साप्ताहिक संवाददाता
सीमा सुवेदी
गत असार महिनामा सीमा सुवेदी नामकी एक युवती एकाएक भाइरल भइन् । उनले नेपालीहरूले भारतको विरोध गर्नुभन्दा पहिले हजारौं पटक सोच्नुपर्ने अनि भारतीयहरूले भूकम्पका बेला चन्दा नदिएको भए नेपालीको के हालत हुन्थ्यो भन्दै एउटा भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियो सार्वजनिक भएसँगै नेपालीहरू सीमा विरुद्ध खनिए । सीमाको उक्त भिडियो लामो समयसम्म युट्युब ट्रेन्डिङमा रह्यो जसको कमेन्टमा निकै आक्रामक टिप्पणी गरिए ।
साकार अधिकारी
साकार अधिकारी नामक एक युवक अरूलाई सरापेरै भाइरल भए । अधिकारी लाहुरे उपनामले चिनिने आशिष राना, पुष्पकमल दाहाल प्रचण्ड, रानी एलिजावेथ तथा आफ्नै दिदीविरुद्ध अपशब्द बोलेको आफ्नो फेसबुक तथा युट्युबमा राख्थे । त्यसक्रममा विभिन्न युट्युब च्यानलले साकारले अपलोड गरेका भिडियोलाई भ्युअर्स बढाउने उद्देश्यले आफ्नो च्यानलका लागि प्रयोग गरे । साकारले सार्वजनिक गरेका भिडियोमा प्रयोग भएको कट्टा हान्छु भन्ने शब्द यतिबेला युवापुस्ताको थेगो नै भएको छ ।
तिर्सना बुढाथोकी
मोडल तिर्सना बुढाथोकी आफ्ना हट तस्बीर तथा भिडियोका कारण बेलाबखत चर्चामा आइरहन्छिन् । उनले केही महिनाअघि फेसबुक लाइभमा आएर आफ्ना वक्षस्थल देखाउँदै आफू निकै हट र सेक्सी भएको कुरा बताएकी थिइन् । उनको उक्त भिडियो तत्कालै युट्युबमा भाइरल भएको थियो । बुढाथोकी केही समय अघि बाथरुममा नुहाइरहेको आफ्नो अर्धनग्न तस्बिर सामाजिक सञ्जालमा सेयर गरेर समेत विवादमा तानिएकी थिइन् ।
युनिस्मा राई
युनिस्मा राई फेसबुक लाइभमा अश्लील शब्द बोलेर भाइरल भइन् । उनले फेसबुकमार्फत सार्वजनिक गरेका प्राय: सबै भिडियो युट्युबमा समेत भाइरल भए । आफ्नै भाइले अश्लील शब्द प्रयोग गर्दै भिडियो लाइभ गर्ने क्रम नरोके झुण्डिएर मर्छु भनेपछि युनिस्माले भिडियोमार्फत नै रुँदै अब आफूले त्यस्तो नगर्ने बताएकी थिइन् । उनको उक्त भिडियोमा प्रतिक्रिया जनाएका गोविन्द सुवेदी पनि सँगसँगै युट्युबमा भाइरल भएका थिए ।
टीकाथली भूतकाण्ड
न्युज २४ टेलिभिजनमा प्रसारण हुने सीधा कुरा जनतासँगमा पत्रकार रवि लामिछानेले ललितपुरस्थित टीकाथलीको भूतकाण्डसम्बन्धी एक सामग्री प्रसारण गरे जसले निकै चर्चा पायो । उक्त भूतकाण्ड युट्युब ट्रेन्डिङको १ नम्बरमा पुग्यो । यो भिडियो युट्युबमा हालसम्म १२ लाखपटक हेरिएको छ ।
यूएस बाङ्गला बिमान दुर्घटना
युट्युबमा भाइरल हुने घटना मध्येको एक हो, त्रिभुवन विमानस्थलमा फागुन २८ गते दुर्घटना ग्रस्त यूएस बाङ्गलाको विमान । उक्त बिमान दुर्घटना भएपछि खिचिएका विभिन्न भिडियो युट्युबमा भाइरल भएका थिए ।
रोबोट सोफिया
सोफिया रोबोटलाई साउदी अरेबियाले नागरिकतासम्म प्रदान गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको पहलमा उनी गत चैत ७ गते नेपाल आएकी थिइन् । सोफियाले यूएनडीपीले होटल याक एण्ड यतीमा आयोजना गरेको टेक्नोलोजी फर पब्लिक सर्भिसेज/डेभलपमेन्ट सम्मेलनमा प्रवचन समेत दिइन् । उनले उक्त सम्मेलनमा दिएको प्रवचन अहिलेपनि युट्युबमा भाइरल भैरहेको छ ।
जोन तामाङ
ललितपुर थसिखेलस्थित अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत जोन तामाङ फूलचोकी हाइकिङका क्रममा बेपत्ता भए । बेपत्ता भएको ७ दिन पछि उनी फेला परे । जोन फेला परेपछि विभिन्न युट्युब च्यानलले उनीसँग कुराकानी गरे । जोनसँग कुराकानी गरिएका ती भिडियो पनि युट्युबमा भाइरल भए ।
साझा सवालमा
शेरबहादुर देउवा
साझा सवालको ५०० औं अंकमा जवाफ दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित थिए । त्यस क्रममा प्रश्नकर्ता सागर ढकालले देउवासँग एउटा प्रश्न गरे । यता देउवाले उनको प्रश्नमाथि नै आक्रोश व्यक्त गर्दै झर्किएको शैलीमा जवाफ दिएसँगै देउवाको आलोचना हुन थाल्यो । त्यस क्रममा देउवाले दिएको अभिव्यक्ति युट्युबमा भाइरल भएको थियो ।