साप्ताहिक संवाददाता
प्याच्च बोल्ने बानी त्याग्ने छु
खानपिनमा विशेष ध्यान दिनेछु, खासगरी मोटोपन बढ्ने खाना त छुँदै छुन्न ।
जिममा कम्तीमा एक घण्टा बिताउनेछु ।
आफूसँग असम्बन्धित कुरामा आफ्नो धारणा व्यक्त गर्ने बानी वैशाख १ गतेदेखि नै त्याग्नेछु ।
शारीरिक तथा मानसिक रूपमा परिवक्व बन्ने प्रयास गर्नेछु ।
प्याच्च बोल्ने बानीमा पनि सकेसम्म नियन्त्रण गर्नेछु ।
-आँचल शर्मा, अभिनेत्री
अलराउण्डर बन्ने प्रयास गर्नेछु
नेपालले हालै एकदिवसीय मान्यता पाएको छ, यसलाई कसरी निरन्तरता दिने भन्ने मुख्य चुनौती हाम्रा सामु छ । त्यसमा छिटोभन्दा छिटो ५० देखि १ सय विकेट लिने मेरो लक्ष्य छ । नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता चार वर्षका लागि छ । यो अवधिमा जति पनि म्याच खेल्न पाउँछु त्यसमा उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु ।
यो वर्ष उत्कृष्ट प्रदर्शन दिन फिटनेसदेखि लिएर खानामा सम्ममा ध्यान पुर्याउनेछु । अझ फिट भएर मैदानमा ओर्लनेछु ।
आउने वर्ष म आफूलाई अझ उत्कृष्ट अलराउन्डर बनाउने प्रयासमा लाग्नेछु ।
सामान्य जीवनमा अनकौं समस्या आइरहेका थिए, यसलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर लागिपर्नेछु । साथीभाइ तथा परिवारलाई खुसी राख्ने प्रयास गर्नेछु ।
नेपाललाई ट्वान्टी–२० विश्वकपमा सहभागी बनाउन दिलो ज्यानले लाग्नेछु । हामी ट्वान्टी–२० विश्वकप छनौटको पहिलो चरण यही वर्ष खेल्दैछौं ।
-सोमपाल कामी, क्रिकेटर