नेपालको राजनीतिमा त्यस्ता धेरै अनुहार छन्, जसलाई धेरैजसोले नेताका रूपमा राम्रैसँग चिन्छन् । फरक यति मात्र हो, केही नेता निकै चर्चित छन् केही कम । जो राजनीतिमा होमिए उनीहरूका पनि व्यक्तिगत चाहनाहरू थिए । जस्तै— कलाकार बन्ने, डाक्टर बन्ने, पाइलट बन्ने अथवा बिजनेस म्यान बन्ने आदि । नेपालको राजनीतिक रंगमञ्चमा जमेका र दिनहुँजसो मिडियामा आउने, टिभीमा देखिरहने ती केही अनुहार साँच्चिकै चलचित्रको पर्दामा आउन चाहन्थे, जुन सम्भव हुन सकेन । कुराकानी सुरु गरौं, स्वर्गीय नेता सुशील कोइरालाको प्रसंगबाट ।
तत्कालीन राजा महेन्द्रले ०१७ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरी निरंकुश पञ्चायती व्यवस्था लागू गर्दा देशबाट प्रजातन्त्र मात्र लुटिएन, नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सपना समेत तुहियो । त्यतिबेला कोइराला कांग्रेसका सामान्य सदस्य मात्र थिए । आफ्नो राजनीतिक भविष्यका सम्बन्धमा न उनले कुनै कल्पना गरेका थिए, न नेता बन्ने कुनै सपना नै पालेका थिए । भर्खरका लक्का जवान कोइराला पर्दाको हिरो बन्न चाहन्थे, त्यो पनि कलिउडको होइन, हलिउडको । त्यसको प्रारम्भिक तयारी स्वरूप कोइरालाले भारतमा नृत्य तथा फोटोग्राफीको प्रशिक्षण पनि लिए । ‘हिरो’ बन्ने सपना पूरा गर्न हलिउडतिर हान्निने अन्तिम तयारीमा थिए कोइराला । उनले अमेरिकाको भिसासमेत लिइसकेका थिए ।
१ पुस ०१७ मा राजा महन्द्रले ‘कु’ गरेपछि कोइरालाको सपनामाथि बज्रपात भयो र हिरो बन्न तम्तयार यी नेता राजनीतिमा होमिए । उनलाई नजिकबाट जान्नेहरूका अनुसार राजा महेन्द्रले दुई महिनापछि मात्र ‘कु’ गरेका भए सुशील अमेरिका पुगिसकेका हुन्थे र, सम्भवत: हलिउडमा जमिरहेका हुन्थे । राजनीतिमा त बाध्यताले मात्र होमिएको कोइराला आफैंले बताइसकेका छन् । ७८ वर्षीय अविवाहित कोइरालाको हिरो बन्ने सोच र योजनाका सम्बन्धमा उनकै धेरै कार्यकर्तालाई जानकारी थिएन ।
स्वर्गीय नेता कोइरालासँग लामो संगत गरेका कांग्रेस नेता पुरुषोत्तम बस्नेतका अनुसार रंगमञ्च र फोटोग्राफी सुशीलको पहिलो रोजाइ थियो । तपार्इं राजनीतिमा नआएको भए कुन पेसामा हुनुहुन्थ्यो भन्ने प्रश्नमा कोइरालाले भनेका थिए, ‘म हिरो हुन्थे, हलिउडका चलचित्रमा अभिनय गर्ने इच्छा थियो । राजनीति मेरो पहिलो रोजाइ थिएन ।’
नेपाली कांग्रेसका प्रभावशाली नेता मानिन्छन्– बालकृष्ण खाँड । उनी पटक–पटक मन्त्री भैसकेका छन् । नेता खाँडलाई सानो उमेरमा चलचित्रतिर लाग्न धेरैले आग्रह गरेका थिए । ०१७ सालमा स्याङ्जामा जन्मिएका खाँड २०३३ सालमा राजनीतिमा प्रवेश गरे पनि बीचमा उनको मनमा चलचित्र नायकका रूपमा काम गर्छु भन्ने सोच नआएको होइन । खाँडले हाँस्दै भने, ‘रंगमञ्चमा लागौं, हिरो बनौं, रंगीन दुनियाँमा सक्रिय हौं भन्ने खालको इच्छा भएको हो ।
मैले गाउँमा हुने विभिन्न नाटकमा कलाकारका रूपमा काम पनि गरें, तर राजनीतिमा लागे पछि भने त्यो रहर दिगो हुन सकेन । २०३३ तिर राजनीतिमा प्रवेश गरेका खाँड २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित भए । दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । युवा उमेरमै राजनीतिमा लागिसकेका खाँडले गाउँघरमा विभिन्न क्लबले आयोजना गर्ने कार्यक्रममा नाटक देखाउने, नायकको रहर पूरा गर्ने आदि काम गरे पनि राजनीतिले उनको त्यो मोह त्याग्न बाध्य बनायो । खाँड भन्छन्– ‘सानो उमेरमा नाटकमा काम गर्नु मेरो पनि रहर थियो, तर बढी रहर साथीहरू गर्थे मलाई हिरो बनाउन, तर त्यस्तो कहिल्यै सम्भव भएन ।’
चलचित्रमा हिरो बनेर राम्री युवती फकाउने, एकैपटक दर्जनौं गुन्डालाई हिर्काएर ढलाउने र सात तला अग्लो भवनबाट हाम फाल्ने सपना थियो एमालेका स्वर्गर्ीय नेता रामनाथ ढकालमा, यद्यपि उनको सपना पनि पूरा भएन । नेकपा एमाले नेता तथा प्रदेश नम्बर–५ का संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल भन्छन्, ‘उहाँले कक्षा ९ सम्म भारतमा अध्ययन गर्नुभएको थियो र बाँकी अध्ययनका लागि जन्मघर गुल्मी खर्ककोट गाविस कोर्याङ फर्कनुभयो ।
उक्त गाउँ तत्कालीन मालेको राम्रो पकड भएको ठाउँ भएकाले स्थानीय वातावरणले हिरो बन्ने इच्छा राखेका ढकाललाई राजनीतितर्फ डोहोर्यायो ।’ १० कक्षा अघिसम्म भारतमा अध्ययन गरेका स्वर्गीय नेता ढकालले हिन्दी चलचित्र एवं सिरियल हेर्ने काम मात्र गरेनन् अमिताभ वच्चनजस्तै स्टार हुने सपना समेत पालेका थिए । सांसद भैसक्दा पनि उनी त्यति बेलाको हिरो बन्ने आफ्नो हुटहुटी सम्झिरहन्थे ।
झन्डै ५ वर्ष नाटकमा समय व्यतित गरेका गंगा श्रेष्ठ नयाँ शक्ति नेपालका नेता हुन् । उनलाई अहिले पार्टीले प्रदेश नम्बर–३ को इन्चार्जको जिम्मा दिएको छ । श्रेष्ठलाई पार्टीभित्र र बाहिर पनि राम्रो नेताका रूपमा चिनिन्छ । श्रेष्ठ राजनीतिमा आउनुपूर्वको काम नाटकबाहेक राम्रो नायक हुन तथा चलचित्र क्षेत्रमा जम्नचाहन्थे । यद्यपि समयसँगै त्यो रहर पनि परिवर्तन भयो अनि राजनीतिमा सक्रिय भए उनी ।
राजनीतिमा लागेर देशको मुहार फेर्न खोजिरहेका छु, नेता श्रेष्ठ भन्छन्, ‘त्यतिबेला राम्रो कलाकार हुने इच्छा मात्र थिएन साथीभाइले पनि कलाकार हुनुपर्छ भनेर हौसला दिन्थे ।’ अहिले राजनीतिमा लागे पनि म नेपाली कलालाई धेरै माया गर्छु, समय मिलेसम्म चलचित्र हेर्न गैरहन्छु, उनले भने । अभिनयमा रुचि पहिल्यैदेखि थियो, त्यसले मलाई नाटकतिर तानेको पनि हो र मैले लगभग आधा दर्जन नाटकमा काम गरिसकेको छु, उनले आफ्नो विगत सम्झिए ।
नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय परिषद् सदस्य तथा प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेमा त अझैं पनि राजनीतिमा भन्दा कलाकारितामै रुचि छ । चलचित्रमा हिरो बन्ने रहरलाई एकातिर थन्काउँदै देशको राजनीति सुधार्ने यात्रामा अघि बढेको कुरा सम्झन्छन् उनी । पाण्डेमा अझै पनि चलचित्रमा काम गर्ने रुचि छ । चलचित्रको प्रचार–प्रसार वा कुनै कार्यक्रमका सिलसिलामा कलाकारहरू बुटवल पुगेका बेला उनी त्यहाँ पुगिहाल्थे । चलचित्रप्रति सानैदेखि नशा थियो, लागूपदार्थको जस्तै, उनले भने, ‘तर नेपालमा १० वर्षे द्वन्द्व सुरु भयो र उनी तत्कालीन माओवादीमा होमिए ।’
राजनीतिमा लागे पनि चलचित्र क्षेत्रमा केही गर्ने रहर ज्युँदै छ, उनले थपे । विश्वदीपले द्वन्द्वकालमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रचण्ड आदिलाई आफ्नो अभिनय देखाउने काम समेत गरे । प्रचण्ड, बाबुराम आदि विश्वदीपको कला देखेर मुसुक्क हाँस्थे । विश्वदीप कार्यक्रमको सिलसिलामा देश तथा विदेशमा भएका बेलामा सम्भव भएसम्म नायक–नायिकाहरूसँग भेटिहाल्छन् ।
केही महिनाअघि नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँगै नयाँ दिल्ली पुगेका बेला पाण्डेले बलिउड निर्देशक तथा निर्माता महेश भट्ट एवं कलाकार विद्या बालनसँग भेटेरै छाडे । नौ महिनाअघि विश्वदीपले बलिउड अभिनेता डिनो मोरियासँग पनि भेट गरेका थिए ।
परिस्थितिले राजनीतिमा होमीन बाध्य नभएको भए अहिले म चलचित्र लाइनमा काम गरिरहेको हुन्थे, पाण्डेले भने, ‘अझैं पनि राजनीति तथा सामाजिक विषयमा बन्ने स्तरीय चलचित्रमा काम गर्ने रहर छ, यदि त्यसो नभए पुलिसको चरित्रमा निर्वाह गर्ने रहर सानैदेखिको हो । विश्वदीप नेपालका कलाकारहरू अशोक शर्मा, रेखा थापा, ऋचा शर्मा, खगेन्द्र लामिछाने, प्रदीप उदय, निरक पौडेल, धुर्मुस, सरिता लामिछाने, दीपकराज गिरी, रोज राणा, केशव भट्टराई, सुनील पोखरेल, दयाहाङ राई आदिसँग मौका मिलाएर भेटघाट गरिरहन्छन् । विश्वदीप बाल्यकालमा आमाको भुड्की फोरेर साथीभाइ जम्मा गरी चलचित्र हेर्न पुग्थे । पैसा नभएको खण्डमा भीडभाडको मौका छोपी हलभित्र छिर्ने दाउमा बस्थे । धेरै पटक यसरी पनि चलचित्र हेरेको अनुभव छ विश्वदीपसँग ।