बेलायती राजकुमार ह्यारी तथा हलिउड अभिनेत्री मेगान मर्केलबीच गत सप्ताहन्तमा (१९ मे) धूमधामसँग विवाह भयो । उक्त शाही विवाहलाई विश्वभरका झन्डै १८ मिलियन दर्शकले टिभीमार्फत अवलोकन गरेको अनुमान छ । विवाह समारोहस्थल विन्सोर क्यासलमै सहभागी हुनेहरूको संख्या नागरिक समाजबाट २ हजार ६ सय ४० तथा च्यापलभित्रै जाने विशेष निम्तालु ६ सय थिए । सडक किनारमा लामबद्ध हुनेहरूको संख्या भने लाखौंमा थियो ।
विन्सोर क्यासलमा प्रत्यक्ष उपस्थित भएर शाही विवाह अवलोकन गर्न पाउने थोरै भाग्यमानी मध्ये भूपू गोर्खा अनिल गुरुङ तथा उनकी जीवनसंगिनी बबिना पनि थिए । बेलायती प्रधानमन्त्री टेरेजा मे, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा जस्ता कयौं विश्व नेताहरूलाई नबोलाइएको उक्त विशेष समारोहमा दरबारले गुरुङ दम्पत्तिलाई भने सम्झिएको थियो ।
‘राजखानदानको विवाहको प्रत्यक्ष साक्षी बन्न पाउँदा गर्व लागेको छ’, अनिलले भने, ‘रेड कार्पेटमा ह्यारी र मेगानलाई नजिकबाट अभिवादन गर्ने मौका पायौं । यो हाम्रा लागि ठूलो भाग्यको कुरा हो । घमाइलो मौसमले पनि समारोहको वातावरण अझ रमाइलो र अविस्मरणीय बनाएको थियो ।’
विवाह हुने दिन १९ मे शनिबार बिहानै ६.३० बजे मेडस्टोनबाट विन्सोर क्यासल पुगेका थिए गुरुङ दम्पती । ड्रेस कोड थिएन, कम्फोर्टेबल पोसाक लगाए हुन्छ भनिएको थियो । बरु ९.३० बजेसम्म पुगिसक्नुपर्ने निर्देशन थियो । ट्राफिक जाम नभएकाले बेलैमा पुगे उनीहरू । ‘कार पार्कबाट विवाहस्थल पुग्न झन्डै एक माइल हिंड्नुपर्ने रहेछ’, अनिल स्मरण गर्छन्, ‘बाटो देखाउने गाइडहरू बाटोभरि थिए । पुलिसको पनि बाक्लो उपस्थिति थियो । निम्तालुका ब्याग, निमन्त्रण पत्र तथा आइडी हेरेर एयरपोर्ट स्तरकै जाँच भएपछि मात्र उनीहरूलाई प्रवेश दिइएको थियो ।’
विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापल बाहिर पब्लिक मेम्बरहरू बस्न छुट्याइएको क्षेत्रमा गुरुङ दम्पती बसे । उनीहरूलाई पानीको बोतल, चलकेट, बिस्कुट, कार्यक्रमसम्बन्धी लिफ्लेट आदि राखिएको ‘गिफ्ट ब्याग’ प्रदान गरिएको थियो । ‘मानिसहरू ज्यादै उत्साहित देखिन्थे, वनभोजमा सहभागी भएजस्तो । ह्यारी दम्पती विवाह सकेर बाहिरिएपछि च्यापल भित्र जान पाइन्थ्यो तर लामो लाइन भएकाले मलाई उभिन गारो भएपछि झन्डै २ बजेतिर हामी त्यहाँबाट निस्कियौं’, अनिलले भने ।
शाही विवाहमा निम्तो पाउनुका पछाडि अनिलको पृष्ठभूमिले काम गरेको छ । ब्रिटिस आर्मीको टु आर जिआरमा ६ वर्ष काम गरेपछि अनिलले सन् २०१३ मा मेडिकल ग्राउन्ड्समा अवकाश लिएका थिए ।
गस्तीका क्रममा अफगानिस्तानको मुसाकला भन्ने ठाउँमा तालिवानको बम विस्फोटमा परे अनिल । गर्हँुगो सामान बोकेर हिंडेका बेला बेलुका उनी एक जना मात्र विस्फोटमा परेका थिए । घटनामा उनी बाँचे तर दाहिने खुट्टा गुमाएर छिट्टै सेवाबाट विश्राम लिनुपर्यो, जीवनभरको शारीरिक अपांगता लिएर । गोर्खाहरूसँग ह्यारीको निकट सम्बन्ध तथा अनिलको पनि च्यारिटीमा सक्रियताका कारण उनले श्रीमतीसहित यो शाही विवाहमा सहभागी हुने अवसर पाएका थिए । उनीहरूले विवाहको निम्तो पत्र एक महिनाअघि अप्रिल पहिलो सातातिर पाएका थिए । आउने कन्फर्म गरेपछि अप्रिल अन्तिममा पास आएको अनिल बताउँछन् ।
राजकुमार ह्यारीले स्थापना गरेको ब्रिटिस आर्मीको अपांगतासम्बन्धी अन्तर्राष्ट्रिय खेल इन्भिक्टस गेममा अनिलले सिटिङ भलिबलमा गोल्ड मेडल ल्याएका थिए । सन् २०१४ मा लन्डनस्थित क्विन एलिजावेथ ओलम्पिक पार्कमा पहिलो पटक उक्त प्रतियोगिता भएको थियो । त्यसैगरि, सन् २०१६ मा अमेरिकाको फलोरिडामा दोश्रो इन्भिक्टस गेम हुँदा अनिलले सिल्भर मेडल मात्र जितेनन्, ह्यारीसंग प्रशिक्षणका क्रममा नजिक भएर गफिने मौका पनि पाए । ‘त्यतिबेला ह्यारीले मेरो अवस्थाका बारेमा सबै कुरा सोध्नुभयो । मैले घटनाको वेलीविस्तार लगाएँ । त्यसबाहेक च्यारिटीमा मेरो प्रत्यक्ष संलग्नताका कारण पनि विवाहमा मलाई बोलाइएको हुनुपर्छ’, अनिल भन्छन् ।
अनिल हाल रोयल ब्रिटिस लिजन इन्डष्ट्री (आरबीएलआइ) मा काम गर्छन् । उनले गत वर्ष नोभेम्बर २०१७ मा एभरेस्ट बेस क्याम्पसम्म ट्रेकिङ च्यारिटी गरेर ११ हजार २ सय २५ पाउन्ड संकलन गरेका थिए ।
च्यारिटी भनेपछि हुरुक्कै हुन्छन् उनी । आगामी जुन ८ देखि १० सम्म च्यारिटी साइक्लिङ आरबीएलआइ सेन्टेनरी राइडका लागि बेल्जियमको यात्रा तय गर्दैछन् अनिल । दिनमा ७५ माइल साइक्लिङ गर्नुपर्ने भएकाले चुनौती भए पनि आफू पूर्ण आत्मविश्वास भएको उनले बताए । अनिल आरबीएलआईको सय उत्कृष्ट कामदारमा पर्छन् ।
तोडियो राज परम्परा
बेलायती राजपरिवारका रौसिला राजकुमार ह्यारी बेलायती राजपरम्पराका धेरै मान्यतालाई तोड्दै आफूभन्दा तीन वर्ष जेठी प्रेमिकासँग गत शनिवार विवाह–बन्धनमा बाँधिए । विवाह समारोह शाही परम्पराअनुसार भए पनि बेलायती राजपरिवारमा भित्रिने मेगन मर्केल पहिलो अमेरिकन तथा अभिनेत्री हुन् ।
सन् २०१३ मा हलिउड अभिनेता ट्रेभोर इन्गेल्सनसँग दुई वर्षको वैवाहिक जीवन समाप्त गरेकी मेगनको भेट राजकुमार ह्यारीसँग भएपछि उनीहरू प्रेममा परेका थिए । साथीभाइहरूसँगको जमघटमा भएको उनीहरूको भेट प्रेम हुँदै सारा विश्वकै ध्यान केन्द्रित गर्ने विवाह समारोहमा परिणत भएको थियो । ह्यारीकी हजुरमुमा महारानी एलिजावेथले ह्यारीको मेगनसँगको प्रेममा सहमति जनाउँदै विवाहका लागि अनुमति दिएदेखि नै यो विवाहले चर्चा पाएको थियो । बेलायती राजपरिवारले यो विवाहलाई राजनीतिक रंग नदिन विवाह समारोहमा राजनेताहरूको तुलनामा अन्य क्षेत्रका चर्चित व्यक्तित्वहरूलाई निमन्त्रण गरेको थियो, जसमा हलिउडदेखि बलिउडसम्मका सेलिब्रेटी तथा खेल क्षेत्रका हस्तीहरू सहभागी थिए ।
ह्यारीले आफ्नो विवाहका लागि शाही परम्पराअनुसार सेन्ट जर्ज च्यापल चर्च नै चयन गरेका थिए । यो चर्च ह्यारीका पिता राजकुमार चाल्र्सले क्यामेला पार्करसँग दोस्रो विवाह गरेपछि चर्चामा आएको थियो । बेलायती राजपरिवारको विवाह भव्य हुने कुरा त आफ्नो ठाउँमा छँदैछ, खर्चका हिसाबले समेत यो विवाह चर्चामा छ । बेलायती सञ्चारमाध्यमहरूका अनुसार यो विवाहमा ४ अर्ब ३० करोड रुपैयाँ खर्च भएको अनुमान छ, जसमध्ये ठूलो हिस्सा सुरक्षामा खर्च भएको बताइएको छ ।