मानव शरीरभरि तथा विभिन्न प्रणालीमा विभिन्न ग्रन्थिको प्रचुर उपलब्धता छ । शरीरको बाह्य पत्र अर्थात् छालालाई हल्का तैलीय राख्न पनि छालामुनि रहेका ग्रन्थि निरन्तर सक्रिय रहन्छन् । यसका अतिरिक्त काखी, काछ, स्तनमुनि पृथक् गन्धको रस उत्पादन हुन्छ भने यौनांग विशेष तथा सहायक यौनांग (स्तन) बाट छुट्टै श्राव उत्पादन हुन्छ । तैलीय (सिबासियस) र एपोक्राइन गरी दुई थरी ग्रन्थि मध्ये पछिल्लो ग्रन्थिबाट उत्पादित ग्रन्थिरसले विशेषत: यौन आकर्षणको भूमिका निर्वाह गर्छ, अर्थात् फेरोमोनको काम गर्छ । यी सबैको सम्पूर्ण अवस्थाले व्यक्ति विशेषमा एउटा पृथक् खालको गन्ध निर्माण हुन्छ ।
ग्रन्थिरसको उत्पादनमा उमेर विशेष वा महिलामा भए मासिक श्रावचक्रको समयमा पृथक ढंगको गन्ध देखा पर्छ । त्यसैले लामो समयसँगै बसेका अर्थात् विवाहित दाम्पत्यले एक–अर्कालाई गन्धका माध्यमबाट समेत चिन्न सक्छन् । मानसिक तनाव वा उत्तेजनाको अवस्थामा ती ग्रन्थि बढी सक्रिय भै त्यसमा ब्याक्टेरिया विशेषले दखल गरी दुर्गन्धित बनाउन सक्छ । प्राकृतिक रूपमा यस्तो गन्ध हटाउन कृत्रिम बास्नादार स्प्रे (पफर््युम) को प्रयोग फाइदाजनक हुन्छ यद्यपि यो राम्रो कुरा होइन, तैपनि यस्तो पफ्र्युमले समय विशेषमा थप यौनिक मादकता प्रदान गर्छ भने कतिपय अवस्थामा प्रतिकूल परिणाम ल्याउँछ ।
मानिसमै पनि समयअनुसार गन्धको प्रकृति फरक–फरक हुनसक्छ । त्यही भएर महिला यौन साथीले आराम गर्नुपर्ने बेलामा पुरुषलाई चित्ताकर्षक नलाग्ने गन्ध निस्कन बेर लाग्दैन । महिनावारीका बेला, गर्भवती अवस्थामा तथा प्रसवोत्तर समयमा श्रीमान् वा पुरुष यौनसाथी महिला यौन साथीप्रति यौनिक हिसाबले आकर्षित नहुनुको कारण पनि यही नै हो ।
व्यक्ति विशेषको पृथक गन्धकै कारण यौन आकर्षण बढ्ने वा वितृष्णा जाग्ने हुन्छ जसले दाम्पत्य जीवन क्रमश: सुमधुर हुन वा धरापमा पर्न सक्छ । यसरी यौन क्रिया पूर्व स्पर्श, दृष्टि वा ध्वनिको जत्तिकै गन्धको भूमिका नभए पनि विशेष परिस्थितिमा वा अप्रत्यक्ष तवरमै वा जनावर विशेषमा गन्ध विशेषको महत्व छ । यौन सोच, यौन परिकल्पना वा यौन परिदृश्य मस्तिष्कबाटै सुरु हुन्छ । शरीरका विभिन्न ज्ञानेन्द्रियबाट प्राप्त अन्य सूचनाजस्तै यौन सूचनाको संकलन, विश्लेषण एवं संयोजन मस्तिष्कले नै गर्छ र प्रतिक्रिया स्वरूप विभिन्न हार्मोन एवं रसायानिक पदार्थको माध्यमबाट आवश्यक यौन प्रतिक्रिया तथा शारीरिक हाउभाउका लागि निर्देशन दिन्छ । शरीरका विभिन्न ज्ञानेन्द्रियमध्ये नाकका माध्यमबाट प्राप्त हुने गन्धका कारण पनि यौन उत्तेजना वृद्धि हुन्छ ।
उत्तेजना कसरी ?
पुरुष लिंग विशेष किसिमको तन्तुले बनेको हुन्छ । लिंगमा विशेषत: दुई थरीको तन्तु हुन्छ–कर्पुस क्याभेर्नसोसम (जुन दुईवटा हुन्छ) र मूत्रनलीको वरिपरि हुने कर्पुस स्पोन्जियोसम । कर्पुस क्याभेर्नसोसमलाई बलियो फाइब्रस तन्तुले घेरेको हुन्छ । सामान्य अवस्थामा ती तन्तुमा खासै रगत हुँदैन, त्यसैले लिंग लुलो हुन्छ । यौन उत्तेजनासँगै स्नायुहरूले लिंगमा भएको धमनीलाई खोल्छ र रगत विशेष तन्तुमा दबाबका साथ प्रवेश गर्छ । रगत जुन गतिमा लिंगको नशामा प्रवेश गर्छ त्यही अनुपातमा बाहिरिन सक्दैन, किनभने शिरा तुलनात्मक रूपमा बन्द हुन्छ । यसरी रगत भित्र पस्ने क्रम जारी रहे ती तन्तुमा भएका सबै स्थान सक्दो भरिन्छ र फाइब्रसले घेरेका ती तन्तुमा दबाब बढ्दै जान्छ र लिंग कडा, मोटो एवं ठूलो हुन्छ । यो स्थिति उत्तेजना रहुन्जेल कायम हुन्छ ।