साप्ताहिक संवाददाता
जेष्ठ १९, २०७५
कसैको नक्कल गर्न पनि अक्कल चाहिन्छ । नक्कल अर्थात क्यारिकेचर गर्नु सबैभन्दा मनपराइने कलामध्ये एक हो । यस्तो खुबी हत्तपत्त कसैसँग हुँदैन । नेपालका क्यारिकेचर कलाकारहरूमा धेरैभन्दा धेरै १० जनासम्मको क्यारिकेचर गर्ने खुबी पाइन्छ ।
अहिले युट्युबमा चर्चा कमाइरहेका क्यारिकेचर कलाकार दिनेश काफ्लेले त्यसमा सबैलाई उछिनेका छन् । उनी एकसाथ सयभन्दा बढी नेपाली कलाकार, नेता आदिको आवाजको नक्कल गर्न सक्छन् । यही खुबीका कारण उनको माग बढ्दो छ ।
नक्कल पनि दुरुस्तै गर्नसक्ने भएकाले उनको माग बढेको हो । युट्युबमा उनको क्यारिकेचर हेरेर उनका प्रशंसक पनि बढेका छन् । रेडियो अडियोका आरजे दिनेश भन्छन्–‘आवाज केही फरक खालको छ भने केही समयको अभ्यासपछि सकेसम्म उस्तै निकाल्ने प्रयास गर्दै आएको छु ।’