साप्ताहिक संवाददाता
एक वर्षअघि बेलायतमा नेपाली युवा–युवतीहरूलाई समेटेर एउटा नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त प्रतियोगिताका उद्घोषक थिए– सञ्चारकर्मी नरेश भट्टराई । विदेशमा बसोबास गरिरहेका नेपाली युवा–युवतीहरूको नृत्यलाई नजिकबाट नियाल्ने क्रममा नरेशको आँखा एउटी प्रतिस्पर्धी युवतीमाथि पर्यो, जसले एउटा नेपाली गीतमा कलात्मक नृत्य प्रस्तुत गरेकी थिइन् ।
सुन्दर मुहारकी ती युवतीलाई नरेशले अभिनयमा रुची छ कि छैन ? भन्ने जिज्ञासा राखे । उनले अभिनयमा रुचि भएको कुरा सुनाएपछि नरेशले निर्देशक मिलन चाम्ससँग उनको भेट गराए । निर्देशकसँग भेट भए लगत्तै ती युवती अर्थात् जसिता गुरुङ चलचित्र ‘लिलिबिली’ का लागि अनुबन्धित भइन् ।
स्कटल्यान्डमा छायांकन गरिएको उक्त चलचित्र एक सातादेखि सिनेमा हलमा प्रदर्शन भैरहेको छ । चलचित्र हेर्ने दर्शक तथा समीक्षकले जसिताको अभिनय, सौन्दर्य तथा व्यक्तित्वको खुलेर प्रशंसा गरिरहेका छन् । पहिलो चलचित्रबाटै प्रसस्त प्रशंसा बटुलेकी जसिताले अब बेलायतको बसाइ छोट्याएर नेपाली चलचित्रमै समय दिने निर्णयसमेत गरिसकेकी छिन् ।