साप्ताहिक संवाददाता
मनोरम वातारण, फेसन र स्टाइलका शालीन शैलीहरु, भव्य स्टेज सेटअप, सेलिब्रेटी दर्शक दीर्घाको राम्रो जमघट तथा आस्था पोखरेल, सविता कार्की, नगमा श्रेष्ठ, शिक्षा संग्रौला लगायतका कहलिएका रनवे क्वीनहरुका साथमा ह्यान्डसम लुक्स भएका पुरुष मोडलहरुको आकर्षक प्रस्तुतिले गत साता होटल सोल्टी क्राउन फेसन अनुपम र अविष्मरणीय उडानमा विचरण गराएको थियो ।
दलजीत सुदान फेसन रनवे २०१८ शीर्षकमा संचालन भएको उक्त भव्य फेसन शोमा जाफ्रोन अर्थात् केसर प्रजातिको वृक्षबाट प्रभावित र प्रेरित पहिरनहरु प्रस्तुत गरिएका थिए । डिजाइनर दलजित कौर सुदानको एकल फेसन शोका रुपमा रहेको सो फेसन कार्यक्रममा जादू, पारदर्शिता र परंपरागत अवधारणामा तीन सिक्वेन्स प्रस्तुत गरिएका थिए ।
नेक्सट मोडल्स नेपालको व्यवस्थापनमा रचना गुरङ शर्माको कोरियोग्राफी अन्तर्गत संचालन भएको सो फेसन कार्यक्रममा साडी, लेहेंगा, कुर्ता सुरुवाल, पाइजामा, सरारा, अस्कोट, दौरा सुरुवाल, शेरवानी लगायतका पहिरनहरुको परंपरागत तथा फ्युजन शैलीका पहिरनदेखि फर्मल लुक्सका सृजनाहरु निकै शालीन र सभ्य शैलीमा रनवेमा प्रदर्शन गरिएका थिए ।
यु स्टाइलको फ्लोर रनवेमा प्रस्तुत गरिएको सो फेसन प्रदर्शनीमा देख्न पाइएका पहिरनहरुमा हाते बुना इम्ब्रोइडरी, मिहिन कालिगडी, फ्लावर मोटिफ आदिको सुन्दर एवं आकर्षक संयोजनले पहिरनको सुन्दरता, मनमोहकता अझ बढी भव्य बन्न पुगेको थियो । मूलत: पहिरनहरुमा सेतो, पहेंलो, प्याजी, सुन्तला, पर्पल, कालो, अल्ट्रा भोयलेट जस्ता रंगहरुको प्रधानता देख्न पाइएको थियो ।