साप्ताहिक संवाददाता
काठमाडौको बालाजु बाइपासमा एउटा नयाँ अवधारणासहितको रेस्टुराँ सञ्चालनमा आएको छ, जसको अभिनेत्री रिमा विश्वकर्मा तथा मोडल अनिल थापाले संयुक्त रूपमा उद्घाटन गरे । ‘ओल्ड स्कुटी रेस्ट्रो’ नामको उक्त रेस्टुराँ सम्भवत: नेपालकै पहिलो स्कुटी रेस्टुराँ हो ।
युवा व्यवसायी सरोज रिमालले सञ्चालनमा ल्याएको यो रेस्टुराँमा ग्राहकले स्कुटीमा बसेर विभिन्न प्रकारका खाजा तथा खानाको स्वाद लिन सक्छन् । रिमालले रेस्टुराँको बोर्डमै स्कुटी झुन्ड्याएर राखेका छन् । त्यस्तै रेस्टुराँमा प्रवेश गरेपछि अर्को स्कुटी देखिन्छ, जहाँ बसेर खान सकिन्छ ।
बिग्रिएर प्रयोग गर्न नमिल्ने जहाजलाई म्युजियम बनाइएको देखेपछि आफ्नो मनमा यस्तो अवधारणा फुरेको रिमालले बताएका छन् । स्कुटीमा बसेर खान तथा फोटोसेसन गर्न ग्राहकहरूबीच प्रतिस्पर्धा हुने गरेको छ । रेस्टुराँभित्र थप स्कुटी राख्ने योजना पनि छ । यहाँ ग्राहक बस्ने टेबलहरूको नामाकरण समेत स्कुटीको ब्रान्डअनुसार गरिएको छ ।