साप्ताहिक संवाददाता
नेपालका सुन्दर अभिनेत्रीहरूका बारेमा चर्चा चल्दा मरिष्का पोखरेल प्राय: छुट्दिनन् । राम्रो स्वभाव भएकी अभिनेत्रीका रूपमा समेत स्थापित मरिष्का अहिले अत्यन्त व्यस्त छिन् । मरिष्काले अभिनय गरेका झन्डै आधा दर्जन चलचित्र वर्ष २०७५ भित्रै सार्वजनिक हुने लाइनमा छन् ।
त्यसको थालनी आज शुक्रवारदेखि प्रदर्शन हुने चलचित्र लम्फूबाट हुँदैछ । लम्फूका बाँकी दुई अभिनेत्री (चाँदनी शर्मा तथा कुसुम श्रेष्ठ) मध्ये मरिष्का बढी महत्वपूर्ण भूमिकामा छिन् भने चलचित्रको ट्रेलरतथा गीत दर्शकहरूले मन पराएपछि मरिष्काको खुसीको सीमा छैन । चलचित्र प्रदर्शनको मिति व्यग्रतापूर्वक पर्खिरहेकी मरिष्काले सामाजिक सञ्जालमार्फत लम्फुको प्रचारलाई तीव्र बनाएकी छिन् ।
यद्यपि मरिष्काप्रति चलचित्र युनिट भने सन्तुष्ट छैन कि भन्ने आशंका छ । लम्फूले पछिल्ला महिनाहरूमा आयोजना गरेका कुनै पनि समारोहमा उपस्थित नभएकी मरिष्का चलचित्रको प्रमोसन टूरमा समेत सहभागि भइनन् । मरिष्काले चलचित्रको प्रमोसनका लागि समय दिन नसक्नुको कारण अन्य चलचित्रको छायांकनलाई बताएकी छिन् ।