मलाई एउटा कुराले दोधारमा पार्यो, सहयोग गर्नुहुन्छ कि ? यौनसम्पर्क गर्दा वीर्य योनिबाहिर खस्यो, त्यसलाई औंलाले टिपेर योनिमा राख्दा गर्भ रहन सक्छ कि सक्दैन ?
४९१०
यौनसम्पर्कमा गर्भ
रहने सम्भावना
कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ अर्थात् शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको समय हुनु आवश्यक छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएका महिलाहरूमा १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन् अङ्गभित्र शुक्रकीट ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।
सामान्यत: महिनावारी सुरु भएको आठौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ । चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा ८० प्रतिशत पुग्छ, तर महिनावारी ठीक २८ दिनमा नभै ढिलो–चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ, किनभने यो भरपर्दो नहुन सक्छ । तपाईंले आफ्नो महिनावारीका बारेमा केही पनि जानकारी दिनुभएका छैन । गर्भको सम्भावना महिनावारी अर्थात् डिम्ब निष्कासनसँग सम्बन्धित हुन्छ ।
बाह्य स्खलन
बाह्य स्खलन विधि : किशोरकिशोरीमाझ प्राय: अपनाइने उपायमध्ये एक भए पनि वयस्कमा यो बढ्दो रूपमा देखिएको छ । यो यौनसम्पर्कका बेला अब वीर्य स्खलन हुनै लाग्यो भन्ने स्थितिमा योनिबाट लिङ्ग झिकेर वीर्य योनिभन्दा बाहिर स्लखन गराउने विधि हो । वीर्य योनिमा नपरेपछि शुक्रकीट पाठेघरमा जान पाउने भएन र गर्भ रहने सम्भावना नै रहेन । अभ्यस्त नभएका व्यक्तिका लागि यसलाई प्रभावकारी तरिकाले अवलम्बन गर्न गाह्रो हुन्छ । लिङ्ग झिक्न ढिलो भै वीर्य योनिभित्रै वा योनिक्षेत्रमा झर्न सक्छ । यसले प्रभावकारिता कम गराउँछ । एकदम राम्रोसँग प्रयोग गरिएको स्थितिमा यसको प्रभावकारिता ४ प्रतिशत भए पनि सामान्यत: विभिन्न अध्ययनले यो विधी अपनाउँदा १५ देखि २५ प्रतिशत सम्म गर्भ रोक्न नसकेको देखाएको छ । यो विधि अपनाउँदा यौनरोग तथा एचआईभी सर्न सक्छ भन्ने कुरा बिर्सनु हुँदैन ।
वीर्यलाई योनिमा
धकेल्दा गर्भको कुरा
गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएको डिम्बको मिलनबाट हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारणका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निसेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ, यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यहि नै पछि विकसित भएर शिशु बन्छ ।
तपाईंलाई पक्कै थाहा होला, वीर्यमै शुक्रकीट हुन्छन् र त्यसको मिलन नै महिलाको डिम्बसँग हुन्छ । योनिमा वीर्य पर्दा त्यसमा भएका मध्ये केही शुक्रकीट पाठेघरको मुख हुँदै पाठेघर अनि डिम्ब नलीसम्म पुग्न सक्छ । तपाईंले वीर्य योनिमा धकेल्नुभएको स्थितिमा पनि वीर्यमा भएको शुक्रकीटले गर्भधारण गराउन सक्छ ।
गर्भ चाहेको कि नचाहेको ?
तपाईंको सन्देशमा तपाईंले गर्भ चाहेको हो कि नचाहेको हो भन्ने कुरामा केही अस्पष्टता पाइन्छ । तपाईंको यौन साथीसँगको यौन सम्पर्कमा बाह्य स्खलन गरिएको कुरा बुझिन्छ । यसको अर्थ गर्भ नरहोस् भन्ने नै हुन्छ, तर तपाईंको साथीले वीर्य बाहिर किन स्खलित गराएको हो भन्ने कुराका सन्दर्भमा चाहेर गराइएको वा नचाहेर परिस्थितिवश बाहिर निस्कन पुगेको हो, स्पष्ट छैन ।
बाहिर निस्किएको वीर्य किन भित्रतिर पसाउन खोज्नुभएको हो, भन्ने कुरा पनि स्पष्ट छैन । तपाईंलाई थाहै होला, यौनसम्पर्कपछि पुरुषको वीर्य योनिमा स्खलित भएपछि बिस्तारै योनिद्वारबाट बाहिरतिरै आउँछ । यो स्वाभाविक हो । यसरी बाहिर आयो भन्दैमा गर्भ नै नरहने होइन । योनिमा स्खलित वीर्यमा भएका शुक्रकीटमध्ये केही पाठेघरतिर जान्छन्, जुन गर्भका लागि पर्याप्त हुन्छ । यदि तपाईंको केटासाथीले गर्भ नरहोस् भनेर बाह्य स्खलन गराएको र तपाईंले योनिभित्र उक्त वीर्य राख्न खोज्नुभएको हो भने परिस्थिति अर्कै हो । यहाँ दुवै यौनसाथीलाई गर्भको सम्भावनाका बारेमा जानकारी हुनु जरुरी छ । यसमा छल गरिनु हुँदैन ।
यसबाहेक पनि गर्भको सम्भावनालाई महिलाको उमेर, यौनसम्पर्क कति पटक राखिन्छ अनि यो महिनावारी चक्रको कुन बेला यौनसम्पर्क गरिन्छ भन्ने जस्ता कुराले प्रभाव पार्छन् । गर्भनिरोधको कुनै साधन प्रयोग नगरी गर्भ रहोस् भन्ने चाहेर एक वर्षभन्दा बढी यौनसम्पर्क गर्दा पनि गर्भ नरहेको स्थितिमा परीक्षण गराउनु मनासिव हुन्छ । सन्तान जन्माउन नसक्नुका केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छन् । त्यसैगरी केही कारण दुवै जनामा संयुक्त रूपमा हुन्छन् । करिब १० प्रतिशतजति यस्ता घटनामा सन्तानहीनताको कारण नै पत्ता लाग्दैन ।
पुरुषको सन्दर्भमा पर्याप्त मात्रामा स्वस्थ शुक्रकीट उत्पादन भैरहेको छ कि छैन विचार गर्नुपर्छ । यो वीर्य परीक्षण गरेर सजिलै पत्ता लगाउन सकिन्छ । महिलाको सन्दर्भमा शरीरमा कतिपय हार्मोनको गडबडी भए पनि सन्तान उत्पादन गर्न नसक्ने हुन्छन् । केही परिस्थितिमा मानसिक कारण पनि यसका लागि जिम्मेवार हुन्छ । महिलाको प्रजनन अंगसँग सम्बन्धित विकारहरूका कारणले सन्तान जन्माउन नसक्ने हुनु सबैभन्दा प्रमुख कारण हो । यसको उपचार स्त्रीरोग विशेषज्ञको सल्लाहमा गरिनुपर्छ ।