साप्ताहिक संवाददाता
सन्दीपले पूरा नेपाललाई गर्वित तुल्याएका छन् ।
पारस खड्का, नेपाली क्रिकेट टिमका कप्तान
सन्दीपको बलिङमा जादु छ । उनको प्रदर्शन उनको उमेरभन्दा धेरै अगाडि छ ।
विनोद दास, क्रिकेट प्रशिक्षक तथा पूर्व कप्तान
आईपीएलमा सन्दीपको धेरै सम्भावना छ । उनीबाट लामो समयसम्म यस्तै राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिन्छ ।
रिकी पोन्टिङ, मेन्टर दिल्ली डेयरडेभिल्स कप्तान
सन्दीप जस्ता धेरै युवाले यसपटकको आईपीएलमा राम्रो प्रदर्शन गरे । यसबाट म आश्चर्यचकित छु ।
एबी डे भिल्लियर्स, दक्षिण अफ्रिकी खेलाडी
सन्दीपको उमेरमा नजानु होला, उनको खेल हेर्दा लाग्छ, उनले सयौं यस्ता ठूला खेल खेलिसके ।
आकाश चोपडा, कमेन्टेटर तथा पूर्व भारतीय खेलाडी
आईपीएलमा सन्दीपको प्रदर्शनको प्रशंसा गर्नैपर्छ । यो नेपाली क्रिकेटका लागि ठूलो अवसर हो ।
हर्ष भोगले, क्रिकेट कमेन्टेटर
सन्दीपको प्रदर्शन देखेर म निकै खुसी छु ।
माइकल भन, कमेन्टेटर तथा इंग्ल्यान्डका पूर्वकप्तान
#सन्दीप–आईपिएल
इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडी हुन्– सन्दीप लामिछाने । दिल्ली डेयरडेभिल्ससँग आबद्ध भएर आईपीएलका तीनवटा खेल खेल्ने अवसर पाएका सन्दीपले तीनवटै खेलमा विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । अघिल्ला खेलमा उनलाई नखेलाएकोमा दिल्लीका पदाधिकारी, कप्तान, सहकर्मी, कमेन्टेटर तथा शुभेच्छुकहरूले पछुतो समेत माने । उनको खेलको पनि निकै प्रशंसा भयो । सामाजिक सञ्जालमा सन्दीपका सम्बन्धमा व्यक्त प्रतिक्रियाहरू :
तीन खेलमा ५ विकेट लिँदै सनसनी मच्चाए सन्दीपले । दिल्लीले २० लाखमा गुण लायो यो वर्ष तर अब ढुक्कै छ अर्को वर्ष अक्सनमा उनीमाथि करोडभन्दा माथिको बोली लाग्नेछ ।
प्रमोद खरेल
क्रिकेट खेल्नेहरूका बावा–आमाले कति गाली गर्या होलान है । त्यो केटो त्याँ पुगिसक्यो, तँ लाठे अझै क्याम्पाचौर, नौ बिगाहातिर हल्लिँदै बस् ।
सन्ते
दिल्लीलाई यति पछुतो होस् कि, सन्दीपलाई बेलैमा खेलाएको भए यस्तो बिजोग देख्नु पर्दैनथ्यो– बस्, पुग्छ ।
नारायण अमृत
दिल्लीले चाँदीलाई हीरा बनाएर नै मैदानमा उतारेको हो । हतार गरेको भए चाँदी पित्तल पनि हुन सक्थ्यो । त्यसैले उनलाई प्लेइङ ११ मा ल्याउन ढिला भयो भन्ने कुरामा म चाहिँ सहमत हुन सक्दिन ।
बिके संग्राम अन्डरलाइन
नेताहरू दिल्ली पुगेर देशको बेइज्जत गरेर आउँछन्, तर एउटा केटो दिल्ली गएर देशको इज्जत राखेर आउँछ । धन्यवाद सन्दीप लामिछाने ।
रचना
विश्वास र भर गर्न मुस्किल रहेछ । हाइलाइटमा जो आयो उसैको पछि दौड्ने मन हुँदो रहेछ । अस्तिसम्म अनमोल केसी भनेर परान फाल्ने केटीहरू आजभोलि मेरो प्रिय सन्दीप भन्न थाले ।
नेपाल टीबीएन
हाम्रो देशका गल्ली–गल्लीमा सन्दीप लामिछानेजस्ता प्रतिभावान युवा क्रिकेटरहरू छन् । तिनको प्रतिभा पहिचान गरी देशका लागि खेलाउन सक्नुपर्ने हो, तर यहाँ क्रिकेट संघ नै कुर्सीको लडाइँका कारण थला परेको छ भने युवा क्रिकेटरहरूको प्रतिभा खाडीतिर बेल्चा हान्न उपयोग हुँदैछ ।
दीपेन्द्र विष्ट
ब्याटिङ गर्नेलाई ब्याट्सम्यान भनिन्छ अनि विकेट लिनेलाई सन्दीप लामिछाने ।
सुनिता तिमिल्सिना
दाजु रवि लामिछानेले देश हल्लाए, भाइ सन्दीप लामिछाने अन्तर्राष्ट्रिय लेभलमा तहल्का मच्चाउँदैछन् । म चाहना लामिछानेले चाहिँ केही गर्न नसक्ने भएँ ।
चाहना
खुसी त त्यति बेला लाग्छ, जब कसैले आफ्नै पौरखले देशको नाम चम्काउँछ ।
मञ्जरी
अस्तिसम्म यो खेलाडीभन्दा सन्दीप राम्रो, त्यो खेलाडीभन्दा सन्दीप राम्रो भनेर लेख्दा धेरैले भनेका थिए, पहिले क्रिकेट बुझेर आइज तर आज सन्दीपले आफूलाई प्रमाणित गरिदिएका छन् ।
निर्मल भण्डारी
सन्दीप लामिछाने, सन्दुक रुइत, महावीर पुन, कुलमान घिसिङजस्ता केही व्यक्ति जन्मिएछन् र पो अहिले नेपाल भन्ने देश पनि छ भनेर चिनिएको छ । नेताहरूमा नाम लिन मिल्ने एउटै पात्र जन्मिएनन् ।
सम्झना
कस्तो विडम्बना हाम्रो, सन्दीप लामिछाने भारतको आईपीएलमा खेलेको हेरेर खुसी हुनुपरेको छ । छोराको अमेरिकाको भिसा लाग्यो भनेर बाबाको सान बढेको छ । छोरी अस्ट्रेलिया जाने भै भनेर आमाको सान बढेको छ अनि बाबा कतारबाट कहिले के लिएर फर्कन्छन् भनेर छोरा–छोरी खुसी हुनु परेको छ ।
उपाध्ये बाहुन