माघमा संयुक्त अरब इमिरेट्स (युएई) बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साढे ३३ किलो तस्करीको सुन काठमाडौं भित्रियो । विमानस्थलको कडा सुरक्षा घेराबाट पार गराइएको सुन काठमाडौं त झर्यो, तर त्यसपछि उक्त सुन सम्बन्धित व्यक्तिसम्म नपुगेर बीचमै हरायो ।
त्यसयता सुनसँग जोडिएका एक जनाको हत्या भएको छ भने दुई जनाले आत्महत्या गरेको भनिएको भएपनि उनीहरूको शंकास्पद मृत्युको कारण खुल्न सकेको छैन् । यो सुन तस्करी प्रकरणसँग जोडिएर ‘हाइप्रोफाइल’ प्रहरी अधिकारीदेखि केही कहलिएका ब्यवसायीहरू पनि अनुसन्धानमा तानिएका छन् । हराएको साढे ३३ किलो सुन अहिलेसम्म फेला परेको छैन् ।
तस्करीको सुन तोकिएको व्यक्तिसम्म नपुगी बाटैमा हराएपछि घटनाले नाटकीय मोड लियो । त्यसपछि तस्करीमा संलग्न गिरोहले सुन खोज्ने नाममा ओसार–पसारमा संलग्न एकजनाले टर्चरका कारण आत्महत्या गर्न बाध्य भए भने अर्का एकजना भरियाको यातनाका कारण मृत्यु हुन पुग्यो । शंकास्पद रुपमा पक्राउ परेका एक जनाले प्रहरी हिरासतमा आत्महत्या गरेको बताइएको छ । तर, उनको पनि हत्याको कारणबारे छानविन भइरहेको छ ।
१८ फागुनमा सुन तस्करीका भरिया सनम शाक्यको हत्यासँगै उक्त ठूलो परिमाणको सुन तस्करीसम्बन्धी घटना सार्वजनिक भएको थियो । त्यसपछि विमानस्थलमा संगठित रूपमा सेटिङ मिलाएर काठमाडौंमा ठूलो परिमाण सुन भित्र्याइएको घटनामाथि अनुसन्धान अघि बढ्यो । झन्डै दुई महिनाको अनुसन्धानपछि उक्त घटनाको लहरो हाइप्रोफाइल व्यवसायीदेखि उच्च प्रहरी अधिकारीसम्म जोडिन पुग्यो ।
भरियाको हत्या र सुन तस्करीमाथि अनुसन्धान गर्न सुरुमा प्रहरी प्रधान कार्यालयले डिआईजी पुष्कलराज रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएको थियो, तर उक्त सुन तस्करीमा केही उच्चपदस्थ प्रहरी अधिकृतहरूको पनि संलग्नता हुन सक्ने सम्भावना देखिएपछि नेपाल सरकारले सहसचिव ईश्वर पौडेलको नेतृत्वमा सुन तस्करी र भरिया हत्या प्रकरणको छानबिन गर्न विशेष छानबिन समिति बनायो ।
उक्त समितिले तस्करहरूसँग मिलेमतो गरेर सुन भित्र्याइएको निष्कर्ष निकाल्दै त्रिभुवन विमानस्थलका तत्कालीन प्रहरी प्रमुख डिआईजी गोविन्द निरौलालाई पक्राउ गरिसकेको छ । निरौला सुनकाण्डमा जोडिएर पक्राउ पर्ने अहिलेसम्मकै उच्च प्रहरी अधिकारी हुन् । वैशाख ९ गते पक्राउ परेका निरौलाको सम्बन्ध उक्त सुन तस्करी काण्डका मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती ‘गोरे’सँग रहेको छानबिन समिति स्रोत बताउँछ । गोरे नेपालमा सुन तस्करीका मास्टरमाइन्ड मानिन्छन् । विगत ७ वर्षदेखि सुन तस्करीमा सक्रिय गोरेको सम्बन्ध प्रहरीका उच्च अधिकारीहरूसँग रहेकाले उनी सेटिङमा सुन नेपाल भित्र्याउन संगठित रूपमा सक्रिय रहेको बताइन्छ ।
सम्भवत: अहिलेसम्मकै सबैभन्दा बढी मानिस मुछिएको सुन तस्करीको यो घटनामा अहिलेसम्म २६ जना पक्राउ परिसकेका छन् भने २१ जनालाई प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै, सरकारले बनाएको समितिले सुन तस्करीमा संलग्न रहेको आशंकामा ३८ जनाको बैंक कारोबार तथा खाता रोक्का गरिदिएको छ । अनुसन्धान सफल भए यो सूचीमा थप केही हाइप्रोफाइल नाम सामेल हुने अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।
डेढ महिनापछि ट्वीस्ट
माघको दोस्रो साता ल्याइएको तस्करीको सुन हराएपछि फागुन १५ गते सुन लुकाएको आशंकामा तस्कर गिरोहले तीनजना भरिया उर्लाबारी, मोरङका सनम शाक्य, मोहन काफ्ले र कृष्ण भनिने नरेन्द्र कार्कीको अपरहण गर्यो । अपहरणपछि विराटनगर पुर्याइएका उनीहरूलाई पोल खोल्न दबाब दिँदै करेन्ट लगाएर यातना दिने क्रममा सनम शाक्यको मृत्यु भयो । उनको शवलाई व्यवस्थापन गर्ने जिम्मेवारी काभ्रेका ड्राइभर टेकराज मल्ल तथा अपहरण गरिएका अन्य दुई जना भरियालाई दिइएको थियो ।
यातनाका क्रममा मृत्यु भएका सनम शाक्यको शव लुकाउन लैजाने क्रममा १९ फागुनमा महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौं र मोरङबाट खटिएको टोलीले विराटनगर, पोखरिया कन्या मार्गबाट बरामद गरेको थियो । मुलुकभित्रै शव ‘डिस्पोज’ गर्दा घटनाबाहिर आउने डरले घटनामा संलग्नले शव नेपाली सीमा कटाएर भारतमा ‘डिस्पोज’ गर्न खोजेका थिए । प्रहरीले स्कोरपिओ र त्यसकै पछाडि गुडिरहेको मे १ च ५३९५ नम्बरको टाटा गाडीलाई नियन्त्रणमा लिएर शव ‘डिस्पोज’ गर्न हिँडेका तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
मल्लले चलाएको बा १२ च ५९६३ नम्बरको स्कोरपिओ चालक काभ्रेका मल्ल, मोहन र नरेन्द्र पक्राउ परे । सोही स्कारपियो जिपको डिक्कीमा तौलिया र मेट्रेसले बेरेको अवस्थामा सनमको लास भेटियो । तिनै जनालाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा साढे ३३ केजी सुन तस्करीको रहस्य सतहमा आयो । मोरङका एसपी अरुणकुमार बिसीका अनुसार हत्या गरिएका शाक्यसहित काफ्ले र कार्कीलाई उप्रेतीले लामो समयदेखि सुन तस्करीमा सहयोग गर्ने भरियाका रूपमा प्रयोग गरिरहेको खुलेको छ ।
महानगरीय अपराध महाशाखाका डिएसपी प्रजित केसीको नेतृत्वमा सई बालकृष्ण सन्जेलसहित विराटनगर पुगेको टोलीले धरानमै उक्त लास पक्राउ परे पनि विराटनगर पुर्याउन सहयोगी भूमिका खेलेको आरोप लागेको छ । अपराध महाशाखाले कार्यक्षेत्र नाघेको विषयमा पनि छानबिन समितिमा कुरा उठेको छ । यद्यपि छानबिन समितिलाई महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख दिवेस लोहनीले प्रहरी प्रधान कार्यलयको आदेशमा आफूहरूको टिम विराटनगर पुगेको बयान दिएका छन् ।
उच्च प्रहरी अधिकारी पनि तानिए
सुन तस्करीमा अनुसन्धानका क्रममा तत्कालीन डिआईजी, बहालवाल एससपी, डिएसपी र सईसमेत यो घटनामा तानिएका छन् । घटनालाई ढाकछोप गर्न र सुन तस्करलाई लुकाउन प्रहरीले महत्वपूर्ण भूमिका खेलेको आरोप छ ।
छानबिनका क्रममा प्रहरीले विमानस्थलमा कार्यरत तत्कालीन डिआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ । सुन तस्करीका मास्टरमाइन्ड गोरेसँग सम्बन्ध देखिएपछि उनलाई बयानका लागि विराटनगर लगिएको छ । बयानका क्रममा निरौलाले गोरेसँग आफ्नो पारिवारिक सम्बन्ध भएका कारण सम्पर्कमा रहेको बताएका छन् ।
घटनामा मुछिएपछि मंगलबार मकवानपुरका एसपी विकासराज खनाललाई समेत पक्राउ परेका छन् । स्रोतकाअनुसार विकास प्रहरी हेडक्वार्टरमा तान्ने तयारी भइरहेकै बेला पक्राउ परेका हुन् । यस्तै, मंगलबारै बयानका लागि बोलाइएका डिएसपी सन्जय राउत फरार भएका छन् । उनलाई समितिकै केही सदस्यले रहस्यमय तरिकाले भगाएको गृहका एक अधिकारी बताउँछन् । उनीहरू दुवैको गोल्ड डन भनिने गोरेसँगको सम्पर्क भेटिएको समिति स्रोतको दाबी छ ।
यस्तै, कार्यक्षेत्र बाहिर गएर अनुसन्धानमा संलग्न भएकोमा शंकास्पद देखिएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी तथा सईद्वय बालकृष्ण सञ्जेल र गजेन्द्र रावल हेडक्वार्टरमा तानिएका छन् । महाशाखाबाट हेडक्वार्टर तानिएका उनीहरू चारै जनासँग गृहको छानबिन समितिले बयान लिइरहेको छ । सई सञ्जेल र गोरेबीच मामा–भान्जाको साइनो रहेको बताइन्छ । अहिले सईद्वय सन्जेल र रावललाई प्रहरी हिरासतमा राखेर छानविन भैरहेको छ । गृह स्रोतका अनुसार प्रहरीका थप केही उच्च अधिकारी पनि यो घटनामा तानिन सक्ने सम्भावना छ ।
दुई छानबिन समिति
३३ किलो सुन तस्करी र सनम शाक्य हत्यापछि प्रहरी प्रधान कार्यलयले डिआईजी रेग्मीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनायो । सुन तस्करीमा प्रहरीको पनि संलग्नता हुन सक्ने भन्दै सरकारले सहसचिव ईश्वर पौडेल नेतृत्वको नौ सदस्यीय छानबिन समिति बनाएको छ । समितिले पहिलो चरणको छानबिन सकेर दोस्रो तहमा छानबिनको प्रक्रिया अगाडि बढाएको छ । स्रोतकाअनुसार प्रहरीको छानविन समितिले हत्या तथा तस्करीसँग जोडिएको घटनालाई निष्पक्ष रुपमा छानविन गर्न नसक्ने देखिएपछि सरकारले अर्को समिति बनाएको हो ।
सरकारले समिति बनाउनुपूर्व विमानस्थलमा वर्षौदेखि हुने ठूलो मात्राको सुन तस्करीका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई राखेर प्रहरीका एकजना डिएसपीले प्रिजेन्टेसन नै दिएका थिए । प्रधानमन्त्री ओली र गृहमन्त्री थापा उनको प्रिजेन्टेसनबाट कन्भिन्स भएपछि छानविन समिति बनाइएको हो । स्रोत भन्छ, ‘प्रधानमन्त्रीले नै जो तानिए तानिन्छन्, समिति बनाएर निष्पक्ष अनुसन्धान गर्नुहोस भनेपछि यो अनुसन्धान यति अगाडि बढेको हो ।’ त्यही प्रिजेन्टेसनपछि गृहमन्त्री थापाले टनका टन सुन विमानस्थलबाट तस्करी हुने कुरा सार्वजनिक रूपमा बताएका थिए ।
मुख्य रुट
नेपालमा युएई, कतार, हङकङ र चीनबाट सुन तस्करी हुने गरेको छ । प्रहरीका अनुसार सुन तस्करीमा तीनवटा लेयरमा हुन्छ । पहिलो लेयरमा भएका मालिकहरूले माथि उल्लेखित देशहरूबाट सुन काठमाडौंसम्म पुर्याउँछन् । त्यसपछि काठमाडौंमा रहेका स्थानीय भरियाहरू सक्रिय भएर सुन नेपाली पसल तथा भारतको सिमानासम्म पुर्याइन्छ । नेपाली बजारमा मागअनुसार पर्याप्त सुन आपूर्ति नहुने हुँदा केही यहींका व्यापारीले उक्त सुन किन्छन् । यद्यपि नेपाली बजारभन्दा सुन तस्करहरूको आँखा भारतीय बजारमा हो । त्यहाँ सुन पुर्याउन सुनवल, वीरगन्जजस्ता खुला सिमानाको फाइदा उठाइन्छ ।
अबुधावी–काठमाडौं–भारत
तिब्बत–तातोपानी–काठमाडौं–भारत
तिब्बत–केरुङ–काठमाडौ–भारत
सेटिङ भत्काउन
कर्मचारी सरुवा
गृहमन्त्री रामबहादुर थापाले मन्त्री भएलगत्तै विमानस्थलबाट ‘टनका टन सुन तस्करी’ हुने भनाइ सार्वजनिक गरे । गृहकै जिम्मेवारी सम्हालेका मन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि उनको आलोचनासमेत भयो । कतिपयले त गृहमन्त्रीको उक्त भनाइलाई लोकप्रिय बन्ने माध्यमसमेत भने ।
गृहमन्त्रालय निकट स्रोतका अनुसार त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन भित्रिने गृहमन्त्रीको भनाइ पपुलिस्ट हुनका लागि मात्र थिएन । त्यसमा सत्यतासमेत रहेको गृहस्रोत बताउँछ । पछिल्लो अनुसन्धानका क्रममा पनि करोडौं मूल्यको सुन विमानस्थलबाट सेटिङमार्फत भित्रिने देखिएको छ । गृहमन्त्री थापाको आग्रहमा विमानस्थलका २३ जना कर्मचारीलाई राजधानी बाहिर सरुवा गरिएको छ । त्यसअघि सामान्य प्रशासनले पनि सेटिङको जालो भत्काउन ३० जना कर्मचारीलाई बाहिर सरुवा गरेको थियो । ‘अहिले विमानस्थलमा रहेको सुन तस्करीको सेटिङ लगभग ध्वस्त भएको छ,’ गृहका एक उच्च अधिकारी भन्छन्, ‘अहिले मालपोल, नापी आदि मालदार ठाउँमा नबसेका कर्मचारीलाई विमानस्थलमा पठाइएको छ ।’
अनौठा शैली
सुन तस्करीमा अनौठा शैलीहरू प्रयोग हुन थालेको घटनाक्रमले देखाउँछन् । ५ वैशाखमा ६० तोला सुनसहित एक भारतीय नागरिक विमानस्थलमा पक्राउ गरे । झन्डै करिब ३४ लाख बराबरको उक्त सुन उनले जुत्तामा लुकाएर ल्याएका थिए । त्यसको चार दिनपछि ९ वैशाखमा भारतीय नागरिक महेश रामचन्द्रम २ किलो झोल सुनसहित पक्राउ परे । उनले दुबईबाट आफूले लगाएको बेल्टमा उक्त झोल सुन ल्याएका थिए । यसअघि केरुङतिरबाट सुन तस्करी गर्नेहरूले गाडी तथा मोटरसाइकलमा लुकाएर सुन ल्याउने गरेका थिए भने त्रिवि विमानस्थलबाट लगेजहरूमा विभिन्न शैलीमा सुन ल्याइँदै आएको छ ।
तीन जनाको मृत्यु
कुनै फिल्मजस्तो लाग्ने सुन तस्करीको यो घटना विभिन्न ‘ट्विस्ट र टर्न’ले जेलिएको छ । सुन लुकाउनेहरूसँग मिलेको आशंकामा सनमलाई अपहरण गरेर सुन तस्करहरूको गिरोहले कुरा खोल्न करेन्ट लगाएका थिए । त्यही क्रममा उनको मृत्यु भएको थियो ।
सनमको हत्यासँगै सुन तस्करी काण्डसँग जोडिएका शंकास्पद थप दुई जनाले समेत ज्यान गुमाइसकेका छन् । सुन तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीले ३० चैतमा सिंहदरबार वृत्तको प्रहरी हिरासतमै रहस्यमय तरिकाले आत्महत्या गरे । घटनामा संलग्न भनिएका थाइ एयरवेजका वरिष्ठ टेक्निसियन सानु बनको भने २२ माघमा त्रिभुवन विमानस्थलमा गुडिरहेको टंयाकरले कुल्चिएर रहस्यमय मृत्यु भएको थियो । ती दुवै प्रकरण हत्या वा दुर्घटना के हो ? रहस्यमै छ ।
२६ जना पक्राउ
सनम हत्या तथा तस्करीमा संलग्न २६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ, जसमा प्रहरीका उच्च अधिकारीदेखि राजनीतिक दलका नेतासम्म छन् । प्रहरीले तत्कालीन विमानस्थलको सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला, बहालवाला एसपी विकासराज खनाल र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पक्राउ गरेर अनुसन्धान जारी राखेको छ । गुरुङले तस्करीका लागि विमानस्थलमा सेटिङ मिलाउन भूमिका खेलेको र निरौलाको सुन तस्कर गोरेसँग सम्पर्क देखिएपछि पक्राउ गरिएको बताइएको छ । १७ फागुनमा धरानको जंगलमा मारिनुअघि सनमले बोलेको भिडियोमा पनि निरौलाको नाम लिइएको प्रहरी निकट स्रोत बताउँछ ।
पक्राउ परेकाहरु
१. चाचाजी भनिने महावीर गोल्यान
२. सम्रवीरप्रसाद तोलाङ्गे
३. माधव भनिने मदनप्रसाद घिमिरे
४. गोपालकुमार श्रेष्ठ
५. दोराम खत्री
६. बालकृष्ण श्रेष्ठ
७. वीरेन्द्रमान श्रेष्ठ
८. लाक्पा शेर्पा
९. कपिलराज पुरी
१०. हेमन्त गौतम
११. पूण्यप्रसाद लामा(तक्लु)
१२. एलबी मगर
१३. राजु मर्हजन
१४. भुजुङ गुरुङ
१५. टेकराज मल्ल ठकुरी
१६. मोहन काफ्ले
१७. नरेन्द्र कार्की ‘कृष्ण’
१८.अमरमान डंगोल
१९. तुलराम थारु
२०. राजेन्द्र कुँवर
२१. राजेन्द्र शाक्य
२२. राजनकुमार
पक्राउ परेका प्रहरी
२३. गोविन्द निरौला (पूर्व डिआईजी)
२४. विकासराज खनाल— एसपी
२५. बालकृष्ण सन्जेल— सई
२६. गजेन्द्र रावल— सई
अनुसन्धानमा तानिएका
प्रहरी अधिकारी
१. दिवेस लोहनी— एसएसपी
२. श्याम खत्री— एसएसपी
३. प्रजित केसी— डिएसपी
४. सञ्जय राउत– डिएसपी (फरार)
३८ जनाको सम्पत्ति रोक्का
प्रहरीले चैत २६ गते अनुसन्धानका लागि ३८ जनाको सम्पूर्ण कारोबार रोक्का गर्न अदालतसँग आदेश मागेको थियो । अदालतले चैत २६ गते नै अनुसन्धानका लागि ३८ जनाको बैंक खाता, जग्गालगायत सम्पत्ति रोक्का गर्न संगठित अपराध निवारण ऐन २०७० को दफा १६ अनुसार अदालतले रोक्का गर्न अनुमति दिएको हो ।
पक्राउ परेका २२ सहित प्रहरीको खोजी सूचीमा रहेका चूडामणि उप्रेती (गोरे), रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मियाँ (रुस्तम), भविन राई (बोलाउने नाम भविन तामाङ), कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतमको सम्पूर्ण कारोबार रोक्न अदालतले अनुमति दिएको हो ।
प्रहरीको खोजीमा रहेकाहरु
१. मोहनकुमार अग्रवाल (एमके)
२. चूडामणि उप्रेती (गोरे)
३. रमेश उप्रेती
४. नर्वदा खरेल उप्रेती (नीरु)
५. दुर्गा खरेल (उप्रेती)
६. भीमकुमारी खरेल
७. डोलेन्द्रप्रसाद खरेल
८. कृष्ण बस्नेत
९. मोहमद उस्ताम मियाँ (रुस्तम)
१०. भविन राई (बोलाउने नाम भविन तामाङ)
११. कमल कार्की
१२. सन्दीप खड्का
१३. चेतन भण्डारी
१४. सुनिल अग्रवाल
१५. प्रमोद श्रेष्ठ
१६. रोहित आचार्य
१७. दावा शेर्पा
१८. भोजराज भण्डारी
१९. रक्षा भण्डारी
२०. प्रयास पराजुली
२१. सुरेन्द्र गौतम
को हुन गोल्ड डन ‘गोर’ ?
उर्लाबारीका चूडामणि उप्रेतीलाई ‘गोरे’ का रूपमा चिनिन्छ । सुन तस्करी काण्डमा उनलाई प्रहरीले मोस्टवान्टेडको सूचीमा राखेर खोजी गरिरहेको छ । चूडामणि सात वर्षदेखि सुन तस्करी सक्रिय रहेको प्रहरी बताउँछ ।
हत्या गरिएका शाक्य र पक्राउ परेका काफ्ले तीन वर्षदेखि गोरेको सहयोगीका रूपमा कार्यरत थिए । कार्की भने एक वर्षदेखि उनको गाडी चालकका रूपमा कार्यरत थिए । उप्रेती पूर्व फुटबलर पनि हुन् । फुटबल खेल्न छाडेर उनी भारतीय सेनामा भर्ना भए । त्यसपछि उनी नेपाल फर्केर नेपाली सेनामा पनि कार्यरत रहेका थिए । तर, त्यहाँबाट भागेर उनी दुबईको अवुधावी पुगेर त्यहाँको प्रहरीको काम गर्न थाले । त्यही क्रममा उनको सुन माफियासँग सम्पर्क भएको बताइन्छ ।
उनका बारेमा जानकारी राख्ने एक युवाका अनुसार पाँच वर्ष दुबई बसेर उनी त्यहींबाट सुन तथा हुन्डीको कारोबारमा संलग्न हुन थाले । त्यसपछि नेपाल फर्किएर दुबई, सिंगापुर आदि मुलुकबाट पठाइएका सुन नेपालका विभिन्न ठाउँमा सप्लाई गर्ने धन्दामा समेत उनको सक्रियता रहँदै आएको बताइन्छ ।
‘पहिले उहीं बसेर सुन पठाउने काम गरेको पाइयो,’ घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘पछि ऊ आफैं नेपाल फर्किएर सुन तस्करी गर्न थालेको पत्ता लाग्यो ।’ स्रोतका अनुसार मोस्टवान्टेड हुँदाहुँदै पनि प्रहरीका उच्च अधिकारीहरूसँग पनि उनको बाक्लो उठबस थियो ।
नोट:
साप्ताहिकको प्रिन्ट संस्करणको पहिलो पृष्ठमा सुन तस्करीको सम्बन्धी समाचारमा मृतक सनम शाक्यको तस्वीरमा प्राबिधिक त्रुटि बस युएस–बंगलाबिमान दुर्घटनामा पर्नु भएका राजधानीका पर्यटन ब्यबसायी सनम शाक्यको तस्बिर पर्न गएकाले साप्ताहिक दुख व्यक्त गर्दछ । यसबाट युवा ब्यबसायी सनमका परिवारजनमा पर्न गएको असरप्रति साप्ताहिक क्षमा चाहन्छ । आगामी दिनमा यस्ता भूलहरु नदोहोर्याउने प्रतिवद्धता गर्दछौं ।