नेपाली रजतपटमा एक्सन, कमेडी, बायोपिक, लभस्टोरीजस्ता विविध धारका चलचित्र निर्देशन गर्ने निर्देशक हुन्— मिलन चाम्स । कुनै पनि चलचित्र राम्रो बन्न निर्देशक एक्लैको मात्र प्रयासले नहुने चाम्स बताउँछन् । गएको वर्ष चाम्सले ब्लाइन्ड रक्स, बोबी, ह्याप्पी डेज तथा लिलीबिली निर्देशन गर्न भ्याए ।
लिलीबिलीले दर्शकको माया पाएकै हो ?
हो, यो चलचित्र मनोरञ्जन र लभस्टोरीको प्याकेज भएकैले होला नेपाली दर्शकहरूले अत्यधिक मन पराउनुभयो ।
तपाईंले धार परिवर्तन गर्नुभएको हो ?
एउटा निर्देशकले सबै किसिमका चलचित्र निर्देशन गर्न सक्नुपर्छ । पहिले मैले एक्सन चलचित्र गरे त्यतिबेला मलाई एक्सन चलचित्रको ट्याग लागेको थियो । त्यही ट्याग मेट्न पनि मैले सबै किसिमका चलचित्र निर्देशन गरेको हुँ ।
लिलीबिलीले लगानी सुरक्षित गर्यो त ?
दर्शकहरू नेपाली निर्देशकले यस्तो चलचित्र पनि बनाउन सक्छन् भन्ने कुरा सोच्न र मनन गर्न बाध्य भएका छन् ।
एकै वर्षमा चारवटा चलचित्र निर्देशन गर्नुभयो, यसबाट निर्देशकीय क्षमता खस्किने सम्भावना हुँदैन?
मेरो सवालमा त्यस्तो हुँदैन । चलचित्र निर्माण भनेको निर्देशक एक्लैको दिमाग र बलबुताको काम होइन । मैले एकसाथ चारवटा चलचित्रको काम गरे पनि त्यति धेरै तनाव महसुस गरिनँ ।
आगामी दिनमा कस्ता चलचित्र निर्माण/निर्देशन गर्दै हुनुहुन्छ ?
अबको मेरो काम भनेको थप राम्रो चलचित्र निर्माण गर्ने नै हो । अब छिट्टै विदेशको एउटा प्रोजेक्ट गर्दैछु अनि ‘वीरविक्रम–२’ त भैहाल्यो । वीर गोर्खाली, सगरमाथा र भगवान गौतम बुद्धलाई समेट्दै एउटा बिग बजेटको चलचित्र निर्माण गर्दैछु । अहिले हामी त्यसको प्रि–प्रोडक्सनमा छौं । यो मेरो ड्रिम प्रोजेक्ट पनि हो ।