यदि संसारमा कसैप्रति अगाध आस्था र प्रेम गरिन्छ भने ती बाबु–आमा नै हुन्, जसलाई ईश्वरको अर्को रूप समेत मानिन्छ । आफ्नो जिम्मेवारी र नि:स्वार्थ प्रेमको संसारमा चुर्लुम्म डुबेका बाबु–आमा सन्तानको सानो पीडालाई पनि भित्रैबाट महसुस गर्छन् । जन्माई–हुर्काई ठूलो बनाएर आफ्नो बुढ्यौलीको सहारा आफ्नो सन्तानलाई मान्ने ती बाबु–आमालाई आफ्नो प्रिय सन्तानबाटै मृत्युवरण गर्नुपर्यो भने कस्तो होला ?
हो, हङकङमा गत चैत २५ गते प्रेमराज लिम्बूको हत्या छोरा मचिन्द्र लिम्बूले धारिलो हतियार प्रयोग गरी गरे । आफ्नो मुटुको टुक्राको त्यो प्रहार प्रेमराजले सहन सकेनन् । फलत: उनी यो संसारबाट बिदा भए ।
कसरी भयो घटना ?
बाबु प्रेमराज लिम्बू तथा छोरा मचिन्द्रको घरमा सामान्य विवाद भैरहेको थियो । घरमा आएका पाहुनाहरूले विवाद बढ्न नदिन मचिन्द्रलाई बाहिर लिएर गएका थिए, तर घरमा केही काम छ भन्दै फर्किएका मचिन्द्रले प्रेमराजसँग फेरि झगडा गरी उनीमाथि धारिलो हतियार प्रयोग गरे । बाबुलाई सख्त घाइते बनाएर उनी त्यहाँबाट निस्किए ।
पाहुनाहरूलाई शंका लागी उनीहरूले प्रेमराजलाई घरमा फोन गरे, तर फोन रिसिभ भएन । अन्य काममा व्यस्त पाहुनाहरूले प्रेमराजका माइला तथा कान्छा छोरालाई फोन गरी प्रेमराज र मचिन्द्रको विवादका सम्बन्धमा जानकारी गराएका थिए । खबर प्राप्त हुनासाथ छोराहरूले फोन सम्पर्क गर्दा प्रेमराजले आफ्नो स्थिति बताए । तत्काल प्रहरी र एम्बुलेन्ससहित पुगेका उनीहरूले ढोका फोडेर हेर्दा प्रेमराज अचेत अवस्थामा थिए । उनको शरीरका विभिन्न अंग काटिएको थियो । तत्काल हङकङस्थित कङ्वा हस्पिटल पुर्याइए पनि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भयो ।
के थियो विवाद ?
विवादको कारण पैसा भएको बताइएको छ । छोरा मचिन्द्र सधैं पैसा मागेर प्रेमराजलाई हैरान बनाउँथे । प्रेमराजले पनि सधैंजसो पैसा दिइरहेका हुन्थे, तर घटना भएको दिन पैसा नदिएका कारण रिसाएका मचिन्द्रले धारिलो हतियार प्रयोग गरी उक्त आक्रमण गरेको बताइएको छ । मचिन्द्रलाई हङकङ प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
समयमा अस्पताल
पुर्याउन सकिएन
घटनाको करिब तीन घण्टापछि मात्र प्रेमराजलाई अस्पताल पुर्याइएको थियो । प्रहरीलाई फोन गर्दा छोरा गिफ्तारीमा पर्ने डरले प्रेमराजले पीडा सहेर बसेका कारण अत्यधिक रक्तस्राव भयो । अन्य दुई छोरालाई पनि ढिला खवर पुगेकाले समयमै उनको उद्धार हुन सकेन । समयमै खबर गरेर अस्पताल पुर्याइएको भए प्रेमराज बाँच्न सक्थे ।
को हुन् प्रेमराज ?
झापा जिल्ला बिर्तामोड स्थायी घर भएका प्रेमराज लिम्बू हङकङस्थित मङ्कोकमा लामो समयदेखि बसोबास गरिरहेका थिए । प्रेमराजका तीनै जना छोरा हङकङमै छन् । एक्लै बस्ने प्रेमराजका तीनै छोरा फरक–फरक ठाउँमा बसोबास गर्छन् । प्रेमराज र छोरा मचिन्द्रकी श्रीमती भने नेपालमै छन् ।