साप्ताहिक संवाददाता
नेपाली आकाशमा २१ वर्षदेखि निरन्तर उडिरहेको छ— बुद्ध एयर । के हिमाल, के पहाड, के तराई सबैतिर । दुई दशकको छोटो अवधिमै आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बन्नु बुद्ध एयरको सबैभन्दा ठूलो सफलता हो । सन् २०१७ मा १२ लाख ६८ हजार यात्रुलाई उडाएको बुद्ध एयरले जति–जति आकाशमा दूरी नाप्दैछ, त्यति–त्यति यसका सेवाग्राही पनि बढिरहेका छन् । भरपर्दो उडानका लागि पहिलो रोजाइमा पर्ने बुद्ध एयरको सफलताका पछाडि यसको प्रबन्ध टिमले गरेको संघर्षलाई नेपालको कर्पोरेट जगतमा उदाहरणीय रूपमा लिइन्छ ।
त्यसकै परिणाम मान्नुपर्छ, ९ करोडबाट सुरु भएको बुद्ध एयर विभिन्न उतारचढावबीच १५ अर्बको ठूलो कम्पनी बनेको छ, जसका पछाडि निरन्तरता, अठोट र चुनौती सामना गर्ने सोचले प्रेरित वीरेन्द्रबहादुर बस्नेतको लगनशीलताले काम गरेको छ । यो २१ वर्षको अवधिमा बुद्ध एयरले पाएको सफलता केही दिनको परिश्रमको बलमा खडा भएको भने होइन ।
२०४२ सालतिरको कुरा हो । त्यतिबेला बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बुबा सुरेन्द्रबहादुरले मोरङमा सञ्चालन गरेको बहुमुखी कृषि फार्मको व्यवस्थापन हेर्थे । उक्त फार्ममा माछापालन, फलफूल तथा अनाज उत्पादन हुन्थ्यो, जसबाट वीरेन्द्रले वार्षिक ७ लाख रुपैयाँजति आम्दानी गर्थेे, तर त्यो आम्दानीले वीरेन्द्रको परिवारको खर्च धान्न मुस्किल हुन थाल्यो । यही क्रममा उनीहरूले अरू कुनै क्षेत्रमा लगानी गर्नेर्े सोच बनाए, तर कुन क्षेत्रमा लगानी गर्ने भन्ने दुविधा थियो । त्यतिबेला उनीहरूको दिमागमा कार्पेटदेखि गार्मेन्ट व्यापारसम्मका कुरा आए । त्यो कार्पेट र गार्मेन्टको व्यापार पनि ओरालो लागेको समय थियो । यही क्रममा एक्कासि वीरेन्द्रको दिमागमा एयरलायन्समा लगानी गर्ने सोच पलायो ।
उनको त्यो सोचमा बुबा सुरेन्द्रबहादुरले साथ दिए पनि परिवारका अरू सदस्यहरूले त्यसलाई महत्वाकांक्षी भनिरहेका थिए । वास्तवमा त्यतिबेला नेपालको परिवेशमा महँगो विमान ल्याएर सफल रूपमा उडान भर्न असम्भव नै थियो, तर वीरेन्द्र दत्तचित्त भएर लाग्ने हो भने पक्कै पनि सम्भव हुन्छ भन्नेमा विश्वस्त थिए । अर्को कुरा, बुबा एवं पूर्वमन्त्री सुरेन्द्र पैसा कमाउन व्यापार नै गर्नुपर्छ भनेर हौस्याउँथे । उनले एयरलायन्स सुरु गर्ने विषयमा धेरै मानिससँग सल्लाह लिए । यही क्रममा सन् १९९६ मा बुद्ध एयरलायन्स दर्ता भयो । बुद्ध एयर दर्ता त भयो, तर त्यसलाई सञ्चालन कसरी गर्ने ?
ठूलो चुनौती थियो । एयरलायन्स सुरु गर्न थोरै लगानीले सम्भव थिएन । त्यसपछि उनले आफ्नो पुस्तैनी घरजग्गा धरौटी राखेर ९ करोड रुपैयाँ ऋण लिए । जसबाट उनले अमेरिकाबाट १९०० डी बिचक्राफ्ट नामक नयाँ जहाज ल्याए, जसको मूल्य त्यतिबेला ५० लाख अमेरिकी डलर थियो । त्यतिबेला उनले १० प्रतिशत डाउन पेमेन्ट तथा ९० प्रतिशत फाइनान्समार्फत उक्त विमान काठमाडौं ल्याएका थिए । सन् १९९७ अक्टोबर ११ मा बुद्ध एयरलायन्सले काठमाडौं–पोखराबीच पहिलो उडान गर्यो ।
बुद्ध एयरसँगको प्रतिस्पर्धामा अन्य एयरलायन्सहरू पनि थिए । संसारको सबैभन्दा चुनौतीपूर्ण व्यवसाय भनेको हवाई व्यवसाय हो, त्यसैले बुद्ध एयरलाई पनि सुरुवाती पाँच वर्ष आर्थिक रूपमा निकै संकट परेको बस्नेत सम्झन्छन् । बस्नेत भन्छन्— हामी घाटामा गयौं भनेर कहिल्यै हिम्मत हारेनौं, एउटा लक्ष्य राखेर काम गर्यौं र अहिले सफल भयौं । आफ्ना प्रारम्भिक दिनमै बुद्ध एयरले माउन्टेन फ्लाइट सुरु गर्यो । नेपालमा माउन्टेन फ्लाइटलाई बुद्ध एयरले नै स्थापित गरेको बस्नेतको दाबी छ । त्यतिबेला बुद्ध एयरको प्रतिस्पर्धामा ठूला व्यापारी घरानाको लगानी भएको नेकोन, एभरेस्ट, नेपाल एयरवेज जस्ता एयरलायन्स थिए ।
ती सबै एयरलाइन्स क्रमश: बन्द हुँदै गए । त्यस्तो परिस्थितिमा पनि वीरेन्द्रबहादुर बस्नेतले हिम्मत हारेनन् उनले आफ्नै ढंगले बुद्ध एयरलाई व्यवस्थापन गरे । त्यसबीच बुद्ध एयरका सेयरहोल्डर शिवेन्द्रबहादुर बस्नेत आफ्नो सम्पूर्ण सेयर दाजु वीरेन्द्र र बुबा सुरेन्द्रलाई बिक्री गरी प्रज्ञानशमशेरसँग मिलेर माउन्टेन एयर स्थापना गरेर प्रतिस्पर्धामा आए । माउन्टेन एयरले पनि बुद्ध एयरले नै उडाइरहेको विमान कम्पनीले बनाएको १९०० सी बिचक्राफ्ट उडाउन थाल्यो । कालान्तरमा माउन्टेन एयर बन्द भयो । माउन्टेन एयरले उडाइरहेको विमानलाई निर्माता कम्पनीले बुद्ध एयरलाई नै लिजमा दिने निर्णय गर्दा वीरेन्द्रबहादुर बस्नेतले ठूलो साहस देखाएर ती विमानलाई आफ्नो बेडामा सामेल गरे । यो घटनाले पनि बुद्ध एयरप्रति यात्रु तथा लगानीकर्ताको विश्वास बढायो । त्यसको केही समयमै कम्पनी नाफामा गयो ।
२० जना कर्मचारीबाट सुरु भएको बुद्ध एयरलायन्समा हाल एक हजारभन्दा बढी कर्मचारी छन् भने बुद्ध एयरसँग ११ वटा विमान छन् । वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयरमा आफूले अर्जुनदृष्टि लगाएर काम गरेको बताउँछन् । बस्नेत भन्छन्– हरेक काम गर्न एउटा लक्ष्य निर्धारण गर्नुपर्छ, त्यही लक्ष्य फेला पार्ने उद्देश्यले निरन्तर खटिनुपर्छ ।
बुद्ध एयरलायन्ससँग हाल १५ अर्ब रुपैयाँ बराबरको सम्पत्ति छ । बुद्ध एयरले अहिले वार्षिक साढे ७ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ । अहिले बुद्ध एयरसँग बिच १९०० डि– २ वटा, एटीआर ४२– ३ वटा तथा एटीआर ७२– ६ वटा छन् । बुद्ध एयरले चाँडै एयरबस र बोइङ भित्र्याउने तयारी गरिरहेको छ ।
बुद्ध एयरले हाल १६ स्थानमा उडान भर्दै आएको छ । यसले निकट भविष्यमा आन्तरिक उडान थप्ने तथा वैदेशिक उडानमा जाने योजना बनाएको छ । बुद्ध एयरले आगामी नोभेम्बर ३० देखि कोलकाताको उडान भर्दैछ । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमान बन्नुभन्दा ६ महिना पहिलेदेखि नै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने योजनासमेत बनाएको छ ।