साप्ताहिक संवाददाता
हामीले धेरै अघिदेखि देखेको एउटा सपना पूरा भएको छ, राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको यो प्रतिक्रियाले देखाउँछ, वर्ष २०७४ नेपाली क्रिकेटका लागि मात्र होइन, समग्र नेपाली खेलकुदका लागि कस्तो रह्यो ? साँच्चै वर्ष २०७४ पूर्णत: क्रिकेटमय रह्यो र यही कारणले यो वर्षलाई सम्झिनेछ । यो वर्ष नेपाली क्रिकेटमा ठूलो सफलता र अवसरका रूपमा अगाडि आएको छ र त्यो हो— अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट वान डे टिमको मान्यता ।
अबको चार वर्ष नेपालले खेल्ने ५० ओभरको क्रिकेटले औपचारिक रूपमा मान्यता पाउनेछ । यसै कारण पारसले भनेका हुन्, हाम्रो ठूलो सपना पूरा भएको छ । अब यही सपनामा टिकेर नेपालले अरू धेरै सपना बुन्न सक्नेछ । नेपालले यो उपलब्धि जिम्बावेमा सम्पन्न २०१८ क्रिकेट वल्र्डकप क्वालिफायरबाट प्राप्त गरेको हो । त्यसो त नेपालले यो प्रतियोगिता खेल्ने अवसर प्राप्त गरेपछि वान डे विश्वकपमै छनौट हुने अवसरसमेत थियो ।
सहभागी दस टिममध्ये शीर्ष दुईमा रहेर नेपाल आउने वान डे विश्वकपमा छनौट हुन सक्थ्यो, तर त्यो नेपालका लागि खास लक्ष्य थिएन, वास्तविक लक्ष्य आईसीसी वल्र्ड क्रिकेट सिरिजको डिभिजन–टुमा नझर्नु थियो । नेपाल उक्त उपलब्धि हात पार्न सफल रह्यो र त्यसैले नेपाललाई वान डे टिमको मान्यता दिलायो । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा थियो र उक्त समूहमा नेपाल चौथो स्थानमा रहन सफल भयो, हङकङभन्दा माथि ।
त्यसयता भएको प्ले अफमा नेपालले पपुवा न्युगिनीमाथि ६ विकेटको जित निकाल्यो भने नेपाललाई अनुकूल हुने गरी अर्को प्ले अफमा नेदरल्यान्ड्सले हङकङलाई हरायो । लगत्तैको खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भए पनि प्रतियोगिताको वरियतामा आठौं स्थानमा रहन सफल भयो । यसको अर्थ हङकङ र पपुवा न्युगिनी डिभिजन–टुमा झरे । उनीहरू दुवैले वान डे मान्यता गुमाए भने त्यही अवसर नेपालको भागमा आयो ।
जुन दिन नेपालले पपुवा न्युगिनीलाई हरायो, त्यति बेला नेपालका लागि उक्त जित मात्र पर्याप्त थिएन । नेपालले यो जित चाँडै कम समयमै प्राप्त गरेको थियो । त्यसैले नेपाली खेलाडीहरू नेदरल्यान्ड र हङकङबीचको खेलको नतिजा कुर्न बाध्य भए । जति बेला त्यसमा नेदरल्यान्ड विजयी भयो, नेपाली खेलाडीहरूको खुसीको सीमा रहेन । सबै खेलाडी एकै स्थानमा भेला भएर उक्त खेल हेरिरहेका थिए । जति बेला आफ्नो अनुकूल नतिजा आयो, सबै खेलाडीको आँखामा आँसु थियो ।
त्यो नेपाली खेलकुदका लागि ऐतिहासिक दिन सावित भयो । नेपाललाई वान डे विश्वकपको छनौटसम्म पुर्याउने काम गरेको थियो, यसै वर्षको आईसीसी डिभिजन–टुको खेलले । नेपाल २०१८ आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–टुको विजेता पनि भयो । प्रतियोगिताअघिसम्म नेपालसामु डिभिजन–टुमा कायम रहने अथवा रेलिगेसनमा पर्ने डर पनि थियो, तर प्रतियोगिता नेपालका लागि भाग्यमानी सावित भयो । निकै साँघुरा जित निकालेर नेपाल ६ टिम सम्मिलित प्रतियोगिताको लिग चरणको शीर्ष स्थानमा आउन सफल भयो । फाइनलमा भने नेपाल युएईको हातबाट ७ रनले पराजित भयो । आईसीसीको औपचारिक प्रतियोगितामा नेपालको यो सफलता अहिलेसम्मकै सबैभन्दा ठूलो हो । वर्ष २०७४ मा नेपाली क्रिकेटको सफलता राष्ट्रिय टिममा मात्र सीमित रहेन, यस्तै सफलता उमेर समूहबाट पनि प्राप्त भयो, विशेषत: यू–१९ स्तरमा । यसमा प्राप्त सफलतालाई पछिसम्म सम्झिइनेछ ।
एसीसी यू–१९ एसियाकप २०१७ मलेसियामा सञ्चालन भएको थियो र त्यसमा नेपाल समूह ‘ए’ मा थियो । त्यसमा सम्मिलित अरु टिम थिए, डिफेन्डिङ च्याम्पियन भारतसँगै मलेसिया र बंगलादेश । उक्त समूहबाट नेपाल सेमिफाइनल पुग्नेछ भनेर कसले सोच्न सक्थ्यो र ? तर नेपाल प्रतियोगिताको अन्तिम चारमा पुग्यो र त्यस क्रममा नेपालले भारतमाथि लिग चरणमा १९ रनको ऐतिहासिक जित निकाल्यो ।
विश्व क्रिकेटको सबैभन्दा बलियो र समृद्ध देश भारतमाथि प्राप्त उक्त जित अन्तर्राष्ट्रिय रूपमै चर्चाको विषय भयो । हुन पनि कुनै पनि स्तरको क्रिकेटमा नेपालले भारतलाई हराएको यो नै पहिलो अवसर थियो । प्रतियोगितामा सहभागी भारतीय टिमका प्रशिक्षक थिए— राहुल द्रविड । आफ्नो हारपछि द्रविडले दिएको प्रतिक्रिया थियो, नेपाल जितको हकदार थियो । पछि केही फेरिएको त्यही यू–१९ भारतीय टिमले युवा विश्वकप जितेको थियो ।
यसै वर्ष निजी क्षेत्रको प्रयासमा दुई ट्वान्टी–२० प्रतियोगिता सफलतार्पूक सम्पन्न भए, एभरेस्ट प्रिमियर लिग (ईपीएल) र धनगढी प्रिमियर लिग (डीपीएल) । यी दुई प्रतियोगिताको आयोजनाले पनि नेपाली क्रिकेटमा जीवन्तता कायम गर्यो । त्यसको ठीक विपरीत नेपाल क्रिकेट संघ (क्यान) को विवाद भने जहाँको त्यहीं रह्यो । आईसीसीबाट क्यान प्रतिबन्धमा परेको लामो समय भैसकेको छ र यो विवादले वर्ष २०७४ मा पनि कुनै प्रकारको समाधान पाएन् ।
विवाद नेपाली फुटबलमा पनि रह्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन तय समयमा हुन नसकेपछि खेलको भविष्यमाथि नै प्रश्नचिह्न उठ्यो । फेरि एकपटक वर्ष २०७४ ले लिग फुटबल हेर्न पाएन । नेपाली घरेलु फुटबललाई धान्ने काम गरे, मोफसलका गोल्डकपहरूले । अन्तर्राष्ट्रिय मञ्चमा भने नेपालले एसिया कप छनौटमा सहभागिता जनायो र त्यस क्रममा छनौट समूह ‘एफ’ को अन्तिम स्थानमा रह्यो ।
वर्ष २०७४ को सुरुवातमा नेपाली खेलकुदले एउटा ठूलो खेल महोत्सव आयोजना गर्ने अवसर पायो, त्यो थियो— एसियाली युथ तथा जुनियर भारोत्तोलन प्रतियोगिता । नेपाली खेलकुद इतिहासमै यति ठूलो प्रतियोगिता धेरै समयको अन्तरालपछि सम्भव भएको थियो । केहीले नेपाली खेलकुदमा यति ठूलो बृहत् प्रतियोगिता भएकै थिएन् भनेर पनि दाबी गरे । विश्व भारोत्तोलनमा एसिया नै प्रमुख शक्ति भएकाले पनि यो प्रतियोगिताको महत्त्व केही फरक थियो । प्रतियोगितामा विश्वकै अब्बल दर्जाका खेलाडीहरूको सहभागिता थियो ।
यस क्रममा नेपालीले उत्तिकै माथिल्लो स्तरको खेल हेर्न पाए । महिला जुनियरमा थाइल्यान्ड ६ स्वर्ण, ६ रजत तथा २ कांस्यसँगै पहिलो स्थानमा रह्यो भने महिला युथमा चीनको एकछत्र आधिपत्य रह्यो । आफ्नो प्रभुत्व सिद्ध गर्ने क्रममा चीनले ११ स्वर्ण, ३ रजत तथा २ कांस्य जित्यो । पुरुषतर्फ जुनियरमा दक्षिण कोरिया पहिलो स्थान प्राप्त गर्यो । उसले ६ स्वर्ण तथा ३ रजत जितेको थियो । पुरुष युथमा उज्वेकिस्तान पहिलो स्थानमा रह्यो, जसले ६ स्वर्ण, ३ रजत तथा ६ कांस्य हात पार्यो । नेपाल भने प्रतियोगितामा पदकविहीन रह्यो ।
वर्ष २०७४ मा नेपालले अरु खेलमा कुनै ठूलो प्रतियोगिता खेलेन । यो वर्ष दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद तथा ओलम्पिकजस्ता कुनै पनि ठूला खेल महोत्सव थिएनन् । राष्ट्रिय खेलकुद परिषद्ले भने २९ खेलको राखेप च्याम्पियनसिपको आयोजना गर्यो, जसअन्तर्गत फरक–फरक स्थानमा फरक–फरक खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिए, जुन यो नेपाली खेलकुदका लागि नयाँ प्रयोग सावित भयो । यसलाई बृहत् राष्ट्रिय खेलकुदको विकल्पका रूपमा प्रस्तुत गरिएको थियो ।