साप्ताहिक संवाददाता
अभिनेत्री प्रियंका कार्की यतिबेला एउटा सकसमा छिन् । एकातिर उनका बेस्ट फ्रेन्ड निर्देशक मिलन चाम्सको चलचित्र ‘ह्याप्पी डेज’ प्रदर्शनमा आउँदैछ भने अर्कातिर उनकी नजिककी साथी अभिनेत्री केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ प्रदर्शन हुँदैछ ।
रमाइलो संयोग के छ भने दुवै चलचित्र एकै दिन प्रदर्शनमा आउँदैछन् अर्थात् यही शुक्रबार । अझ रमाइलो संयोग के छ भने दुवै चलचित्रमा प्रियंका स्वयं महत्वपूर्ण भूमिकामा छिन् । अघिल्लो वर्ष नै विभिन्न तीनवटा मितिमा प्रदर्शन हुने भनिएको चलचित्र ह्याप्पी डेजले अन्त्यमा आएर वैशाख १४ लाई प्रदर्शन मिति तोकिदियो, जुन मितिमा कोहलपुर एक्सप्रेस प्रदर्शन हुने घोषणा छ महिनाअघि नै गरिएको थियो । हालै आयोजित एक समारोहमा प्रियंकाले आफ्नो मनको वह पोख्दै भनिन्– ह्याप्पी डेजको मिति अझै एक पटक सारेर भए पनि कोहलपुर एक्सप्रेससँग नजुधाउँ भनेर मैले धेरै पटक अनुरोध गरें, तर निर्माताले यो मितिमा पनि प्रदर्शन नभए निर्देशकले सबै पैसा फिर्ता गर्नुपर्ने बताएपछि म चुप लाग्न बाध्य भएँ । आफूले अभिनय गरेका दुई चलचित्र एकै दिन प्रदर्शन हुने भएपछि प्रियंकालाई कुन चलचित्रको पक्षमा धेरै बोल्ने भन्ने कुराले पनि सकस परेको रहेछ । यसबीच प्रियंकाले अभिनय गरेका अन्य दुई चलचित्र शत्रुगते तथा लिलीबिली पनि सिनेमा हलबाट बाहिरिने सम्भावना कमै छ ।