साप्ताहिक संवाददाता
बितेका केही सातायता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा केही नयाँ मोबाइल सेट देखा परेका छन् । नोकिया, एलजी, सामसङ, हुवावे तथा भिभोका यी फोनका केही विशेषता :
नोकिया एक्स– ६
नोकियाले आफ्नो पछिल्लो मोडलको स्मार्टफोन नोकिया एक्स–६ सार्वजनिक गरेको छ । नोकियाले पहिलो पटक आफ्नो यो फोनमा क्वालकम स्न्यापड्रागन ६३६ चिपसेट प्रयोग गरेको छ । यसमा अक्टाकोर १ दशमलव ८ गिगाहर्ज स्पिड छ । त्यसैगरी यो सेट ४ तथा ६ जीबी र्याममा उपलब्ध छ । धेरै भिडियो हेर्न तथा गेम खेल्न रुचाउनेहरूका लागि यो सेट बढी उपयोगी देखिन्छ । गोरिल्ला ग्लास भी–३ द्वारा सुरक्षित यो स्मार्टफोन कतै खस्दा समेत केही असर पर्दैन । यसमा ३२ तथा ६३ जीबी इन्टरनल मेमोरी छ भने ३ हजार ६० एमएएचको ब्याट्री छ । १६ एमपी ड्युअल एवं ५ एमपी रियर क्यामेरायुक्त नोकिया–६ मा सेल्फीका लागि १६ एमपीको सेन्सर जडान गरिएको छ । यसबाट फोरके एचडी भिडियो खिच्न सकिन्छ । फेस अनलक तथा फिंगरप्रिन्ट सेन्सर आदि सुविधायुक्त नोकिया–६ ले पहिलेको नोकिया फोनभन्दा फरक विशेषता बोकेको दाबी गरिएको छ ।
भिभो भी–९ युथ
भिभोको पछिल्लो स्मार्टफोन भिभो भी–९ नेपाली बजारमा सार्वजनिक भएको छ । भिभो भी–९ युथमा ६ दशमलव ३ इन्चको ठूलो फुल भ्यू डिस्प्ले छ । यसले आइफोन चलाएजस्तै अनुभव प्रदान गर्ने दाबी गरिएको छ । यसको क्यामेरामा एक्सपोजर तथा आइएसओ कन्ट्रोल, डिजिटल जुम, अटो फ्ल्यास, फेस डिटेक्सन तथा एलईडी फ्ल्यासजस्ता फिचर समावेश छन् । मोबाइल फोटोग्राफी रुचाउनेहरूका लागि यो सेट विशेष उपयोगी छ । यसमा भएको गेम मोडका कारण स्मार्टफोनमै गेम खेलिरहेको समयमा पनि फोनकल, म्यासेज तथा अन्य एलर्टहरूलाई रोक्न सकिन्छ । नेपाली बजारमा यसको मूल्य २९ हजार ३ सय ९० रुपैयाँ पर्छ ।