता गरे । संघीय र प्रदेशसभा निर्वाचनमा विवेकशील र साझा एउटै पार्टीका रूपमा चुनावी प्रतिस्पर्धामा ओर्लिए । ‘यस पटक संसदमा अर्को पटक सरकारमा’ नारा दिँदै रवीन्द्र स्वयंम काठमाडौं–१ बाट संघीय चुनावको उम्मेदवार भए । यद्यपि कडा प्रतिस्पर्धाका बीच उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित हुन पुगे ।
डा. विशाल ज्ञवाली
क्यान्सर रोगको उपचारमा पुर्याएको योगदानका कारण विश्वभर चिनिएका पछिल्लो पुस्ताका चिकित्सक हुन्— रुपन्देहीका ३० वर्षीय डा. विशाल ज्ञवाली । उनी मेडिकल अंकोलोजीमा कम उमेरमा पिचएडी गर्ने चिकित्सक पनि हुन् । यही कारणले उनलाई सारा संसारले कम उमेरमा क्यान्सर रोगको अनुसन्धान गर्ने व्यक्तिका रूपमा चिन्छन् । डा. ज्ञवालीले जापानको नागोया युनिभर्सिटीबाट मेडिकल अंकोलोजीमा पिचएडी पूरा गरेका हुन् । २०५९ सालको एसएलसीका बोर्ड फस्ट विशालले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानमा छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरे । सन् २०१२ मा ज्ञवालीले जापानमा अंकोलोजी विषय अध्ययन गर्ने छात्रवृत्ति पाए । सन् २०१७ मा नायोगा युनिभर्सिटीबाट पिएचडी पूरा गरेका उनले नायोगामै अध्ययनका क्रममा ५० भन्दा बढी अनुसन्धानमुलक रिपोर्ट प्रकाशित गरिसकेका छन् ।