साप्ताहिक संवाददाता
प्रत्येक विश्वकप फुटबलले कोही न कोही स्टार खेलाडी जन्माएको हुन्छ नै । केही विश्वकपले कसैलाई स्टार मात्र बनाउँदैन, कसैलाई खलनायक समेत बनाउँछ । विश्वकपमा खराव प्रदर्शनकै कारण हराएका ठूला खेलाडी पनि नभएका होइनन् । केही अपेक्षा नगरिएका खेलाडीले पनि विश्वकपमा तहल्का मच्चाउने गरेका छन् । विश्वकप–२०१८ मा चम्कन सक्ने खेलाडी को–को हुन सक्छन् त ?
टिमो वार्नर, जर्मनी
अहिलेको जर्मन टिम ठ्याक्कै त्यस्तो छैन्, जुन चार वर्षअघि उसले विश्वकप जित्दा थियो । अहिले जर्मन टिमका प्रमुख खेलाडी हुन्— टिमो वार्नर । उनी भर्खर २१ वर्षका भए, तर यी आरबी लेपजिपका खेलाडीले जर्मन टिममा आफ्नो स्थान बलियो बनाइसकेका छन् । धेरै सम्भावना छ, यसपटक जर्मन आक्रमण यिनै खेलाडीमा निर्भर हुनेछ । जर्मनीले कन्फेडेरेसनकप जित्दा वार्नरले नै ‘गोल्डेन बुट’ जितेका थिए । उनको खेलको सबैभन्दा ठूलो विशेषता हो, गोल पोस्टमा ‘फिनिसिङ’ ।
पाउलो डेबाला, अर्जेन्टिना
अर्जेन्टिनी टिम यसपटक लियोनल मेसीको खेलमा मात्र निर्भर हुने छैन, पाउलो डेबालाको प्रदर्शनमाथि पनि भर पर्नेछ । डेबाला भर्खर २३ वर्षका भए । उनको खेलमा सुधार आउने पर्याप्त ठाउँ छ । अहिले उनी युभेन्ट्सबाट क्लब फुटबल खेल्छन् । युभेन्ट्सले प्राप्त गरेको सफलतामा उनको ठूलो हात छ । त्यसैले अर्जेन्टिनाको कामना हुनेछ, उनी यसपटक टिमका लागि चम्किउन् । डेबाला र मेसीको साझेदारी पनि हेर्न लायक हुनेछ ।
केलियन एमबापे, फ्रान्स
आधुनिक फुटबल खेलाडी कस्तो हुनुपर्छ, यसको उत्तर हो, यिनै केलियन एमबापे । उनी गोल गर्न त सक्षम छन् नै, विपरीत परिस्थितिमा समेत गोलको अवसर सिर्जना गर्न माहिर छन् । फ्रान्सेली फुटबलका यी उदीयमान खेलाडी फ्रेन्च लिगका सबैभन्दा ठूला घरेलु नाम हुन् । उनकै प्रदर्शनको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यसपटक घरेलु फुटबलमा एक छत्र राज गरेको थियो । यसपटक रूसी भूमिमा फ्रान्सको प्रदर्शन कस्तो हुने हो, त्यो धेरै अर्थमा एमबापेकै खेलमा निर्भर हुनेछ ।
ग्याब्रिएल जेसस, ब्राजिल
म्यानचेस्टर सिटीका खेलाडी ग्याब्रिएल जेसस भर्खर २० वर्षका भए, तर उनको खेल उनको उमेरभन्दा धेरै परिपक्व देखिन्छ । उनलाई ब्राजिलीयन फुटबलका नयाँ रोनाल्डोसमेत भनिन्छ । उनी रोनाल्डोकै समर्थक पनि हुन् । ब्राजिलका लागि उनले धेरै खेल्न पाएका छैनन, तर जति खेल्न पाए, ती सबैमा आफ्नो उपयोगिता सिद्ध गरेका छन् । इंग्ल्यान्डमा म्यानचेस्टर सिटीको सफलतामा पनि उनको महत्त्वपूर्ण हात रह्यो । उनी आफ्ना रोल मोडल खेलाडी रोनाल्डोजस्तै चम्कन सके, ब्राजिलको विश्वकप यात्रा लामो हुनेछ ।
लुइस स्वारेज, उरुग्वे
लुइस स्वारेज जति राम्रा खेलाडी हुन्, उत्तिकै विवादमा परिरहने खेलाडी पनि हुन् । चार वर्षअघि स्वारेज गलत कारणले चर्चामा रहे । उनले त्यतिबेला मैदानमै इटालीका प्रतिद्वन्द्वी खेलाडीको कान टोकेका थिए । त्यसै कारण उनी लामो प्रतिबन्धमा परे । उनले क्लब फुटबलमा बार्सिलोनासँगै लिभरपुलका लागि सबै किसिमका सफलताको स्वाद चाखिसकेका छन्, तर राष्ट्रिय टिमका लागि भने उत्तिकै गतिलो प्रदर्शन गर्न सकेका छैनन् । यसपटकको विश्वकप स्वारेजका लागि सर्वोच्च प्रतियोगितामा राम्रो गर्ने अन्तिम अवसर हुनेछ ।
क्रिस्टियानो रोनाल्डो, पोर्चुगल
विश्व फुटबलमा दुई खाले राम्रा खेलाडी देखिन्छन्, एक गड–गिफ्टेड, अर्को आपैंm निर्मित अर्थात् सेल्फ मेड । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो स्वनिर्मित खेलाडी हुन् । लियोनल मेसीसँगै उनलाई विश्व फुटबलमा अहिलेका सबैभन्दा राम्रा खेलाडी मानिन्छन् । उनकै प्रदर्शन र नेतृत्वको मदतले पोर्चुगलले दुई वर्षअघि युरोकपमा विजय हासिल गरेको थियो । यसपटक पोर्चुगलका लागि यी रियल म्याड्रिडका खेलाडीको प्रदर्शन कस्तो हुने हो भन्ने कुरा हेर्न सबै प्रतीक्षारत छन् । उनी नै पोर्चुगलका एक मात्र यस्ता खेलाडी हुन्, जसले टिमको भाग्य बदल्न सक्छन् ।
इस्को, स्पेन
सम्भवत: स्पेनी फुटबलले आफ्नो खराव लयको शृङ्खला तोडिसकेको छ । चार वर्षअघिको विश्वकपको असफलतालाई बिर्सने प्रयासमा रहेको स्पेन यसपटकको विश्वकपमा भने उपाधिको बलियो दावेदार हो । यसरी टिमको भाग्य फेरिनुका पछाडि सबैभन्दा ठूलो हात इस्कोको छ । स्पेनका पुराना खेलाडी विस्थापित भएयता उनीहरूको स्थानमा मबजुत प्रदर्शन गरिरहेका नयाँ पुस्ताका खेलाडी हुन्— २५ वर्षीय इस्को । रियल म्याड्रिडले हात पारेको पछिल्लो सफलतामा उनको राम्रो योगदान छ ।
टोली क्रुस, जर्मनी
टोनी क्रुस २७ वर्षका भए, तर उनले आफ्नो क्लब बायर्न म्युनिख र जर्मन राष्ट्रिय टिमका लागि लगभग सबै उपाधि जितिसकेका छन् । चार वर्षअघि जर्मनीले विश्वकप जित्दा पनि उनले मध्यपंक्तिबाट गतिलो योगदान दिएका थिए । यसपटकको विश्वकप उनका लागि नयाँ संस्करण र चुनौती हुनेछ । जर्मन टिम प्रत्येक ठूला प्रतियोगितामा उपाधिको बलियो दाबेदार हुन्छ । त्यसको कारण क्रुस जस्ता खेलाडीनै हुन् । क्रुसबाट पनि फेरि एकपटक उत्कृष्ट खेलको अपेक्षा गर्न सकिन्छ ।
नेयमार, ब्राजिल
विश्व फुटबलकै सबैभन्दा महँगा खेलाडी हुन्— नेयमार । यो सिजन उनका लागि प्रसस्त उचारचढावपूर्ण रह्यो । उनी कीर्तिमान रकममा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) गए । उनले पीएसजीका लागि राम्रो पनि खेले, तर सिजनको अन्त्यतिर घाइते हुन पुगे । नेयमार यसपटकको विश्वकपका ठूला स्टार हुन्, तर प्रश्न भने कायम छ, उनले चोटबाट मुक्त हुँदै खेल्न सक्ने हुन कि होइनन् ? उनी मैदानमा उत्रन सके, त्यसले ब्राजिललाई फाइदा पुग्ने निश्चित छ ।
लियोनल मेसी, अर्जेन्टिना
बार्सिलोनाका लागि लियोनल मेसीले के मात्र जितेनन् ? तर उनले यस्तै सफलता अर्जेन्टिनाका लागि भने प्राप्त गर्न सकेका छैनन । चार वर्ष अघि मेसीसहितको अर्जेन्टिना फाइनल त पुग्यो, तर पराजित भयो । यससँगै विश्व फुटबलले देखेको सबैभन्दा प्रतिभाशाली खेलाडीको विश्वकप जित्ने सपना तुहियो । यसपटक मेसीसामु विश्वकप जित्ने अन्तिम मौका छ । सम्भवत: त्यसपछि उनले विश्वकप खेल्ने छैनन् । मेसी विश्वकै उत्कृष्ट खेलाडी हुन्, यसमा शंका छैन, खालि प्रश्न हो, उनले अर्जेन्टिनालाई रूसमा कहाँसम्म पुर्याउने हुन् ?