जेष्ठ १६, २०७५
सबैलाई आफ्नो शरीरको बनावट मन पर्छ भन्ने छैन । आफ्नो शरीरको प्राकृतिक बनावट मन नपराएका एक युवकले आफ्नो शरीरमा ४० पटक परिवर्तन ल्याउने प्रयास गरेका छन् । अस्ट्रेलियाका २१ वर्षीय इथान ब्राम्बेलले ११ वर्षको उमेरदेखि आफ्नो शरीरमा विभिन्न परिवर्तन गर्न थालेका हुन् ।
यसक्रममा उनले आँखाको नानीको वरिपरिको सेतो भागलाई कालो बनाए, नाकका विभिन्न भागमा प्वाल पारे, पेटको अघिल्लो भाग हटाए, जिब्रोलाई बीचबाट चिरे, ओठको माथिल्लो र तल्लो भागमा प्वाल पारे, कानका केही भाग काटेर फाले भने कानको लोतीको भाग चिरेर ठुलो प्वाल बनाए ।
अस्ट्रेलियाका युवाहरूमध्ये आफ्नो शरीरलाई सर्वाधिक परिवर्तन गर्ने व्यक्तिमा दरिएका इथानलाई अहिले इन्स्टाग्राममा धेरैले पछ्याउन थालेका छन् । इन्स्टाग्राममा आफ्ना ६५ हजार फलोअर्सलाई उनी मोडिफाई गरिएको आफ्नो शरीर देखाउँछन् ।