झापाका नौवर्षे बालक अशोक दर्जी रातारात हिट भएका छन् । यतिबेला उनी सामाजिक सञ्जालहरूमा भाइरल भैरहेका छन् । उनको गायकीले युट्युबमा सनसनी मच्चाइरहेको छ । युट्युबमा आफ्ना गीत भाइरल भएपछि चर्चामा आएका अशोकको स्वरमा गायक टंक बुढाथोकीले समेत गीत रेकर्ड गराइसकेका छन् । मन ठूलो कि धन शीर्षकको उक्त गीतमा अशोकको गायन कला थप निखारिएको छ ।
युट्युबमा चर्चा भएसँगै अशोकको स्वरमा गीत रेकर्ड गराउनेहरूको होडबाजी मात्र चलेको छैन, उनको अनुहार देखाएर आफ्नो युट्युब च्यानलको प्रमोसन गर्नेहरूको ताँती नै लाग्यो । आफूलाई निर्धक्क प्रस्तुत गर्ने यी बालगायकका युट्युबमा अपलोड गरिएका अधिकांश भिडियो ट्ेरन्डिङमा परेका छन् । गायक टंक बुढाथोकीकै नाममा रहेको युट्युब च्यानलमा हालिएको ‘चर्चित अशोक दर्जीको पहिलो गीत मन बिनाको धन ठूलो कि धन बिनाको मन’ गत बुधबार सार्वजनिक गरियो ।
युट्युबमा भाइरल भएसँगै अशोकको भिडियो बनाउँदै पोस्ट गर्नेहरूको संख्या बढ्दो छ । नामै नसुनिएका च्यानलहरूले समेत अशोकलाई आफ्ना दर्शक बढाउने माध्यम बनाएका छन् । अशोक सामान्य परिवारमा जन्मिएका हुन् । युट्युबमा हिट भएकै कारण युट्युब च्यानलहरूको ध्यान उनीमाथि केन्द्रित भएको हो । दर्जीलाई प्रयोग गर्दै आफ्नो च्यानललाई हिट बनाउनेहरू यतिबेला उनको भिडियो खिच्न तानातान गरिरहेका छन् । बालगायक अशोक गायक हेमन्त रानाको ‘सुन साइँली’, बालगायक प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आँखामा तिमी छौ’ जस्ता गीतका कारण बढी रुचाइएका हुन् ।
गीत गाउँदा शब्दको उच्चारणमा केही कन्फ्युज देखिने अशोकको शैली भने रोचक छ । विपन्न परिवारमा जन्मिएका अशोकले भविष्यमा सफल गायक बन्ने लक्ष्य लिएका छन् । बुवा विष्णु र आमा ललिताका एक मात्र छोरा अशोक झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारका लागि दालभात जुटाउँछन् । केही महिनाअघिसम्म झापाका केही सहरमा सीमित उनको प्रतिभाले यतिबेला देशमा मात्र नभएर विदेशमा रहेका नेपालीहरूको समेत मन जितिरहेको छ ।
२ कक्षासम्म मात्र अध्ययन गरेका अशोकले आर्थिक अवस्थाकै कारण स्कुल जान छाडे, तर अहिले धेरैले सहयोग गर्ने वाचा गरेकाले पुन: स्कुलमा भर्ना हुने र संगीतसँगै अध्ययनलाई पनि अघि बढाउने अशोक बताउँछन् । उनका बुबा–आमा अरूको घरमा काम गर्छन् । जस्तोसुकै गीत पनि सहज तरिकाले गाउन सक्नु उनको खुबी हो । अन्य समय कुनै न कुनै क्रियाकलाप गरेर केटाकेटीपन देखाउने दर्जी जब गीत गाउन थाल्छन्, तब दत्तचित्त भएर गाउनमै मस्त हुन्छन् अनि एकपछि अर्काे गीत सुनाएर दर्शक–श्रोताको मन जित्न सफल हुन्छन् ।
उर्लाबारी फोकस टिभीले उनको प्रतिभा उजागर गर्ने उद्देश्यले एकल सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गरेको थियो । उर्लाबारी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई भेला पारेर सञ्चालन गरिएको उक्त कार्यक्रममा उनको प्रशंसा मात्र भएन, उनी भविष्यमा चर्चित गायक बन्न सक्ने भविष्यवाणीसमेत गरियो । उक्त अवसरमा उनलाई धेरैले सहयोग गर्ने घोषणासमेत गरे ।