साप्ताहिक संवाददाता
आगामी दिनमा साप्ताहिक पत्रिकाको गुणस्तरमा सुधार भै शुक्रबारसम्ममा पुराना हुन सक्ने हट न्युजहरू अनलाइनमा छिट्टै अपलोड भएको हेर्न मन छ । त्यस्तै संगीत र मनोरञ्जनलाई थप प्राथमिकता दिइयोस् भन्न चाहन्छु ।
प्रमोद खरेल, गायक
अहिलेको साख जोगाइराखोस् । मलाई साप्ताहिक निकै मन पर्छ । त्यसो त साप्ताहिक मैले नियमित हेर्ने पत्रिका हो । यसमा चलचित्र, खेल, समाज आदिका हरेक कुरा पढ्न पाइन्छ, त्यसैले म र मेरो परिवारले साप्ताहिक हेर्न छुटाउँदैन ।
सञ्चिता लुइँटेल, अभिनेत्री
साप्ताहिक विगत १० वर्षदेखि पढ्दै आएको छु, यसमा सबै पक्ष समेटिएको हुन्छ, त्यसैले मलाई यो पत्रिका साह्रै राम्रो लाग्छ । आगामी दिनमा पनि यसले निरन्तरता पाओस् । नेपाली संगीत बजारको मूल धार लोकगीत हो । तैपनि लोकसंगीतका बारेमा अलि कम समाचार आएको महसुस गरेको छु, त्यो कुरा पनि प्राथमिकतामा रहोस् । गीत–संगीतमा विद्यमान विकृति–विसंगतिका विषयमा साप्ताहिकले एउटा स्तम्भ नै सञ्चालन गरे हुन्थ्यो भन्ने लागेको छ ।
याम क्षेत्री, लोक तथा दोहोरी गायक
मलाई साप्ताहिक सधैँ तन्नेरी नै रहेको हेर्न मन छ । जसरी हामीले तन्दुरुस्त रहन कसरत गर्नुपर्छ, साप्ताहिकले पनि परम्परागत कोलमहरूका अतिरिक्त केही रोचक अन्तर्वार्ता, गसिप आदि थुप्रै नयाँ तथा मनोरञ्जक लेख–रचनाहरू प्रकाशन गर्नु जरुरी छ ।
दीपकराज गिरी, अभिनेता
नेपाली पत्रिका भएकाले ठेट नेपाली भाषामा जोड दिइयोस् । नेपालकै समाचारले बढीभन्दा बढी स्थान पाऊन् ।
केदारप्रसाद घिमिरे, अभिनेता
साप्ताहिकले युवावर्ग लक्षित न्युज अलि फरक ढंगबाट कभरेज गर्ने हो भने असाध्यै राम्रो हुन्छ ।
केकी अधिकारी, अभिनेत्री
साप्ताहिकले समाजका सबै पक्षलाई समेटोस् ।
कोमल वली, गायिका तथा नेतृ
साप्ताहिक मलाई एकदमै मन पर्ने पत्रिका हो । जुनसुकै क्षेत्रका सेलिब्रेटीको जीवनशैली बुझ्न र सिक्न म गाउँमा हुँदादेखि नै साप्ताहिक पत्रिका खोजी–खोजी पढ्थेँ । युवापुस्ताको ढुकढुकी भए पनि यसमा आमयुवाको कथा अझै नसमेटिएको हो कि भन्ने लाग्छ । त्यसैले सफल हुनेहरूको कथा मात्र नभएर सपना देख्ने तर पूरा गर्ने मेसो नपाएका आमयुवाको कथाले प्राथमिकता पाउने हो भने सुनमा सुगन्ध हुने थियो ।
प्रकाश सपुत, गायक
साप्ताहिक आमनेपालीको आशा र भरोसा बोकेको सञ्चारमाध्यम हो । त्यसैले यसले सधैँ अर्थपूर्ण र सही समाचार देओस् भन्ने चाहना छ ।
पूर्णिमा लामा, अभिनेत्री तथा निर्मात्री
साप्ताहिक सबै पक्षले भरिपूर्ण पत्रिका हो । पत्रिकामा धेरै बौद्धिक कुरा मात्र भयो भने मध्यमवर्गीय पाठकलाई बुझ्न गाह्रो हुन सक्छ, तर साप्ताहिकले सबै वर्गलाई समेटेको छ, साप्ताहिकले आफ्नो यो साखलाई जोगाइरहोस् ।
हरिवंश आचार्य, हास्यकलाकार
साप्ताहिकले आफूलाई समयसापेक्ष रूपमा परिवर्तन गर्दै आएको छ । आगामी दिनमा यो स्वस्थ र पूर्ण मनोरञ्जक पत्रिका बनोस् ।
लोकराज अधिकारी, गीतकार
साप्ताहिकको सबै पक्ष राम्रो छ । अहिले साप्ताहिकसँग प्रतिस्पर्धा गर्न अरू पनि यस्तै पत्रिका आएका छन्, तर साप्ताहिकले अरूसँग प्रतिस्पर्धाभन्दा पनि आफैँसँग प्रतिस्पर्धा गरेर यो साखलाई जोगाइरहोस् ।
धीरज राई, गायक
साप्ताहिकको राम्रै चर्चा छ, तैपनि लोकगीत–संगीतलाई अझ प्राथमिकता दिने हो भने धेरै राम्रो हुने थियो ।
पूर्णकला बीसी, गायिका
साप्ताहिक उत्कृष्ट छ । तैपनि यसमा प्रकाशन हुने सामग्रीहरू युवावर्गलाई मात्र लक्षित भए कि जस्तो लाग्छ । अर्को कुरा यसमा विदेशी कलाकारहरूको तस्बिर हाबी भएको पाएको छु, त्यसैले बढीभन्दा बढी नेपाली कलाकारलाई नै स्थान दिन पाए हुन्थ्यो ।
ऋषि लामिछाने, निर्देशक
साप्ताहिकले युवावर्गमा एक किसिमको छाप छोडेको छ । त्यसैले युवाहरूमा सकारात्मक सोचको विकास हुने खालका सामग्रीहरूले स्थान पाऊन् ।
कर्ण दास, गायक
अहिलेको साखलाई जोगाओस्, साथै महिलाहरूका बारेमा एउटा स्तम्भ नै सञ्चालन गरे राम्रो हुन्थ्यो ।
कुञ्जना घिमिरे, अभिनेत्री
सबै मानिसलाई मात्र मन पर्ने खालको होइन कि थोरै मानिसलाई पनि मन पर्ने खालका सामग्री प्रकाशन भैदिए म खुशी हुन्थेँ ।
सुनिल पोखरेल, रंगकर्मी
साप्ताहिकले सबैको मन जितेको छ । यो हामी तमाम कलाकारहरूलाई चाहिने पत्रिका हो । साप्ताहिक न्युजभन्दा पनि ग्ल्यामर पत्रिका भएकाले यसको साख कायम रहोस् । यसको माधुर्यताले काम गरिरहोस् ।
दीपाश्री निरौला, अभिनेत्री तथा निर्मात्री
साप्ताहिक सबैले रुचाएको पत्रिका हो । यसले पाठकहरूको रुचिमा व्यापकता थपेको छ, पाठकहरूलाई रुचिकर हुने हरेक विषयमा आफूलाई केन्द्रित गर्ने प्रयास गर्दै आएको छ, तैपनि नेपाल बहुभाषिक मुलुक हो, जसले गर्दा साप्ताहिकलाई अरू राष्ट्रिय भाषामा पनि प्रकाशन गरे अझ राम्रो हुने थियो ।
नीर शाह, अभिनेता
साप्ताहिकले सबैलाई समेटेको छ । विशेष गरी हामी कलाकारहरूका लागि यो ठूलो प्लेटफर्म हो । अबका दिनमा साप्ताहिकले चर्चामा नआएका तर राम्रो काम गरिरहेका कलाकारहरूको लुकेको कथा पनि बाहिर ल्याउन सके राम्रो हुन्थ्यो । त्यस्तै, साप्ताहिकको ब्लोअपमा अभिनेत्री तथा मोडलहरूले प्राथमिकता पाएका छन्, यसमा चाहिँ अन्य क्षेत्रका व्यक्तित्वहरूले पनि स्थान पाउनुपर्यो ।
जितु नेपाल, अभिनेता