साप्ताहिक संवाददाता
व्यवसायिक रूपमा सफल चलचित्र कोहलपुर एक्सप्रेसमा पृथक् अभिनय गरेर चर्चामा आउने अभिनेत्री हुन्— ऋचा शर्मा । उक्त चलचित्रमा सोसल साइटमा चर्चित तिर्सना बुढाथोकीको शैलीमा संवाद बोल्ने ऋचाको नाम पनि तिर्सना नै छ । चलचित्रको ट्ेरलर मात्र होइन, समग्र चलचित्रमै ऋचाको उक्त चरित्रलाई दर्शकहरूले मन पराए ।
केही समीक्षकले उनको पात्रलाई लाउड भने पनि समग्रमा ऋचा पृथक् देखिएकी थिइन् । यतिबेला ऋचा आफ्नो नयाँ चलचित्र सुनकेशरीमार्फत अझ पृथक् शैलीमा प्रस्तुत हुने तयारीमा छिन् । जेठको तेस्रो साता प्रदर्शनमा आउने उक्त हरर चलचित्रमा ऋचालाई भूतको गेटअपमा देख्न पाइन्छ । आफ्ना हरेक चलचित्रमा केही न केही प्रयोग गर्न रुचाउने ऋचाले सुनकेशरीको भूतको भूमिकाबाट भने अत्यन्त आशा गरेकी छिन् ।
यो चलचित्रमा मैले निर्वाह गरेको पात्रले दर्शकहरूलाई तर्साउने त छ नै, ऋचा भन्छिन्– सँगसँगै मेरो यो नयाँ प्रयोगलाई सबैले मन पराउनुहुनेछ भन्ने कुरामा पनि ढुक्क छु ।