साप्ताहिक संवाददाता
फेसबुकबाट प्रयोगकर्ताको तथ्यांक दुरुपयोग भएको घटनापछि अहिले फेसबुकले तथ्यांक दुरुपयोग हुन नदिन विभिन्न उपाय अवलम्बन गर्न थालेको छ ।
भर्खरै फेसबुकले डाटा एब्युज बन्टी सार्वजनिक गरेको छ, जसमार्फत फेसबुकले ती व्यक्तिलाई इनाम दिनेछ, जसले फेसबुक एपमार्फत तथ्यांकको दुरुपयोग भएको जानकारी प्रदान गर्छन् । प्रयोगकर्ताको तथ्यांकको दुरुपयोग नहोस् भनेर थालिएको फेसबुकको यो अभियान फेसबुककै अघिल्लो एवम् अहिले पनि चलिरहेको बग बन्टी प्रोग्रामबाट प्रभावित छ । बग बन्टी प्रोग्राममार्फत फेसबुकले सुरक्षाका विभिन्न विषयमा ध्यान दिने गरेको छ ।
यो कार्यक्रममा फेसबुकले ती व्यक्तिलाई इनाम प्रदान गर्नेछ, जसले सबैभन्दा पहिले सप्रमाण कुनै पनि एपले प्रयोगकर्ताको विवरण संकलन गरेर दुरुपयोग गरेको जानकारी फेसबुकलाई रिपोर्ट गर्छन् । यद्यपि पुरस्कार रकम भने उल्लेख गरिएको छैन । कुनै फेसबुक एपले प्रयोगकर्ताको तथ्यांक संकलन गरी अरू कसैलाई बेचेको, राजनैतिक प्रभाव पार्न प्रयोग गरेको फेला परेमा त्यस्ता एपविरुद्ध रिपोर्ट गर्न सकिन्छ । तथ्यांक संकलनपछि दुरुपयोग भएको प्रमाणित भए तथ्यांक संकलन गर्ने एपमाथि प्रतिबन्ध लगाउनुका साथै आवश्यक कानुनी कदमसमेत चालिनेछ ।
कस्तो उजुरी गर्नेले इनाम पाउँछन् ?
तथ्यांकको दुरुपयोग गर्ने एपको उजुरी गर्दा ती व्यक्तिले इनाम पाउनेछन्, जहाँ उजुरी गरेको एपको कम्तीमा १० हजारभन्दा बढी प्रयोगकर्ता हुन्छन् र ती १० हजार प्रयोगकर्ताको तथ्यांक दुरुपयोग हुने सम्भावना हुन्छ । प्रयोगकर्ताको तथ्यांक संकलन मात्र गर्ने एपलाई तबसम्म कुनै असर गर्नेछैन, जबसम्म उसले संकलित तथ्यांकको दुरुपयोग गर्दैन । त्यस्तै उजुरी दिने व्यक्तिको उजुरी पहिलो हुनुपर्छ । यदि फेसबुकले छानबिन गरिरहेकै एप र विषयमाथि पुन: रिपोर्ट गरिएमा उजुरीकर्ता इनाम प्राप्त गर्न योग्य हुँदैन ।
कहाँ उजुरी दिने ?
कुनै एपले प्रयोगकर्ताको तथ्यांक दुरुपयोग गरेको छ भन्ने लागे https://www.facebook.com/data-abuse/report/ मा गएर फेसबुकलाई रिपोर्ट गर्न सकिन्छ । उजुरी गर्दा तपाईंले आफ्नो नाम फेसबुकलाई भन्नुपर्ने छ भने कुन एपले तथ्यांकको दुरुपयोग भएको उजुरी दिँदै हुनुहुन्छ, त्यसको जानकारी पनि फेसबुकलाई प्रदान गर्नुपर्छ । अनुमानित कति जना फेसबुक प्रयोगकर्तालाई त्यसले असर गरेको छ, त्यो जानकारी पनि फेसबुकलाई दिनुपर्छ ।
एप बनाउने डेभलपरले संकलन गरिएका तथ्यांकलाई के गरिरहेको छ ? उसको उद्देश्य के हो ? आफूलाई थाहा भएको सम्पूर्ण जानकारी रिपोर्टमा उल्लेख गर्नुपर्छ । त्यस्तै कस्तो प्रकारको तथ्यांक संकलन भएर दुरुपयोग भएको छ, जस्तै : नाम, इमेल, फोन नम्बर, त्यसको जानकारी पनि प्रदान गर्नुपर्छ ।
फेसबुकको तथ्यांक सुरक्षासम्बन्धी केही कार्य :
मार्च २८ देखि फेसबुकले प्रयोगकर्ताको गोपनियता लागि प्राइभेसी सर्ट–कट न्युज फिडको सबैभन्दा माथि र सहजै भेटिने गरी राखेको छ ।
अप्रिल ८ देखि फेसबुक एपमार्फत संकलित हुने तथ्यांकको संख्या घटाएको छ ।
अप्रिल १० देखि डाटा एब्युज बन्टी कार्यक्रममार्फत एप डेभलपरले कुनै तथ्यांकको दुरुपयोग गरे उजुरीकर्तालाई इनाम प्रदान गर्ने घोषणा गरिएको छ ।