म २४ वर्षको भएँ । मेरो लिङ्ग सानो छ (सामान्य अवस्थामा ४ दशमलव ५ सेन्टिमिटर) । हस्तमैथुन गर्दा उत्तेजना त हुन्छ, तर वीर्य आउँदैन । अण्डकोष पनि सानो छ र धेरैजसो माथिपट्टि लुकेर बसेको हुन्छ । मेरो दाह्री–जुँगा पनि आएको छैन । मैले यौन रोग विशेषज्ञको सल्लाह अनुसार चार–पाँचमहिना आयुर्वेदिक औषधी पनि खाएको थिएँ तर औषधी महँगो भएकाले त्यसलाई निरन्तरता दिन सकिनँ । त्यतिबेला चिकित्सकले हार्मोन धेरै कम छ भनेका थिए । म निकै चिन्तित छु । यो अवस्थामा म के गर्न सक्छु ? अब मेरा लागि के–कस्तो उपचार उपयुक्त हुन्छ ?
- ४९५५
पुरुषमा यौन विकास
किशोरावस्था भनेको कुनै व्यक्ति बाल्यकालबाट वयस्क हुने परिवर्तनशील अवस्था हो । सामान्यत: १० वर्षको उमेरदेखि १९ वर्षसम्मको उमेरमा पुरुषमा हलक्क बढ्नु र काँध चौडा हुनु, दाह्री–जुँगा आउनु, स्वर धोद्रो हुनु, काखीमुनि रौं आउनु, यौनकेश आउनु, पसिना ग्रन्थि बढी सक्रिय हुनु, डन्डीफोर आउनु, लिङ्ग तथा अण्डकोष बढ्नु, वीर्य उत्पादन सुरु हुनु, लिङ्ग उत्तेजित हुने क्रम बढ्नु तथा कहिलेकाहीं स्वत: उत्तेजित हुनु, स्वप्नदोष हुनु जस्ता शारीरिक परिवर्तन देखा पर्छन् ।
पुरुष रागरस (हार्मोन) को कमी
सामान्य रूपमा यौन विकासका क्रममा टेस्टोस्टेरोन किशोरावस्था अनि युवा अवस्थामा उच्च स्तरमा हुन्छ । उमेर निकै पाको भएपछि टेस्टोस्टेरोनमा स्वाभाविक रूपमै कमी आउँछ । यसरी कमी गराउन योगदान गर्ने कुरा उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, मोटोपन, मद्यपानको अधिक सेवन, लागूऔषधको सेवन, स्टरोइडको प्रयोग तथा केही औषधीको प्रभाव आदि हु्न् ।
त्यसबाहेक हाइथालामस वा पिटयुटरी ग्रन्थिको खराबी, अण्डकोषको खराबी वा चोटपटकका साथै Kallman’s syndrome, Klinefelter Syndrome वा Down Syndrome जस्ता वंशाणुगत खराबी पनि कारण हुन सक्छन् । तपाईंले अण्डकोष माथि लुकेर बस्ने कुरा गर्नुभएको छ । चिकित्सा विज्ञानमा यस्तो स्थितिलाई retractile testes भनिन्छ । अध्ययनहरूले थैलीमा झरेको अण्डकोषको तुलनामा यसरी माथितिर गएर लुक्ने अण्डकोषमा संचरनागत विकास राम्रोसँग नभएको पनि देखाएको छ । यस्तो स्थितिमा अण्डकोषबाट उत्पादन हुने रागरस अनि शुक्रकीटको मात्रा तथा संख्या दुवैमा नकारात्मक असर पर्छ ।
टेस्टोस्टेरोन अर्थात् पुरुष रागरसको कमी हुँदा यसको प्रभाव यौनसम्बन्धी कुरामा देखिन सक्छ । छोटकरीमा उल्लेख गर्नुपर्दा ती हुन्— यौनेच्छा नहुनु वा कमी हुनु, लिङ्ग उत्तेजना राम्रोसँग नहुनु, वीर्यको मात्रा पर्याप्त नहुनु, शरीरमा रौं कम हुनु, थकाइ लाग्ने, शरीरमा मांसपेशीको मात्रा कम हुनु, बोसोको मात्रा बढी हुनु अनि कसै–कसैमा स्तन बढ्ने, हड्डीको घनत्व कम हुनु अनि मनस्थिति ठीक नहुनु आदि ।
समाधान
तपाईंले आफ्नो दाह्री–जुँगा नआएको तथा लिङ्ग सामान्यभन्दा केही सानो भएको कुरा उल्लेख गर्नुभएको छ । तपाईंले हस्तमैथुनको कुरा गर्नुले एक हदसम्म तपाईंमा यौनेच्छा भएको देखाउँछ । अण्डकोषले शुक्रकीट उत्पादन गरे पनि यौन चरमसुखको हाराहारीमा वीर्य स्खलन हुँदा देखिने वीर्यको उत्पादन वीर्य थैली तथा पौरुष ग्रन्थिबाट हुन्छ । यौनसम्पर्क वा हस्तमैथुनको माध्यमबाट सक्दो उत्तेजित भएर पनि वीर्य स्खलन नहुने स्थितिलाई चिकित्सा विज्ञानमा anejaculation भनिन्छ, कतै यस्तै केही भएको त होइन हेर्नुपर्छ ।
तपाईका चिकित्सकले हार्मोनको कमी भएको बताए पनि रगत परीक्षण गरियो/गरिएन केही उल्लेख छैन । सामान्यत: एक स्वस्थ व्यक्तिमा ४ सयदेखि ६ सय ng/dl हुन्छ । केही चिकित्सकले त्यसभन्दा केही कम वा बढीलाई पनि सामान्य नै मान्ने गरेका छन् । मध्य किशोरावस्थामा यो १२ सय ng/dl हुनुलाई पनि सामान्य नै मानिन्छ । तपाईंको हकमा यो हार्मोनको मात्रा कति थियो थाहा भएन, तर यस्तै २ सय ३० ng/dl छ भने उपचारको आवश्यकता पर्छ ।
उपचार गर्दा यसरी हार्मोनको मात्रामा कमी गराउने कुनै कारण भए सर्वप्रथम त्यसको उपचार गर्नुपर्छ । यसका साथै हार्मोनको थप मात्रा अर्थात् पूरक मात्रा दिइन्छ । तपाईंले यस्ता हार्मोनयुक्त औषधीको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा सम्भावित नकारात्मक असरका सम्बन्धमा चिकित्सकसँग राम्रोसँग छलफल गर्न सक्नुहुन्छ । तपाईंको सन्दर्भमा समस्या हार्मोनसँग सम्बन्धित भएजस्तो देखिएकाले एकपटक हार्मोनसम्बन्धी विशेषज्ञ अर्थात् Endocrinologistसँग सम्पर्क राखेर समस्याको समाधान खोज्नु उचित हुन्छ ।