साप्ताहिक संवाददाता
नेपाली क्यालेन्डरको न्यु इयर इभ सेलिब्रेसनमा गत शुक्रबार लाजिम्पाटस्थित होटल र्याडिसन फेसनमय बन्यो । कायरा रनवे शोको छैठौँ संस्करणको प्रस्तुतिमा लाजिमाज् कलेक्सनका डिजाइनर लाजिमा सुब्बाले तयार पारेका विभिन्न फेसन शैलीहरु प्रस्तुत गरिएका थिए ।
कोरियोग्राफर धीरज तण्डुकारको कोरियोग्राफीमा ६ वटा विभिन्न सिक्वेन्स अन्तर्गत युवा युवती तथा बालबालिकाहरुको लागि लक्षित फेसनका विभिन्न नमूनाहरु रनवेमा प्रस्तुत भएका थिए । ‘न्यु इयर फेसन पार्टी, कायर रनवे सिक्स’ शीर्षकमा गाउन, लेहेंगा, वन्पिस, क्याजुयल, फर्मल लगायतका शैलीहरु प्रदर्शन गरिएको उक्त फेसन कार्यक्रममा दुई दर्जन युवा युवती बाल बालिका मोडलहरुले क्याटवाक गरेका थिए ।
इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टको आयोजनामा प्रस्तुत भएको सो फेसन कार्यक्रममा ग्ल्यामर फोटोग्राफर राज भाइ सुवाल, पूर्व मिस नेपाल रुबी राणा, अभिनेता एवं कोरियोग्राफर प्रशान्त ताम्राकार, अभिनेत्रीद्वय दिपाश्री निरौला, श्वेता खड्का शो स्टोपरका रुपमा प्रस्तुत भएका थिए । फेसन शो प्रस्तुतिसँगै गीत संगीत, नृत्य तथा कमेडी प्रस्तुतिको संयोजनमा नयाँ वर्षको स्वागत गर्दै अन्तत: कार्यक्रमले डिजे सेसन हुँदै विश्राम लिएको थियो ।