साप्ताहिक संवाददाता
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने नेपाली मूलका पहिलो खेलाडी हुन्— शेरबहादुर लामा । उनी सुनिल नामले बढी चिनिन्छन् । उनले हङकङका लागि वान डे खेलेका हुन् । यतिबेला उनी काठमाडौंमा छन् । जगत टमाटा र विनोद दाससँगै आईसीसीको कोच लेभल–थ्री गर्ने उनी पहिलो पुस्ताका प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा टिम चौराह धनगढीले हालै सम्पन्न धनगढी प्रिमियर लिग (डीपीएल)–टु जितेको थियो । उपाधि जितेसँगै उनका अबका योजना के छन् त ? लामासँग साप्ताहिकको पाँच प्रश्न :
प्रशिक्षकका रूपमा आफ्नो टिमले डीपीएल–टु जित्दा कस्तो लाग्यो ?
आफ्नो प्रशिक्षणमा रहेको टिमले जितेपछि खुसी लाग्नु स्वभाविक हो । यसअघि मैले बालुवाटारलाई खुकुरीकप ट्वान्टी–२० उपाधि पनि दिलाइसकेको थिएं ।
प्रतियोगितामा टिम चौराहको प्रदर्शन कस्तो रह्यो ?
मेरो विश्लेषणमा पूरा प्रतियोगितामा हाम्रो टिम र खेलाडीले राम्रो प्रदर्शन गरे । फाइनलमा उनीहरूले जे गर्नु पर्ने थियो, त्यही गरे । सबैले योजनाअनुसार खेले, त्यसैले हामी सफल भयौं ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी रोहन मुस्तफाको प्रदर्शन कस्तो रह्यो ?
हाम्रो टिम एक खास खेलाडीको प्रदर्शनमा मात्र टिकेको थिएन । प्रत्येक खेलमा कुनै न कुनै खेलाडीले राम्रो गरे ।सबै खेलाडीको योगदान रह्यो । त्यसमध्ये रोहन मुस्तफाको प्रदर्शन विशेष रह्यो । उनी युएईका कप्तान हुन् । टिमको उपाधि यात्रामा उनको विशेष योगदान रहेको स्वीकार गर्नुपर्छ ।
अबको योजना के छ ?
ठोस योजना बनाएको छैन । सबै खाले सम्भावना खुला छन् । खासमा म मौकाको प्रतीक्षामा छु ।
नेपाली क्रिकेटमा ठूलो अवसर पाए के त्यसका लागि तयार हुनुहुन्छ ?
निश्चित रूपमा । मैले भविष्यमा जे–जस्तो अवसर पाउने छु, त्यसमा आफूलाई प्रमाणित गर्नेछु ।