साप्ताहिक संवाददाता
एभरेष्ट डेको अवसर पारेर सोलुखुम्बुको नाम्चेबजारमा ‘एभरेष्ट डे–२०१८’ सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको छ ।
पार्टी एभरेष्ट इन्टरनेशनल इन्टरटेन्मेन्टको व्यवस्थापनमा नाम्चे युथ ग्रुपले नाम्चेबजारमा लोकप्रिय कलाकारहरुको साथमा लाईभ कन्सर्ट तथा डान्स पार्टी सञ्चालन गरेको हो । पार्टी एभरेष्टका पासाङ छिरिङ शेर्पाका अनुसार ‘एभरेष्ट डे–२०१८’ को कन्सर्ट विश्वकै सबैभन्दा अग्लो स्थानमा आयोजना भएको कन्सर्ट तथा डान्स पार्टी भएको छ ।
‘सगरमाथाको फेदी अनुपम छ ठाउँ, आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाउँ’ भन्ने नारा राखेर आयोजना भएको सांगीतिक कार्यक्रममा नेपाली मूलका ईन्डियन आइडल प्रशान्त तामाङसहित नेपाली गायकहरु बद्री पंगेनी, अभिनाश घिसिङ तथा लोक गायिका प्रिया भण्डारी आकर्षणको केन्द्र बनेका थिए । कार्यक्रममा सहभागि हुन मुम्बईबाट काठमाडौं हुँदै एयर डाइनेष्टिको हेलिकोप्टरबाट लुक्लाहुँदै नाम्चे बजार पुगेका गायक प्रशान्त तामाङले कार्यक्रममा ‘असारै महिनामा‘’ सहितका लोकप्रिय गीत–संगीत प्रस्तुत गरे ।
लोक गायक बद्री पंगेनीले भने आफ्नो गायनमार्फत उपस्थित झण्डै ३५ सय दर्शकहरुलाई छमछमि नचाए । गायक अभिनाश घिसिङ तथा गायिका प्रिया भण्डारीले पनि दर्शकहरुलाई उत्तिकै मनोरञ्जन दिए । सांगीतिक कार्यक्रम लगत्तै डिजेइङको क्षेत्रमा स्थापित भैसकेका नेपालको पहिलो व्यवसायिक डिजे तेन्जिङले कार्यक्रम परिसरलाई डान्स फ्लोरको रुपमा रुपान्तर गरिदिए । उनले बजाएका फास्ट बिटका लोकप्रिय गीतको तालमा डान्स गर्नेहरुमा स्वदेशीसहित विदेशीहरु पनि थिए ।
सगरमाथाको आरोहण गरेर फर्किएका विदेशी पाहुनाहरुले समेत सांगीतिक कार्यक्रमबाट मनोरञ्जन लिएको डिजे तेन्जिङले बताए । उद्घोषिका जेनी शेर्पाद्वारा सञ्चालित कार्यक्रम साँझ ६ बजेपछि प्रारम्भ भएको ‘पार्टी एट टप अफ द वल्र्ड’ उक्त कन्सर्ट तथा डिजे पार्टी बिहान ५ बजेसम्म सञ्चालन भएको थियो ।
कन्सर्टमा सहभागि हुन हेलिकप्टरमा जाँदैं कलाकारहरु