साप्ताहिक संवाददाता
त्यसै त दसैं हामी नेपालीको महान् पर्व, त्यसमाथि दसैंको फूलपातीको दिनदेखि वास्तविक दसैं प्रारम्भ हुन्छ । त्यसैले उक्त दिन सबैका लागि प्रिय छ । यतिबेला नेपाली चलचित्रमा त्यही फूलपातीले ठूलै लफडा निम्त्याउने सम्भावना देखिँदैछ । पछिल्ला दुईवटा फूलपातीमा दीपकराज गिरीले चलचित्र ‘छक्कापञ्जा’ चलाए । यसपटकको फूलपातीमा पनि उनले छक्कापञ्जा–३ प्रदर्शन गर्ने घोषणा धेरै पहिले नै गरिसकेका छन् ।
रमाइलो कुरा के छ भने यही मितिमा पुराना चलचित्रकर्मी अशोक शर्मा पनि आफूले लामो समयपछि निर्माण गरेको चलचित्र ‘जय भोले’ लिएर आउँदैछन् । शर्माले अधिकांश सिनेमा हलमा प्रसारण हुने टिजरमार्फत फूलपातीको डेटलाई दर्शकको मनमा बसाइसकेका छन् । एउटै मितिमा दुई ठूला चलचित्र एकसाथ प्रदर्शनमा आउने भएपछि दुवै निर्मातालाई तनाव भएको छ ।
यसबीच चलचित्रको प्रदर्शन मिति हेरफेर गर्ने विषयमा गिरी तथा शर्माबीच केही चरणको वार्ता समेत भैसकेको बताइन्छ । यद्यपि दुवै पक्ष उक्त मितिबाट तल–माथि हुने कुरामा सहमत हुन सकेका छैनन् । यदि सहमति भएन भने दसैंमा दर्शकहरूले छानी–छानी नेपाली चलचित्र हेर्ने मौका पाउनेछन्, कि कसो ?