साप्ताहिक संवाददाता
हाँस्यकलाकारका रुपमा चर्चामा रहेका कलाकार मनोज गजुरेलका फ्यानका लागि खुशीको खबर छ । उनका फ्यानले अब उनलाई काँचको पर्दामा हेर्न सक्ने भएका छन् । यसै साताबाट छायांकनमा गएको चलचित्र ‘सयकडा दश’बाट उनले चलचित्रमा डेब्यु गरेका छन् ।
बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरबाट सुरु भएको छायांकन स्थलमा अभिनेता राजाराम पौडेलले माला लगाएर गजुरेललाई चलचित्र क्षेत्रमा स्वागत गरेका थिए । स्वागतपछि गजुरेलले आफू डेब्युका लागि उपयुक्त चलचित्रको पर्खाइमा रहेको बताउँदै चलचित्र सयकडा दशले त्यो पर्खाइ समाप्त पारेको बताए ।
रामशरण पाठकले निर्देशन गर्ने यो चलचित्रमा अभिनेता अमृत ढुंगानाले यसै चलचित्र मार्फत चलचित्रमा डेब्यु गरेकी करुणा श्रेष्ठसँग अनस्क्रिन रोमान्स गर्दैछन् । रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायतका कलाकारले पनि चलचित्रको शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् ।
रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत चलचित्रमा युट्युव स्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशाला गुरुङ र संदेश पाठकसँग टीमअप गर्दैछन् ।
दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गर्न लागेका हुन् ।