इन्डियाज् नेक्स्ट टप मोडलमा सविता कार्कीको उपलब्धी
वर्ष २०७४ मा नेपाली मोडलिङ् वृत्तबाट छलाङ् मार्दै एमटिभि इन्डियाज् नेक्स्ट टप मोडल सीजन थ्रीमा प्रतिस्पर्धी बन्न पुगेकी नेपाली रनवे मोडल सविता कार्कीको उपलब्धी गर्व गर्न लायकको रह्यो । इन्डियाज् नेक्स्ट टप मोडल सिजन थ्रीको टप थ्री फाइनलिष्टका रुपमा चयन भएकी काठमाडौंकी सविता कार्की, अहमदाबादकी रिया सुबोध, पुणेकी स्वेता राज मध्ये काठमाडौंकी सविता कार्कीले फस्ट रनर अपको सफलता हात पारेकी थिइन् ।
प्रतियोगितामा रिया सुबोधले उपाधिमा बाजी मार्न सफल भएकी थिइन् भने अर्की भारतीय मोडल स्वेता राजले सेकेन्ड रनर अपमा चिक्त बुझाउनु परेको थियो । नेपाल फेसन सप्ताह देखि क्लासिक डायमन्ड ज्वेलर्सको टाइमलेस पारागन ज्वेलरी फेसन शो जस्ता वृहत् र्याम्प शोमा विरालो चालमा यात्रा तय गरिसकेकी ८ इन्च अग्लो स्लीम फिगर भएकी काठमाडौंकी २३ वर्षिया सविता कहलिएकी र्याम्प सुन्दरी हुन् । इन्डिया नेक्स्ट टप मोडल सीजन थ्रीको फस्ट रनर अप सम्मको यात्रा तय गर्न सफल सविता उक्त कार्यक्रममा सहभागी पहिलो नेपाली मोडल हुन् ।
दुई महिना लामो फेसन, स्टाइल, ग्ल्यामर, मोडलिङ सम्बन्धीत फोटोशुट, च्यालेन्स टास्क, क्याटवाक र समग्र पर्फमेन्सको प्रतिस्पर्धात्मक मोडलिङ आधारित इन्डियाज् नेक्सट टप मोडल सीजन थ्रीको फिनाले सम्पन्न भएको थियो । प्रतियोगिता अन्तर्गतको प्राय: सबैजसो टास्कमा अब्बल देखिएकी सविताको प्रस्तुति, आत्मविश्वास, शैलीबाट कार्यक्रमका निर्णायक निकै प्रभावित भएका थिए । आफ्नो शानदार प्रभावकारी प्रस्तुति दिन सफल इन्डियाज् नेक्सट टप मोडल सीजन थ्रीमा सहभागि नेपाली मोडल सविताले डिसम्बेर ९ तारिखमा प्रशारित श्रृङ्खलामा सहभागिहरुले भैंसीहरुको तबेला भित्र रनवे च्यालेन्ज टास्कमा आफ्नो प्रस्तुति र्दिकी थिईन् ।
यो टास्कमा सविताको आत्मविश्वास पूर्ण प्रस्तुतिको निकै तारिफ भएको थियो । सोही श्रृङ्खलाको अर्काे टास्कमा सहभागीहरुले कार्यक्रम निर्णायक मध्ये एक मलाइका अरोरासंग फोटोसुट गर्नुपरेको थियो । जसमा सहभागिहरुले फोटोसुटको कन्सेप्ट, निर्देशन, कम्पोजिसन र पोज दिनुपर्ने थियो । फोटोसुट डब्बु रतनानीले गरेका थिए । यो टास्कमा सविताको प्रस्तुति र पर्फमेन्सका सम्बन्धमा निर्णायकहरु मिलिन्द सोमन, मलाइका अरोरा र कार्यक्रममा मेन्टर अनुशा डान्डेकरले खुलेरै तारिफ गर्दै आफ्नो स्थानमा उभिएर ताली बजाएका थिए ।
अन्जलीलाई जिक्यु अवार्ड
तेस्रो लिङ्गी नेपाली मोडल अन्जली लामा यो वर्षको अन्त्यतिर चर्चित भारतीय सेलिब्रेटीहरुसंगै जी क्यू स्टाइल अवार्डबाट सम्मानीत भइन् । जिक्यूले पहिलो पटक आयोजना गरेको उक्त स्टाइल अवार्ड अन्तर्गत अन्जलीलाई तेस्रो लिङ्गी भएर पनि विश्व चर्चित मोडलका रुपमा स्थापित भएको भन्दै सो अवार्ड प्रदान गरिएको हो । लामालाई सामाजिक परिवर्तनको प्रतिनिधि, एजेन्ट अफ सोसल चेन्ज अवार्ड प्रदान गरिएको हो ।
दायरा बढाउँदै कोरियोग्राफर
त्यसो त फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार चलचित्र क्षेत्रमा पदापर्ण भएको ‘ऐश्वर्य’ पहिलो चलचित्र होइन । तर चलचित्र ऐश्वर्यबाट भने प्रशान्त ह्यान्डसम भिलेनका रुपमा स्थापित भए । विशेषत: व्यक्तित्व र संवाद बोल्ने शैलीबाट निकै प्रभावशाली देखिएका प्रशान्तको व्यस्तता चलचित्र वृत्तमा बढ्न थालेको देखियो ।
मिस नेपाल प्रारम्भ भएदेखि प्रतियोगिताको कोरियोग्राफरका रुपमा आबद्ध रहँदै आएकी फेसन एवं ब्युटी पेजेन्ट कोरियोग्राफर रचना गुरुङ शर्मा गत माघ महिनामा संचालन भएको कामना फिल्म अवार्ड २०७४ मा सम्मानीत भइन् । उक्त अवार्ड समारोहमा गुरुङ कोरियोग्राफी र फेसनतर्फ क्रिटिक्स अवार्डबाट सम्मानीत भएकी हुन् ।
सम्मानकै प्रसंगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुको कोरियोग्राफीमा झन्डै दुई दशक समय विताइसकेका फेसन कोरियोग्राफी बाहेक मंचीय कार्यक्रम उद्घोषण, फेसन पत्रकारिता, नेपाल भाषा समाचार वाचन, कलेज अध्यापन, पर्सनालिटी ग्रुमिङ लगायतका विधालाई संगसंगै अगाडि बढाइरहेका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानीत भए । उनी वर्ष २०७४ को अर्थात् गत अप्रिल ७ तारिखमा मलेसिया सेलाङगर स्थित प्यालेस अफ द गोल्डेन हर्सेस्मा संचालन भएको द इन्टरनेसनल प्रिस्टिज ब्राण्ड अवार्ड २०१८ अन्तर्गत बेष्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अफ द इयर अवार्डबाट पुरस्कृत भएका हुन् । यो विधामा पुरस्कृत हुने रोजिन पहिलो नेपाली हुन् ।
अन्तर्राष्ट्रिय परिवेशमा संचालन भएका सौन्दर्य प्रतियोगिताहरुमा पनि नेपाली कोरियोग्राफरको उपस्थिति विस्तारै थपिंदै गएको पाइयो । यस अन्र्तगत पूर्व मिस नेपाल माल्भिका सुब्बाले मिस नेपाल युकेका लागि कोरियोग्राफरका रुपमा जिम्मेवारी निर्वाह गरिन् । पूर्व मिस पूर्वाञ्चल प्रिया रानी लामाले जापानमा पहिलो पटक सम्पन्न भएको मिस एण्ड मिसेस् जापान नेपाल २०१८ को कोरियोग्राफरको रुपमा अभिभारा पूरा गरिन् ।
फेसन डिजाइनरहरुको अन्तर्राष्ट्रिय उपस्थिति
अन्तर्राष्ट्रिय रनवे आफ्नो पहिरन प्रस्तुत गर्ने नेपाली फेसन डिजाइनरहरुको व्यस्तता पनि कायमै रह्यो यो वर्ष । गत मार्च महिनामा अमेरिकाको बाल्टीमोरमा संचालन भएको डब्युएनओ रनवे शोमा फेसन डिजाइनरद्वय राजेश धाख्वा र रमिना धाख्वा बज्राचार्यले आफ्ना कलेक्सनहरुको प्रस्तुति दिए ।
गत अगष्ट महिनामा लण्डनमा सम्पन्न भएको एसएम ग्लोबल क्याटवाक लण्डन रिभोलुसन २०१७ मा नेपाली फेसन डिजाइनर पूनम गौतम क्षेत्रीले नेपाली कला संस्कृति झल्किने आफ्नो कलेक्सनलाई सार्वजनिक गरिन् । यस अघि पूनमले सोही परिवेशका आफ्नो सृजनालाई न्युयोर्कमा संचालन भएको एसएम ग्लोबल फेसन शो तथा वल्र्ड फेसन परेडमा आफ्नो सृजनाहरुलाई प्रदर्शन गरेकी थिइन् ।