साप्ताहिक संवाददाता
प्रदेश तथा केन्द्रीय संसद्को निर्वाचन परीवेक्षण गर्न आएको युरोपियन युनियनले बुझाएको प्रतिवेदनसँग सम्बन्धित विषयले यो वर्ष नेपालमा ठूलै विवाद सिर्जना गर्यो । प्रतिवेदनमा उल्लेख गरिएका कतिपय विषयप्रति असहमति जनाउँदै नेपाल सरकारले उक्त प्रतिवेदन अस्वीकार गर्यो । प्रतिवेदनमा नेपालमा जारी भएको संविधानको मर्म विपरीत सुझाव दिएको भन्दै प्रधानमन्त्रीले नै उक्त प्रतिवेदन सच्याउन आग्रह गरे । प्रतिवेदनमा नेपालको संविधानमा राखिएको खस आर्य समुदायको समानुपातिक प्रतिनिधित्व हटाउन सुझाव दिइएको थियो ।
उक्त प्रतिवेदनको विषयमा सरकारका साथै निर्वाचन आयोग तथा नेपालका राजनीतिक दलहरूले पनि असहमति जनाउँदै नेपालको आन्तरिक मामलामा हस्तक्षेप भएको बताउँदै आएका छन् । ईयूले भने प्रतिवेदनमा आफूले सुझाव मात्र दिएको जनाउँदै त्यसको कार्यान्वयन गर्ने–नगर्ने सरकारको अधिकार भएको जवाफ फर्कायो । यही सेरोफेरोमा वर्ष २०७४ मा नेपालका बारेमा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय एजेन्सीहरूले गरेका विभिन्न सर्वेक्षणमा नेपालको अवस्थाका बारेमा संक्षिप्त जानकारी :
खुसी घट्यो
विश्वका खुसी राष्ट्रहरूको प्रतिवेदन सार्वजनिक गर्ने ह्यापिनेस रिर्सच इन्स्टिच्युटको प्रतिवेदनमा नेपाल गत वर्षको तुलनामा दुई स्थान तल झरेको छ । गत ९९ सयौं स्थानमा रहेकोमा नेपाल यो वर्ष १ सय १ मा पुगेको हो । समग्र विश्वको तथ्यांकमा पछाडि धकेलिए पनि नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा कायम रहन सफल छ । विश्वको ७५ औँ स्थानमा रहेको पाकिस्तान तथा ९७ औं स्थानमा रहेको भुटान दक्षिण एसियामा नेपालभन्दा अगाडि छन् । छिमेकी देश भारत १ सय ३३ औं स्थानमा, श्रीलंका १ सय ६६ औं स्थानमा तथा बंगलादेश १ सय १५ औं स्थानमा छन् । सबैभन्दा खुसी मुलुकको सूचीमा फिन्डल्यान्ड नम्बर एक स्थानमा छ ।
विधिको शासनमा अगाडि
विश्व न्याय परियोजनाले विश्वका सबै देशको शासन–व्यवस्थाको सञ्चालन एवं सहभागितामाथि अध्ययन गरेको एक रिपोर्टमा नेपालको अवस्था छिमेकी देश भारत र चीनभन्दा राम्रो पाइएको छ । नेपाल उक्त अध्ययनमा ५८ औं स्थानमा छ भने भारत चार स्थानपछि ६८ औं स्थानमा र चीन ७५ औं स्थानमा छ । सबैभन्दा राम्रो विधिको शासन भएको देशका रूपमा डेनमार्क र दोस्रोमा नर्वे छन् । १ सय १३ देशमा गरिएको उक्त अध्ययनको अन्तिम स्थानमा भेनेजुएला र त्यसभन्दा अगाडि कम्बोडिया छन् ।
व्यवसायिक वातावरण
नेपाल दक्षिण एसियामा व्यवसायिक वातावरण सहज भएको तेस्रो मुलुक भएको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । नेपाल दक्षिण एसियामा भारत र भुटानपछि लगानीमैत्री देशका रूपमा प्रस्तुत भएको हो । सन् २०१८ का लागि प्रकाशित डुङइ बिजनेस प्रतिवेदनले नेपाल गत वर्षभन्दा दुई स्थानमाथि उक्लँदै विश्वमा १ सय ५ औं स्थानमा उक्लिएको देखाएको छ ।
गरिबी बढ्दै
राष्ट्रिय योजना आयोग एवं बेलायतको अक्सफोर्ड विश्वविद्यालयको गरिबी तथा मानव विकास पहलले संयुक्त रूपमा गरेको बहुआयामिक गरिबी सूचकांकले नेपालमा अझै २८ प्रतिशत जनता गरिब रहेको तथ्यांक सार्वजनिक गरेको छ । मानव विकास सूचकका साथै स्वास्थ्यसम्बन्धी दुई, शिक्षासम्बन्धी दुई तथा जीवनस्तर सम्बन्धी ६ वटा सूचकका आधारमा उक्त गरिबी दर निकालिएको हो । यो विधिलाई दिगो विकासको लक्ष्यमा समेत प्रयोग गरीदै आएको छ । यसअघि केन्द्रीय तथ्यांक विभागले नेपालमा २१ प्रतिशत मात्र गरिबी रहेको दाबी गर्दै आएको थियो ।
सुशासनमा नेपाल
ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रत्येक वर्ष जारी गर्ने भ्रष्टाचारसम्बन्धी सर्वेक्षण प्रतिवेदनमा नेपाल कम भ्रष्टाचार हुने मुलुकको वर्ष १ सय २२ औं स्थानमा छ । सर्वेक्षणमा १ सय ८० मुलुक सहभागी थिए । गत वर्ष १ सय ७६ मुलुक सहभागी हुँदा १ सय ३१ आंै स्थानमा रहेकोमा यो वर्ष सर्वेक्षणमा सहभागी मुलुक बढेसँगै नेपाल १ सय २२ आंै स्थानमा पुगेको हो । नेपालले आफ्नो स्थितिमा २ अंकले सुधार गरेको छ । अघिल्लो वर्ष नेपालले २९ अंक प्राप्त गरेकोमा यो वर्ष ३१ अंक प्राप्त गरेको बताइएको छ ।
घुम्नैपर्ने देश
प्रत्येक वर्ष उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्ने लोन्ली प्लानेटले यो वर्ष नेपाललाई विश्वकै पाँचौं उत्कृष्ट गन्तव्यमा राखेको छ । प्लानेटले सार्वजनिक गरेको यो सूचीमा दक्षिण एसियाबाट नेपाल मात्र परेको हो । प्लानेटको सूचीको पहिलो स्थानमा क्यानाडा, दोस्रोमा कोलम्बिया, तेस्रोमा फिनल्यान्ड, चौथोमा डोमेनिका तथा पाँचौं स्थानमा नेपाल छन् । भ्रमणका लागि प्लानेटले नेपाल भित्रका पनि उत्कृष्ट १० स्थानसमेत छुट्याएको छ ।
समृद्धि सूचकांकमा अगाडि
प्रत्येक वर्ष समृद्धि सूचकांक प्रकाशित हँुदै आएको लेगाटम प्रोस्पेरिटी इन्डेक्स–१७ मा नेपाल ८९ औं स्थानमा छ । आर्थिक रूपमा तीव्र फड्को मारिरहेका दुइ छिमेकी भारत र चीनभन्दा नेपाल अगाडि रहेको उक्त तथ्यांकमा उल्लेख छ । भारत नेपालभन्दा ११ औं स्थान पछि १ सयौ नम्बरमा छ भने चीन नेपालभन्दा १ नम्बर पछि पर्दै ९० औं स्थानमा छ । लेगाटास इन्स्टिच्युटको उक्त अध्ययनमा विश्वका १ सय ४८ देशलाई समेटिएको थियो ।
समावेशी विकास सूचकांक
वल्र्ड इकोनोमिक फोरमले प्रकाशित गरेको समावेशी विकास सूचकांकमा नेपाल २२ औं स्थानमा छ । ७२ वटा देशलाई समेटेर तयार गरिएको उक्त अध्ययनमा दक्षिण एसियाका अन्य देशहरूलाई पछि पार्दै नेपालको सम्भावना सुदृढ हुँदै गएको देखाइएको छ । अघिल्लो वर्ष समावेशी विकास सूचकांक प्रतिवेदनमा नेपाल २७ औँ स्थानमा थियो ।
काठमाडौं आकर्षक
विश्वका पर्यटकीय सहरहरूमध्ये काठमाडौं यात्रुले रुचाउने २३ औं गन्तव्यमा परेको छ । ट्राभल च्वाइस–२०१७ को उक्त सूचीमा इन्डोनेसियाको वाली सहर यात्रुको पहिलो रोजाइमा छ । त्यसैगरी बेलायतको लन्डन, फ्रान्सको पेरिस, इटालीको रोम सहर क्रमश: दोस्रो, तेस्रो तथा चौथो स्थानमा छन् ।
फिफा वरियतामा–१७१ औं
२०१७ को फिफा वरियतामा नेपाल १ सय ७१ औं स्थानमा रह्यो । फिफा वरियतामा यो वर्ष जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना तथा बेल्जियम टप फाइवमा थिए ।
ऊर्जामा सामान्य
वल्ड इकोनोमीक फोरमले सार्वजानिक गरेको ऊर्जा पहुँच, सञ्चय तथा सुरक्षा सूचकांकमा नेपाल विश्वको ८८ औं स्थानमा छ । यो सूचीको एक नम्बरमा स्विडेन तथा दुई नम्बरमा नर्वे छन् । छिमेकी देश भारत ७८ औं स्थानमा छ भने चीन ७६ औं स्थानमा छ ।
कम खर्चिलो काठमाडौं
विश्वका सहरहरू कति खर्चिला छन् भन्ने विषयमा अध्ययन गर्ने इकोनोमिस्ट डटकमका अनुसार काठमाडौं संसारको १ सय १६ औं महँगो सहर हो । यो सूचीमा सबैभन्दा महँगो सहरका रूपमा सिंगापुर एक नम्बरमा छ । त्यसपछिका महँगा सहरमा क्रमश: हङकङ तथा ज्युरिच छन् ।