वसन्त ऋतु सगरमाथा आरोहीहरूका लागि सबैभन्दा उत्तम मौसम हो । गएको ६५ वर्षदेखि संसारको सबैभन्दा अग्लो शिखर सगरमाथामा पाइला टेक्ने अधिकांशले यही मौसम छनौट गर्दै आएका छन् । यो वर्षको आरोहण धमाधम चलिरहेको छ । पहिलो सातामै करिब २ सय ५० जति नेपाली तथा विदेशीले सगरमाथाको शिखरमा पाइला टेकिसकेका छन् । यतिबेला विश्वको सर्वोच्च शिखर चुम्ने होडबाजी पनि उत्कर्षमा पुगेको छ ।
४३ वर्षअघि सगरमाथा आरोहणकै प्रयास गर्दा दुवै खुट्टा गुमाएका चिनियाँ आरोही सिया बोयुले पनि यही साता शिखरमा पाइला टेके । अस्ट्रेलियाली आरोही स्टिभ प्लेनले १ सय १७ दिनभित्र सातवटा महाद्वीपका अग्ला हिमाल आरोहण गरेका छन् । सगरमाथामा अनेकन् किर्तिमानी राख्ने चलनले अझै निरन्तरता पाइरहेकै छ । यो वर्ष सगरमाथा आरोहणका लागि ३८ वटा समूहका ३ सय ६४ आरोहीले अनुमति लिएका थिए । अनुमति लिएका समूह मध्ये ४ वटा समूह नेपाली आरोहीहरूको छ जसमा २० जना सदस्य छन् ।
मे २९ तारिखका दिन सगरमाथा आरोहणको ६५ वर्ष पुरा भएको छ । पहिलो पटक सन् १९५३ मे २९ का दिन एडमन्ड हिलारी र तेन्जिङनोर्गे शेर्पाले पहिलो मानव पाइला सगरमाथाको शिखरमा राखेका थिए । त्यसअघि आरोहणको प्रयास भए पनि सफल भएको थिएन । सगरमाथामा हालसम्म ८ हजारभन्दा बढीले पाइला टेकिसकेका छन् भने सयौंले ज्यान गुमाएका छन् । योवर्ष पनि एक मलेसियाली तथा एक जापानीले ज्यान गुमाएका छन् भने एक नेपाली बेपत्ता छन् ।
कामिरिता बाईसौं
पटक शिखरमा
कामिरिता शेर्पाले २२ औं पटक सगरमाथाको शिखरमा पाइला राखेका छन् । उनले जेठ २ गते बुधबार बिहान ८ बजेर ३० मिनेटमा उक्त आरोहण पूरा गरेसँगै नयाँ विश्व कीर्तिमान बनेको छ । यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेर आप्पा शेर्पाले विश्व कीर्तिमान राखेका थिए ।
कामिरिताले आरोहणमा जानुअघि आफूले आप्पाको किर्तिमानी तोड्न नभै काम र बाध्यताले जान लागेको बताएका थिए । पासाङ ल्हामु गाउँपालिका– ५, थामे सोलुखुम्बुका ४८ वर्षीय कामिरितालाई अहिले सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ । कामिरिताले सगरमाथा चढ्न थालेको सन् १९९२ देखि हो । उनले पहिलो सफल आरोहण १९९४ मे १३ तारिखका दिन गरेका थिए । कामिरिताले चारवर्ष ‘रोप फिक्सिङ’ (क्याम्प २ देखि शिखरसम्म डोरी टाँग्ने) टोलीको नेतृत्व गरे । उनले एकै पटक दुई पटकसम्म पनि सगरमाथा आरोहण गरेका छन् ।
सन् २०१२ मा रोप फिक्सिङ गरेर फर्किएपछि चौथो शिविर बाट विदेशी टोलीलाई चुचुरोमा पुर्याए, तर उनले त्यो वर्ष दुईपटक आरोहण गरेको प्रमाणपत्र पाएनन् । उनले ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमाल चढिसकेका छन् । कामिरीताले संसारकै जोखिमपूर्ण मानिएको पाकिस्तानको माउन्ट केटुको आरोहण सन् २०१४ मै गरेका थिए । त्यसैगरी उनी ल्होत्से,
चोयु तथा मनास्लु पनि चढिसकेका छन् । आप्पा पछि खुम्जुङका फुर्वाटासी शेर्पाले २१ पटक नै सगरमाथा आरोहणका थिए । आप्पाले सन् २०११ देखि आरोहण छोडे । फुर्वाले सन् २०१३ देखि आरोहण परित्याग गरे । त्यसपछि निरन्तर बढी पटक आरोहण गर्ने कामिरिता एक्ला आरोही हुन् ।
स्काउटर अनिश दोस्रो पटक
नेपाल स्काउटका तर्फबाट पहिलो सगरमाथा आरोही अनिश लुइँटेलले दोस्रो पटक सगरमाथाको शिखरमा पाइला राखेका छन् । मेचीनगर–४, झापाका २६ वर्षीय लुईटेलले यसपटक तिब्बती मोहडाबाट आरोहण गरेका हुन् । उनले अमेरिकामा हुन लागेको २४ औं वल्र्ड स्काउट जेम्बोरीको झन्डा सगरमाथाको शिखरमा फहराएका थिए ।
लुइँटेल दुई वर्षअघि नेपालको संविधान–२०७४ लाई सगरमाथा शिखरमा पुर्याएर चर्चित भएका थिए । उनलाई यो वर्ष आरोहणकै क्रममा रहँदा बेलायती साहसिक अन्वेषक बियर ग्रिल्सले शुभकामना सन्देश पठाएका थिए ।
डिस्कभरी च्यानलमा ‘म्यान भर्सेज वाइल्ड’ टिभि शोका प्रस्तोता बियर ग्रिल्सले म्यासेन्जर मार्फत भिडियो सहित शुभकामना सन्देश पठाएका हुन् । संसारप्रसिद्ध साहसिक अन्वेषकले पठाएको सन्देशले थप साहस प्रदान गरेको लुइँटेलले बताएका छन् । ग्रिल्सले भिडियोमा आफूले अनिशको काम हेरिरहेको र सामाजिक सञ्जालमा पछ्याइरहेको बताएका छन् ।