गत चैत ८ गते आरम्भ भै चैत १७ गते सम्पन्न यस पटकको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी थिए, जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ तथा एक्जोम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी भएको बताइन्छ ।
यद्यपि हामीले गर्न लागेको कुरा चैत १७ पछि र एसईई परीक्षाको नतिजा प्रकाशन हुनुपूर्वको करिब तीन महिनाको समयावधिको हो । खाली दिमाग शैतानको घर भनेझैं सम्भवत: कोही पनि यत्तिकै समय खेर फाल्न चाहँदैनन् न त अविभावकहरूले नै त्यसो गर्न दिन्छन् । यो समयको सदुपयोग गर्ने अनेकन् उपायमध्ये ब्रिज कोर्स, ल्याङ्ग्वेज कोर्स, कम्प्युटर कोर्स, नृत्य, अभिनय, संगीत तथा गायन कक्षा, फिटनेस क्लास, जुम्बा वा साल्सा क्लास, व्यक्तित्व विकासका कक्षा, कम्युनिकेसन स्किल्सका कक्षा, सिलाइबुनाइसम्बन्धी सीपको तालिम, मोडलिङको तालिम, स्थलगत भ्रमण, लामो भ्याकेसन आदिले प्राथमिकता पाउने गरेको छ । यही सन्दर्भमा थालनी भयो एसएलसीका परीक्षार्थी, त्यसमा पनि छात्राहरूमा केन्द्रित बौद्धिकता, प्रतिभा र सुन्दरता मापनको प्रतियोगिता । अहिले छात्र–छात्रा दुवैमा केन्द्रित यस्ता प्रतियोगिताको लहर नै चलेको पाइन्छ ।
प्रतियोगिताको थालनीदेखि आजसम्म
हुन त नेपालमा सौन्दर्य प्रतियोगिताको मामिलामा सबैभन्दा जेठो प्रतियोगिता मिस नेपाल नै हो, त्यसभन्दा अघि लिटिल लेडी ट्यालेन्ट शो नामबाट स्कुल अध्ययनरत बालिकाहरूमा केन्द्रित प्रतियोगिताले सौन्दर्य प्रतियोगिताको जग बसालेको देखिन्छ । सन् १९८८ मा प्रारम्भ भएको लिटिल लेडी ट्यालेन्ट शो आजको मितिसम्ममा विभिन्न शीर्षक, आधार र मापदण्डमा दर्जनौं प्रतियोगिता सञ्चालन भैसकेका छन् । एसएलसी परीक्षार्थीहरूमा केन्द्रित रहेर सौन्दर्य प्रतियोगिताको थालनी भएको वर्ष भने सन् २०११ हो । सिजन मिडियाले यो अवधारणामा सबैभन्दा पहिले प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगिताको शीर्षक थियो ‘एसएलसी प्रिन्सेस–२०११’ र त्यसको नारा थियो अ गेटवे फोर हायर एजुकेसन एन्ड क्यारियर ।
प्रतियोगिताको तयारी र प्रशिक्षण अवधिमा ब्रिज कोर्स जसमा अंग्रेजी, गणित र विज्ञान विषयको तयारीलाई मुख्य आधार बनाइयो । स्टेज पर्फमेन्स, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, विभिन्न शैक्षिक संस्थाहरूको स्थलगत भ्रमण, क्यारियर काउन्सिलिङ, शैक्षिक भ्रमण, विभिन्न सामाजिक कार्यक्रमहरूमा सहभागिता, सेलिब्रेटीसँगको साक्षात्कार, फिटनेस, फेसन, सौन्दर्य, पौडीका कक्षा आदिले यो प्रतियोगिताको रूपरेखालाई अरुभन्दा फरक र उपयोगी बनाएको थियो । त्यसपछिका दिनमा अर्थात् दोस्रो वर्षमा आउँदा सिजन मिडिया मात्र एक्लो संस्था रहेन एसएलसी परीक्षार्थीमा केन्द्रित सौन्दर्य प्रतियोगिता सञ्चालन गर्ने ।
दोस्रो वर्ष अर्थात् वर्ष २०१२ मा सिजन मिडियासँगै थपियो बन्दना कला केन्द्र र उसको आयोजनामा सञ्चालन भयो— मिस एसएलसी २०१२ प्रतियोगिता । वर्ष २०१३ मा पुग्दा द फेसन प्लसको आयोजनामा थपियो मिस एसएलसी नेपाल–२०१३ । वर्ष २०१४ मा यस्ता प्रतियोतिगाको संख्या ७ पुग्यो ।
गत वर्षदेखि एसएलसी परीक्षाको नाम, प्रयोजन र आधार परिवर्तन भयो एसईई अर्थात् सेकेन्डरी एजुकेसन एग्जामका रूपमा । यसैका आधारमा एसएलसी सौन्दर्य प्रतियोगिता पनि परिवर्तन भए एसईई सौन्दर्य प्रतियोगिताका रूपमा । यस्ता प्रतियोगिता थालनी भएको आठौं वर्ष पुग्दा एसईई छात्र–छात्राहरूमा केन्द्रित प्रतियोगिताको संख्या ह्वात्तै बढेको पाइन्छ । राजधानीमा मात्र दुई दर्जनभन्दा बढी प्रतियोगिताको तयारी चलिरहेको छ भने मोफसलका विभिन्न क्षेत्रमा पनि यसको क्रेज बढेको देख्न सकिन्छ । राजधानी तथा मोफसल जोडेर यो वर्ष घोषणा भएका प्रतिस्पर्धाको संख्या पचासभन्दा बढी छ ।
सिजन मिडियाले आफूले थालनी गरेको एसएलसी प्रिन्सेस प्रतियोगिताको आठौं संस्करणको घोषणासँगै तयारी अघि बढाइसकेको छ । एसईईसित जोडिएका सौन्दर्य प्रतियोगिताहरूमध्ये अहिले अधिकांशको अडिसन चलिरहेको छ भने केहीको प्रशिक्षणसमेत थालनी भैसकेको अवस्था छ । इभेन्ट्स नेपालको आयोजनामा सञ्चालन हुने मिस एसईई नेपाल र एसएलसी प्रिन्स तथा प्लान बी इन्कको आयोजनामा सञ्चालन हुने मिस्टर एन्ड मिस एसईई ग्लोबल भने राजधानीको अडिसन सम्पन्न गरेर देश दौडाहामा निस्किएका छन्, जसअन्तर्गत देशका विभिन्न सहरमा अडिसन सञ्चालन गरिएको छ । विगतका वर्षमा यस प्रकारको आयोजना सञ्चालन गर्ने संस्थाहरूसँगै यो वर्ष दुई दर्जनभन्दा बढी आयोजना थपिएका छन् । यस क्रममा उस्तै नाम मात्र नभएर एउटै शीर्षकमा फरक–फरक संस्थाले फरक–फरक प्रतिस्पर्धा सञ्चालनमा ल्याएका छन् ।
यसअन्तर्गत मिस्टर एन्ड मिस एसईई नेपाल शीर्षकमा गोस्पेल मल्टिमिडियाले पोखरा केन्द्रित गरेर आफ्नो चौथो संस्करणको प्रतियोगिता सञ्चालनमा ल्याएको छ भने राजधानी केन्द्रित भएर ग्रिन आर्ट्स मिडियाले पनि मिस्टर एन्ड मिस एसईई नेपाल शीर्षकको प्रतिायोगिता फ्लोरमा ल्याएको छ । यसैगरी सेन्टर मिडिया प्वाइन्टले मिस एसईई–२०१८ शीर्षकमा आफ्नो सातौं संस्करण सञ्चालन गरिरहेको छ भने मिस एसईई २०७४ शीर्षकमा ओएसिस इन्टरटेनमेन्टले अर्को प्रतियोगिता सञ्चालनमा ल्याएको छ । यी त केही उदाहरण मात्र हुन् । यस्ता अधिकांश प्रतियोगिताको नाम उस्तै–उस्तै सुनिन्छ ।
किन आकर्षण छ एसएलसी सौन्दर्य प्रतियोगितामा
गुणात्मक शिक्षाले विद्यार्थीको क्यारियरको संरचना तयार गर्छ भने अतिरिक्त क्रियाकलापले उक्त संरचनामा रंग भरेर त्यसको डिजाइनलाई आकर्षक बनाउने कार्य गर्छ । यस्ता प्रतियोगिताको उपयोगितालाई उल्लेखित कुरासित पनि जोडेर हेरिन्छ । यी आयोजनाको प्रचार सामग्रीमा उल्लेख भएअनुसार सहभागीले यस्ता प्रतियोगितामा खास गरी अंग्रेजी, गणित तथा विज्ञान विषयको ब्रिज कोर्सको तयारी, अंग्रेजी भाषाको आधारभूत कक्षा, व्यक्तित्व विकास, उद्घोषण, कम्युनिकेसल स्किल, नृत्य, गायन, संगीत, अभिनय, फिटनेस, चित्रकला, पौडी आदिको आधारभूत प्रशिक्षण, स्वास्थ्य परीक्षण, शैक्षिक भ्रमण, विभिन्न सामाजिक संस्था, सञ्चारगृह, वृद्धाश्रम आदिको स्थलगत भ्रमण, फोटोसेसन, फेसन र सौन्दर्यसम्बन्धी जानकारी, क्यारियर काउन्सिलिङ, स्टेज प्रस्तुतीकरणसम्बन्धी प्रशिक्षण, योग, ध्यान, जुम्बाजस्ता कुरामा सहभागिताको अवसर प्राप्त गर्छन् ।
त्यसबाहेक आयोजनासँग सम्बद्ध संस्थाहरूमा कम्प्युटर, फेसन डिजाइनिङ, मोडलिङ, एयर होस्टेज, ब्युटिसियन तालिममा विशेष छुटको व्यवस्थासँगै आयोजनासँग आबद्ध शैक्षिक संस्थाहरू विशेषत: दस जोड दुई र ए लेभलका कलेजहरूमा विशेष छुटदेखि आंशिक छात्रवृत्तिको व्यवस्थासमेत यस्ता कार्यक्रमको विशेषताका रूपमा प्रस्तुत भएको पाइन्छ । यीमध्ये पनि विजेता भएपछि प्राप्त हुने विभिन्न अवसर विशेषत: मिडिया प्रोमोसन, मोडलिङ आदिका साथै गिफ्ट ह्याम्पर, नगद पुरस्कार तथा आयोजनासित आबद्ध शैक्षिक संस्थाहरूमा उच्च शिक्षा अध्ययनमा पूर्ण वा आंशिक छात्रवृत्तिको व्यवस्थाले यस्ता आयोजनाप्रति सहभागीहरूलाई आकर्षित गरेको पाइन्छ । यसपटक त्यसमा थप विदेश भ्रमणको प्याकेज, स्कुटर, नगद तथा महँगा मोबाइल फोन आदि पुरस्कारको व्यवस्थाले यस्ता प्रतियोगिताको क्रेज बढाउन मलजल प्रदान गरेको छ ।
यी प्रतियोगिताहरूसित दस जोड दुई वा ए लेभल अध्यापन गराउने संस्थाहरू मुख्य प्रायोजक, प्रायोजक वा सहयोगिका रूपमा आबद्ध रहँदै आएका छन् । यी संस्थाहरूलाई हुने लाभ उनीहरूले यस्ता कार्यक्रमबाट सहभागी विधार्थीहरूमाझ प्रत्यक्ष रूपमा आफ्नो संस्था र त्यहाँ उपलब्ध हुने शिक्षा एवं सुविधाका सम्बन्धमा जानकारी प्रस्तुत गर्न पाउने अवसर प्राप्त हुन्छ, जुन अन्य विज्ञापनको तुलनामा प्रभावकारी सावित हुने गरेको छ । कारण यो डाइरेक्ट मार्केटिङ हुन्छ । विद्यार्थीवर्गले पनि यस्ता कार्यक्रमबाट कार्यक्रममा आबद्ध कलेजहरूका सम्बन्धमा जानकारी र काउन्सिलिङको सुविधा प्राप्त गर्छन् र केही छुटको लाभ पनि लिन सक्छन् । आयोजक संस्थालाई भने व्यवसायिक लाभ अर्थात सबैका लागि विन–विनको अवस्था ।
आयोजना सम्बन्धितहरूको कुरा
साँगास्थित नेपाल प्रहरी स्कुलका प्रिन्सिपल नवीनमान श्रेष्ठको बुझाइमा यस्ता आयोजनामा कुनै पनि शैक्षिक संस्थाको प्रायोजन वा सहयोगि संस्थाका रुपमा आबद्धता आफ्नो संस्थाको ब्रान्ड प्रवद्र्धन हो । यो आयोजनाले लक्षित विद्यार्थी वर्गसम्म प्रत्यक्ष रूपमा पुग्ने अवसर पनि प्रदान गर्ने उनको अनुभव छ । यस्ता आयोजनासितको आफ्नो संस्थाको आबद्धतामा विद्यार्थीलाई पूर्ण वा आंशिक छात्रवृत्तिको व्यवस्था मिलाइने श्रेष्ठ बताउँछन् । यस्ता आयोजनाको संख्यात्मक वृद्धिले कर्मसियलाइजेन बढ्ने र अस्वस्थ प्रतिस्पर्धा वृद्धि भएर समस्या सिर्जना हुन सक्ने कुरामा भने प्रिन्सिपल श्रेष्ठले चिन्ता व्यक्त गरे ।
एसएलसी प्रिन्सेज आयोजनाको आठ वर्ष पुगेको अवस्थामा आफ्नो आयोजनालाई अरूभन्दा पृथक् र स्तरीय बनाउन चुनौती थपिएको सिजन मिडियाका प्रदीपराज वन्त बताउँछन् । सौन्दर्य प्रतियोगिता आयोजनामा नयाँ आयाम थप्ने र एसएलसी परीक्षापछि परीक्षार्थीको खाली समयको सदुपयोग गर्न आयोजित गरिएको एसएलसी प्रिन्सेस आजको स्थितिमा एउटा ब्रान्ड भैसकेको प्रदीपको दाबी छ ।
एसईई परीक्षार्थी केन्द्रित आयोजना
बढ्नुलाई जहाँ पुराना आयोजकहरू आफ्नो देखासिकी भन्छन् त्यहीं नयाँ आयोजकहरू आफ्नो आयोजनाको कसैसित प्रतिस्पर्धा नरहेको बताउँछन् । यद्यपि व्यवसायिक प्रतिस्पर्धालाई भने सबैले स्वीकार गर्छन् । यही वर्षदेखि थ्रीडी नेपालको व्यवस्थापनमा आफ्नो संस्था डिएम इन्टरटेनमेन्टको ब्यानरमा एसईई मोडल हन्टको थालनी गर्ने डेनी मगर आफ्नो कार्यक्रम अरुको भन्दा पृथक् हुने दाबी गर्छन् । अन्य आयोजनाभन्दा प्रस्तुति, प्रशिक्षण र प्रतिफलका दृष्टिले प्रभावकारी बनाउन उनले आफ्नो आयोजनामा इन्डियाज् नेक्स्ट टप मोडल सीजन थ्रीकी उपविजेता सविता कार्कीलाई आबद्ध गराएका छन् भने कोरियोग्राफरमा म्यानहन्ट इन्टरनेसनल नेपालका विजेता सनिश शाक्यलाई नियुक्त गरेका छन् ।
एसएलसी केन्द्रित प्रतियोगितात्मक कार्यक्रमको आयोजनाको पाँच वर्ष पुगेको अवस्थामा यस्ता आयोजना अकल्पनीय रूपले बढेको अवस्था छ । आयोजनाको प्रतिस्पर्धाले सहभागीहरूलाई गुणात्मक फाइदा पुर्याओस् भन्नेतर्फ सबैले सचेत हुनैपर्छ । व्यवसायिक विसंगतिले यसको स्तरीयता र यसबाट प्राप्त हुने प्रतिफलमा ह्रास आउनु हुँदैन ।
प्रतियोगितामा सहभागी भएपछि आफ्नो सक्षमता र आत्मविश्वासको पहिचान हुन्छ, आफ्ना कमी–कमजोरी तथा सबल पक्षहरूका बारेमा पनि जानकारी पाइन्छ भने अवसरका आयामहरूसित साक्षात्कार पनि भइन्छ । अत: यसमा इच्छा छ र केही नयाँ गर्ने सोच छ भने आफ्नो परीक्षणका लागि प्रयास गर्न सकिन्छ, तर हरेक पहेंलो धातु सुन हुँदैन भनेझैं सही र गलतको पहिचान गर्नु आवश्यक छ । कुनै पनि रूपले ठगिनु आफ्नै मुर्खता हुने भएकाले बुद्धिमानीपूर्वक अघि बढ्नु उपयुक्त हुन्छ ।