मगर चलचित्रकी अभिनेत्री यरुना पुन (नेहा) को हत्यामा दोषी ठहर गर्दै सतिस भनिने कृतन खड्गीलाई कास्की जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश रमानाथ पौड्यालले कृतनलाई सर्वस्वसहित जन्मकैद तथा जर्बजस्ती करणीसहितको अपराध गरेका कारण थप पाँच वर्ष जेल सजाय हुने फैसला गरेका हुन् । अदालतले गरेको फैसलाअनुसार कृतनले अब २५ वर्ष जेल सजाय भोग्नुपर्नेछ ।
उनीविरुद्ध २०७२ साल फागुन १६ गते कास्की जिल्ला अदालतमा जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दा दायर भएको अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले जनाए । नयाँगाउँ घर भै पोखराको न्युरोडस्थित एक रेस्टुराँमा कार्यरत नेहा पुनको शव २०७२ माघ १९ गते हत्या गरिएको अवस्थामा घरनजिकै फेला परेको थियो । अदालतमा मुद्दा दायर भएपश्चात् कृतन पुर्पक्षका लागि जिल्ला कारागार कास्कीमा थिए ।
घटनाको प्रारम्भिक अनुसन्धानमा माघ १८ गते राति कृतनले नेहालाई घर पुर्याइदिने भन्दै मोटरसाइकलमा राखेर लगेको देखिएको थियो । त्यही कारण पक्राउ परेका खड्गीले घर नपुग्दै लेकसाइड जाउँ भन्दै यौन प्रस्ताव राखेको र नेहाले अस्वीकार गरेपछि हेलमेटले टाउकोमा हिर्काएको अनुसन्धानका क्रममा स्वीकार गरेका थिए । हेलमेटले लागेर नेहा ढलेकी थिइन् । त्यसपछि पनि यौन सम्पर्क गर्न खोज्दा रगत देखेपछि घटनास्थलबाट भागेको कृतनले आफ्नो बयानका क्रममा उल्लेख गरेका थिए ।