साप्ताहिक संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष चुनिएयता कर्मा छिरिङ शेर्पासामु थुप्रै चुनौती छन् । उनीमाथि कामको बोझ पनि उत्तिकै हुनेछ । यसअघि अरूको आलोचना मात्र गरे पुग्ने शेर्पाले अब आफूलाई प्रमाणित गर्नुपर्नेछ । यस क्रममा उनका योजना तथा कार्यक्रम के–के हुन सक्छन् ? एन्फा अध्यक्ष चुनिएपछि शेर्पासँग साप्ताहिकको पाँच प्रश्न :
एन्फाको निर्वाचनलाई कसरी लिनुभएको छ ?
निर्वाचन सामान्य प्रक्रिया मात्र हो, यसले हार जित मात्र छुट्याउने हो । सबै पक्षलाई समेटेर अघि बढ्नेछौं । पराजित समूहलाई पनि नीति–निर्माणका काममा समेट्छौं ।
नेपाली फुटबलको तत्कालको चुनौती के हो ?
नेपाली फुटबलमा गर्नुपर्ने काम धेरै छन् । सबैभन्दा पहिलो लक्ष्य तीन वर्षदेखि रोकिएको ‘ए’ डिभिजन लिग गराउनु हो । हाम्रो पहिलो काम लिगको आयोजना र त्यसको निरन्तरता नै हो ।
आफूद्वारा घोषित कार्यक्रमप्रति कति प्रतिबद्ध हुनुहुन्छ ?
हामीले निर्वाचनमा जुन तथ्य उठाएका छौं, त्यसैका लागि हामीले मत पाएका हौं । अहिले नेपाली फुटबलमा जुन स्थिति छ, त्यसमा सुधार्नुपर्ने कुरा धेरै छन् । हामी आफ्नो घोषणाप्रति प्रतिबद्ध छौं । हामीले जे–जति भनेका छौं, ती सबै गर्नेछौं । सबै निर्वाचित साथीहरू सक्षम छन् । एन्फासँग आबद्ध ४५ जिल्लामै ग्रास रुट स्तरबाट कार्यक्रम गर्नेछौं ।
फुटबल जनशक्ति विस्थापित भैरहेको स्थितिमा के गर्नुहुन्छ ?
म खेलाडी तथा प्रशिक्षकहरूको शिर झुक्ने काम कहिल्यै गर्नेछैन । खेलाडी तथा प्रशिक्षकलाई फुटबलबाटै आफ्नो जीवन अघि बढाउने स्थिति तयार पार्नेछु । त्यसका लागि यही वर्षदेखि व्यवस्थित ढंगले कार्यक्रम अघि बढाउनेछु ।
नीतिगत कार्यक्रम के हुनेछन् ?
सबै साथीहरूलाई अब नेपाली फुटबलको काममा केन्द्रित हुन भनेका छौं । हामीले आउने तीन महिनाभित्र आफूलाई नीतिगत रूपमा स्पष्ट पार्नुपर्ने हुन्छ । हामीलाई अघि बढ्न नियमावलीहरूको खाँचो छ । हामीसँग पछाडि फर्कने समय छैन, अब अगाडि बढ्ने हो ।