साप्ताहिक संवाददाता
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
जेठ ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘हैरान’ को प्रचार–प्रसारका क्रममा देशव्यापी अभियानमा छु ।
मोफसलमा आफ्नो चलचित्रको क्रेज कस्तो पाइरहनुभएको छ ?
केही समयअघि सार्वजनिक भएको टिजरका कारण मोफसलका दर्शकहरूमा एक प्रकारको कौतूलहता पाएको छु ।
‘हैरान’को प्रदर्शनसम्बन्धी चटारोले कत्तिको हैरान बनाएको छ ?
खासै हैरान त बनाएको छैन, यद्यपि चलचित्र प्रदर्शन हुने पहिलो दिनदेखि नै निर्माता संघले चलचित्र संघ (सिनेमा हल) लाई चलचित्र उपलब्ध नगराउने अर्थात सिनेमा हलमा नेपाली चलचित्र नचलाउने घोषणाले भने निकै हैरान बनाएको छ ।
निर्माता तथा सिनेमा हल मालिकको अडानका कारण तपाईंको चलचित्र घानमा पर्ने सम्भावना बढेको हो ?
निर्माता तथा सिनेमा हल मालिकबीचको सम्बन्ध नङ र मासुको सम्बन्ध हो, एक–अर्काबिना बस्नै नसक्ने अनि एक्ला–एक्लै चल्नै नसक्ने । त्यसैले यो प्रसंगमा समग्र चलचित्र क्षेत्रको हित हुने कुरालाई प्राथमिकता दिनुपर्छ, दुवै पक्ष एक ठाउँमा बसेर यसको समाधान खोजिनुपर्छ ।
जेठ ४ गतेदेखि सिनेमा हल बन्द हुने हल्ला छ, हैरानको रिलिज डेटचाहिँ के हुन्छ ?
यदि सिनेमा हल बन्द भयो भने त्यसले पहिलो प्रभाव ‘हैरान’ लाई नै पार्नेछ । त्यसैले यसबाट हुन लागेको क्षतिको भागिदार चलचित्र संघ तथा निर्माता संघ दुवै हुन्छन् । त्यसैले सकेसम्म यो समस्याको सकारात्मक समाधानका लागि अनुरोध गर्छु ।
समग्रमा हैरान कस्तो चलचित्र हो ?
कमेडी, एक्सन, रोमान्स, ड्रामा, थ्रिलर तथा सस्पेन्सले भरिएको चलचित्र । यसका हरेक दृश्य, सट तथा संवादमा दर्शकले मनोरञ्जन प्राप्त गर्नुहुनेछ ।