साप्ताहिक संवाददाता
ईप्लानेटले आयोजना गरेको मिसेस् नेपाल युनिभर्सको उपाधि मनिषा डंगोल श्रेष्ठले प्राप्त गरेकी छिन् । उपाधि विजेता मनिषाले फिलिपिन्सको मनिलामा आगामी डिसेम्बर महिनामा आयोजना हुने मिसेस् युनिभर्समा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् ।
मिसेस् युनिभर्स २०१८ आगामी डिसेम्बर ३ देखि १० तारिख सम्म फिलिपिन्समा संचालन हुनेछ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा मिसेस् नेपाल युनिभर्स २०१४ दिपा शाहीले मनिषालाई मिसेस् नेपाल युनिभर्स २०१८ को ताज पहिर्याइ दिएकी हुन् । मिसेस् युनिभर्स २०१८ मा सहभागि हुन जानुपूर्व मनिषाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धि अभिमुखिकरण र प्रशिक्षण लिनेछिन् ।
आफूलाई फिलान्थ्रोपिष्ट भन्न रुचाउने मनिषा डंगोल श्रेष्ठ दुई सन्तानकी आमा हुन् र विगत एक दशक देखि उनी महिला सशक्तिकरणमा संलग्न हुँदै आएकी छिन् । हाल लन्डनमा बस्दै आएकी मनिषाले लन्डन फेसन हाउस संचालन गर्दै आएकी छिन् । उनले उक्त फेसन हाउस मार्फत् नेपाली फेसन, कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तारित गर्न सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छिन् ।
मिसेस् युनिभर्समा नेपालको यो पहिलो सहभागिता भने होइन । यस अघि मिना घिमिरेले मिसेस् युनिभर्स २०१३ मा सहभागिता जनाएकी थिइन् भने मिना सो प्रतियोगितामा मिसेस् कन्जिलियाटी अवार्ड जित्न सफल भएकी थिइन् । यसै गरी २०१४ को मिसेस् युनिभर्समा रजनी थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । जसमा रनजीले ब्युटीफुल लेडीको अवार्ड जित्न सफल भएकी थिइन् । यसैगरी मिसेस् युनिभर्स २०१६ मा पद्मिनी झाले नेपालको तर्फबाट सहागिता जनाएकी थिइन् ।